काठमाडौं । भुक्तानी प्रणाली संचालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सूचना सुरक्षा सम्बन्धी विश्वव्यापी मान्यता प्राप्त आइएसओ/आइएससी २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ।
यो प्रमाणपत्रले एससीटीमा लागू गरिएको इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावकारी रूपमा संचालन भइरहेको तथा संस्थाले आफ्ना ग्राहक, सदस्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, साझेदार संस्था तथा अन्य सरोकारवालाको सूचनाको गोपनीयता, अखण्डता र उपलब्धता सुनिश्चित गर्न उच्चतम स्तरको सूचना सुरक्षा अभ्यास अवलम्बन गरेको पुष्टि गरेको कम्पनीले जनाएको छ।
यसअघि नै एससीटीले अन्तर्राष्ट्रिय कार्ड भुक्तानी उद्योगका सुरक्षा मापदण्डअनुसार पीसीआई डीएसएस भर्सन ४.०.१ सर्टिफिकेसन तथा पीसीआई ३डीएस सर्टिफिकेसन समेत प्राप्त गरिसकेको छ।
आइएसओ/आइएससी २७००१:२०२२ प्रमाणपत्र प्राप्तिसँगै एससीटीले सूचना सुरक्षा, साइबर सुरक्षा, जोखिम व्यवस्थापन तथा सुरक्षित डिजिटल भुक्तानी पूर्वाधारप्रतिको आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ।
एससीटीले सुरक्षित, भरपर्दो तथा गुणस्तरीय भुक्तानी सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर सुदृढ गर्दै आएको जनाएको छ। आइएसओ/आइएससी २७००१:२०२२ प्रमाणपत्र प्राप्त गर्नु संस्थाको सुशासन, जोखिम व्यवस्थापन, नियामकीय अनुपालन तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासप्रतिको निरन्तर यात्राको अर्को महत्वपूर्ण उपलब्धि रहेको विज्ञप्तिमार्फत कम्पनीले जनाएको छ।
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले भने, ‘आइएसओ/आइएससी २७००१:२०२२ प्रमाणपत्र प्राप्त गर्नु एससीटीका लागि अत्यन्त महत्वपूर्ण उपलब्धि हो। यसअघि प्राप्त अन्तर्राष्ट्रिय सुरक्षा प्रमाणपत्रहरूसँगै यो उपलब्धिले सूचना सुरक्षाप्रतिको हाम्रो दीर्घकालीन प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ। डिजिटल भुक्तानी प्रणालीप्रति ग्राहक, सदस्य संस्था तथा सरोकारवालाको विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो। त्यसैले हामी अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित, भरपर्दो तथा नवप्रवर्तनयुक्त भुक्तानी समाधान उपलब्ध गराउँदै नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई अझ सशक्त बनाउन निरन्तर प्रतिबद्ध रहनेछौं।’
एससीटीले हाल नेपालभरका सदस्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा अन्य साझेदारहरूमार्फत कार्ड स्विचिङ, कार्ड प्रोसेसिङ, क्यूआर भुक्तानी, डिजिटल भुक्तानी पूर्वाधार तथा विभिन्न अत्याधुनिक भुक्तानी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। संस्थाले सूचना सुरक्षा तथा सेवा गुणस्तरलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा निरन्तर अघि बढाउँदै आएको पनि उल्लेख गरेको छ।