विराटनगर। ३१ वर्षअघि नेपालमा सबैभन्दा ठूलो तयारी पोशाक उद्योग थियो, मोमेन्टो एपेरल्स। सन् १९९५ मा स्थापना भएको यो उद्योगमा दुई हजार कामदार काम गर्थे।
नेपालको निकासी व्यापारमा महत्वपूर्ण हिस्सा ओगटेको तयारी पोशाक उद्योगमा मोमेन्टोको छुट्टै पहिचान थियो। अमेरिकाले भन्साररहित सुविधा हटाएपछि र संचालकको अव्यवस्थाले उद्योग बन्द भयो।
मोमेन्टो स्तरको अर्को ठूलो उद्योग झण्डै १० वर्षपछि सूर्य नेपालले खोल्यो। तर, मजदूर हड्तालका कारण ८ वर्षमै उद्योग बन्द भयो।
यी दुई तयारी पोशाक उद्योग दक्षिण एसियाकै गिनेचुनेका थिए। उद्योगको उच्च व्यवस्थापनमा थिए- दीक्षित शाह। उनै शाह अहिले त्यही स्तरको गार्मेन्ट उद्योग निर्माणमा अहोरात्र लागिरहेका छन्।
उद्योगका लगानीकर्ता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र लिटिल एन्जल्स ग्रुपका उमेश श्रेष्ठ हुन्। मीनबहादुरको चाहना दक्षिण एसियाकै उत्कृष्ट गार्मेन्ट उद्योग खोल्ने चाहना पूरा गर्न दीक्षित दत्तचित्त भएर लागिरहेका छन्।
रोजगारीमा सतप्रतिशत नेपालीलाई सहभागी गराउने तर सम्पूर्ण अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको गार्मेन्ट उद्योग निर्माण र सञ्चालन गर्ने मीनबहादुरको चाहनाले मूर्तरुप पाउँदैछ। भैरहवाको सेजमा बनिरहेको उद्योगको नाम हो- गार्मेन्ट गियर।
यस्ता अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेका उद्योग भारतमा मुस्किलले १ दर्जन र दक्षिण एसियामा गार्मेन्टको हब मानिने बंगलादेशमा ३ दर्जन छन्।
मीनबहादुरले त्यहाँका उद्योगभन्दा पनि उत्कृष्ट स्तरको बनाउने सपना देखेका छन्। यो सपना साकार पार्न मीनबहादुर र उमेशले १५० करोडभन्दा बढी लगानी गर्दैछन्।
मीनबहादुर र उमेशले २०८२ जेठ २१ मा भूमिपूजाका साथ शिलान्यास गरेको गार्मेन्ट गियरको परीक्षण सञ्चालन यही साउन १ देखि सुरु गर्ने योजना थियो। तर जेनजी आन्दोलन लगायत कारण ३ महिना धकेलिएको छ।
उद्योगका सीइओ दीक्षितले आगामी सेप्टेम्बरको मध्यदेखि परीक्षण उत्पादन गरेर अक्टोबरदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य रहेको जानकारी दिए। ‘हामी चाँडै नै ट्रेनिङका लागि मानिस लिँदैछौं। ८ हप्ताको ट्रेनिङमा सफल प्रशिक्षार्थीलाई तत्काल परीक्षण उत्पादनमा लगाइनेछ,’ उनले भने।
उद्योगले पहिलो चरणमा ४०० जनालाई रोजगारी दिनेछ। तीन महिनापछि दोस्रो चरणमा फेरि ४०० जनालाई तालिम दिएर उत्पादन कार्यमा संलग्न बनाइने छ। आगामी आर्थिक वर्ष २०८४/८५ सुरु हुँदा तेस्रो चरण पनि पूरा भएर १२०० जनाले रोजगारी पाएका हुनेछन्।
सीइओ दीक्षितले एकैपटक १२०० जनालाई रोजगारी दिन सकिने भए पनि व्यावहारिक नहुने बताए। ‘हामीले सेजको नियम अनुसार कम्तीमा ६० प्रतिशत निर्यात गर्नुपर्छ। त्यसैले एकैपटक विदेशबाट यति धेरै बायर खोज्न गाह्रो हुन्छ। यसकारण उत्पादनलाई तीन चरणमा पूर्णता दिन खोजिएको हो,’ उनले कारण खोले।
सेजले न्यूनतम ६० प्रतिशत निर्यातको प्रावधान राखेकामा उद्योगले ७० प्रतिशतको लक्ष्य लिएको छ। उद्योगले आफ्ना उत्पादन छिमेकको भारतसहित युरोप, अमेरिका, मध्यपूर्व लगायतमा निर्यात गर्ने तय भइसकेको छ।
जापानका आयातकर्तासँग छलफल निरन्तर भइरहेको छ। उद्योगको मूल्य अभिवृद्धि ४० प्रतिशतभन्दा माथि छ।
सीइओ दीक्षितले यी मुलुक नेपालका लागि ट्यारिफ फ्रेन्ड्ली (महसुलमैत्री) भएको बताए। ‘मुख्य अमेरिकाको कुरा हो। अन्य मुलुकका तुलनामा अमेरिकाले नेपाललाई कम ट्यारिफमा राखेको हुँदा त्यहाँ निर्यात गर्न सहज हुनेछ,’ उनले भने।
उद्योगलाई बाँकी ३० प्रतिशत उत्पादन बेच्न बजारको कुनै समस्या छैन। किनकि देशभरि भाटभटेनीकै सञ्जाल व्यापक छ । भाटभटेनीकै सुपरस्टोरबाहेकको बजारमा पनि गार्मेन्ट गियरका उत्पादन पाइनेछन्।
‘उद्योगको उत्पादन क्षमता मासिक ३ देखि ४ लाख पिस तयारी कपडा हो। वार्षिक ३५ देखि ५० लाख पिस सजिलै उत्पादन गर्न सकिन्छ,’ दीक्षितले भने।
उनले उद्योगमा अन्डरगार्मेन्ट बाहेक महिला, पुरुष, शिशु र बालबालिकालाई आवश्यक पर्ने सबै प्रकारका तयारी कपडा उत्पादन हुने जानकारी दिए।
गार्मेन्ट गियरले टिसर्ट, ट्राउजर, ट्र्याकसुट, सर्ट, पेन्ट, हाफ पाइन्ट, ज्याकेट लगायत सबै क्याजुअल र स्पोर्टस् वेयरको उत्पादन गर्नेछ।
‘यसका लागि मुख्यतः भारत, चीन, थाइल्यान्ड र बंगलादेशबाट गुणस्तरीय कपडा आयात गरिनेछ,’ दीक्षितले भने, ‘मीनबहादुर सरको चाहना त नेपालमै उत्पादित कपडा प्रयोग गर्ने हो। तर त्यस्तो गुणस्तरको मापदण्ड पूरा गर्ने कपडा नेपालमा हालसम्म उत्पादन हुन सकेको छैन। कपडाका एक दुई उद्योग निर्माणाधीन छन्। तिनको उत्पादन आएपछि नेपालमै उत्पादित कपडा प्रयोग गर्ने आकांक्षा पूरा हुने उहाँको विश्वास छ।’
उद्योगले सम्पूर्ण संरचना अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरेको छ। उद्योग परिसरभित्रै क्यान्टिन, मेडिकल युनिट र आराम कक्षको व्यवस्था छ। उद्योगका सबै संरचना पूर्णतः वातानुकूलित हुनेछन्। उद्योगमा अत्याधुनिक शैलीका १६० वटा हाइजेनिक बाथरुम छन्। उद्योगका सम्पूर्ण पक्ष अध्ययन गरेर सेडेक्सले प्रमाणपत्र प्रदान गरिसकेको छ।
लन्डनमा मुख्यालय रहेको सेडेक्स एक विश्वव्यापी संस्था हो। यसले उद्योग तथा कम्पनीमा आपूर्ति शृंखला, पर्यावरण, सामाजिक न्याय तथा सुसम्बन्ध, सुशासन, नैतिक व्यापार (इथिकल ट्रेड) आदिको अडिट गरेर प्रमाणपत्र प्रदान गर्दछ।
दीक्षितले सेडेक्ससहित लिड र अर्को यस्तै एक अडिट कम्पनीले उद्योगको अडिट गरेर प्रमाणपत्र प्रदान गरेको जानकारी दिए।
सामान्यतया यस्तो प्रमाणपत्र पाएका उद्योगलाई अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यातका लागि समस्या हुँदैन। केही समययता विकसित मुलुकले आपूर्ति शृंखला, पर्यावरण, सामाजिक न्याय तथा सुसम्बन्ध, सुशासन र नैतिक कारोबारमा प्रमाणित भएका उद्योगका उत्पादनलाई मात्र आयातको अनुमति दिएका छन्।
सीइओ दीक्षितका अनुसार उद्योग निर्माणको अन्तिम चरणमा छ। सिभिल संरचनाको काम करिब ९० प्रतिशत सकिएको छ। अहिले विद्युत् वायरिङ, प्लम्बिङ, फिनिसिङ लगायतको काम भइरहेको छ।
तयारी कपडा उत्पादन गर्नुपर्ने भएको हुँदा उद्योग फुल अटोमेसनमा जान सक्दैन। यसलाई सेमिअटोमेटिक उद्योगका रूपमा निर्माण गरिँदैछ।
दीक्षितका अनुसार उद्योगमा पछिल्ला प्रविधि राख्न लागिएको छ। जापान, चीन, इटली, हङकङ, सिंगापुर लगायत मुलुकबाट अत्याधुनिक मेसिन भित्रिसकेका छन्। तिनको इन्स्टलेसनको काम धमाधम भइरहेको छ।
उद्योगले सेजमा सुविधायुक्त ९ वटा भवन तयार गरेको छ। यी भवनको कुल क्षेत्रफल १ लाख ५० हजार वर्गफिट छ।
उद्योगका लागि सबैभन्दा ठूलो समस्या लजिस्टिककै हो। भैरहवा भन्सारमा कन्जेसन ठूलो छ। धेरै सामग्री वीरगंजको सुक्खा बन्दरगाहबाट पनि ल्याइएको छ।
तर वीरगंजका लागि पनि भनेको समयमा भारतमा रेलका र्याक पाइँदैनन् र पर्खनुपर्छ। त्यसैले विशाखापट्नम वा कोलकाता बन्दरगाहमा हरेक कन्साइनमेन्टमा केही समय डिटेन्सन र ड्यामरेज तिरेर पर्खनु परेको छ।