काठमाडौं। सरकारले रैथाने उत्पादनको संरक्षण र प्रवर्धनका लागि कानुन बनाउने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले रैथाने उत्पादनको संरक्षणका लागि कानुन बनाउन आफूले पहल गरिसकेको बताएकी छन्।
उनले बिहीबार संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ)का प्रतिनिधि केन सिमिजुसँगको शिष्टाचार भेटमा विधेयक सक्दो चाँडो तयार पार्ने बताइन्।
भेटवार्तामा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने मौलिक र रैथाने वस्तुलाई ब्रान्डिङ गर्ने विषयमा विस्तृत छलफल भएको मन्त्री यादवको सचिवालयले जनाएको छ।
एफएओका प्रतिनिधिले विश्वका अधिकांश देशमा जीआई प्रणाली लागू भए पनि नेपालमा अझै प्रयोगमा आउन नसकेको विषयमा मन्त्री यादवको ध्यानाकर्षण गराएका थिए।
उनले रैथाने वस्तुको जीआई नहुँदा यहाँका बहुमूल्य वस्तु अन्य देशले दर्ता गरिरहेको र त्यसको प्रत्यक्ष मार नेपालले खेप्नु परेको बताएका थिए।