काठमाडौं। राजनीतिक विश्लेषक कृष्ण खनालले कांग्रेसको राजनीति अझै नसुध्रिएको बताएका छन्।
४४ औं वीपी स्मृति दिवसका अवसरमा कांग्रेसले बिहीबार राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा खनालले भाषण अनुसार किसानका लागि राजनीति गरेको खोइ भनी प्रश्न गरे।
कांग्रेसले किसानको राजनीति गरेको भन्दै आए पनि मलको समस्या ४४ वर्षदेखि जिउँका त्युँ रहेको खनालको भनाइ छ।
‘खै त मलको व्यवस्था? बीउको व्यवस्था छैन। ४४ वर्षअघि किसानको राजनीति गर्ने हो भने। खै त मल भनेर बीपीले पञ्चायतलाई प्रश्न गर्नुहुन्थ्यो,’ उनले भने, ‘किसानका लागि राजनीति गरेको हो भने कांग्रेसलाई मेरो प्रश्न छ खै त मलको व्यवस्था भएको? सधैं बाली लगाउने बेला मलको समस्या हुन्छ।‘
पञ्चायतको समयमा पुँजीपति वर्गका लागि पनि केही नभएकोले आन्दोलन भएको खनालको भनाइ थियो। ‘पुँजीपतिका लागि पनि पुँजी लगानी गर्ने ठाउँ चाहिन्छ। पुँजीपतिले श्रमिकलाई काम दिन्छ। उद्योगधन्दामा जान्छ। पञ्चायतमा दुबै भएन,’ उनले भने।
खनालले कांग्रेसले जनताको समस्या नसुनेका कारण अहिले हार सहनुपरेको बताए। ‘राजनीति सुध्रेको भएदेखि जेनजी विद्रोह हुँदैनथ्यो। राजनीति सुध्रेको भए कांग्रेसले हार ब्योहार्नु पर्दैनथ्यो,’ उनले भने।
संसद्मा कांग्रेसको उपस्थिति न्यून भए पनि प्रस्तुति भने सानदार रहेको खनालको बुझाइ छ।
‘कांग्रेसको मत घटेको घट्यै छ। पार्टी अध्यक्षात्मक छ। सभापतिले बोल्नु र अरुले बोल्नुमा धेरै फरक छ। सभापति बोल्दा कांग्रेस बोल्छ। अरु पदाधिकारी बोल्दा हल न चल,’ खनालले भने, ‘कांग्रेस नेतृत्वमा प्रतिस्पर्धी पनि छैन। बोकस टाइपको मेम्बरसिप छ। अब प्रतिस्पर्धी बनाउनुपर्यो।’