BIZMANDU
www.bizmandu.com

बंगलादेश भनेर दिल्ली गएका थिए कुमार बेन, ‘कक्रोच’को आन्दोलनले बालेनको भ्रमण ‘पज’

२०८३ साउन ७

बंगलादेश भनेर दिल्ली गएका थिए कुमार बेन, ‘कक्रोच’को आन्दोलनले बालेनको भ्रमण ‘पज’
बंगलादेश भनेर दिल्ली गएका थिए कुमार बेन, ‘कक्रोच’को आन्दोलनले बालेनको भ्रमण ‘पज’


काठमाडौंं। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनले दुई साताअघि आफू बंगलादेश जान लागेको जानकारी सचिवालयका केही सदस्यलाई दिए।

Tata
GBIME

बंगलादेशसँग राजनीतिक र व्यापारिक मुद्दा नरहेको बेला किन एकाएक जान लागेको भन्ने प्रश्न बालेनको सचिवालयका सदस्यबीच उठ्यो। बंगलादेश जान लागेको सूचना दिएका बेनको योजना भने बेग्लै थियो।

उनी बंगलादेश भनेर भारत जान लागेका थिए। राजकाजमा आएको तीन महिनामै सरकारमाथि दबाब बढ्न थालेपछि प्रधानमन्त्री बालेनसँगको सल्लाहमै भारत गएर बेनले राजनीतिक समीकरण मिलाउन चाहेका थिए।

त्यही योजना अनुसार बेन भारत गए। भारत जाँदा भ्रमणलाई अतिगोप्य राखियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँदा भ्रमणका सबै सूचना सार्वजनिक हुने ठानेर बेन स्थलमार्ग हुँदै भारत पुगे।

उच्च स्रोतका अनुसार उनी काठमाडौंबाट झापा हुँदै बागडोगराबाट जहाज चढेर दिल्ली पुगेका थिए। पूर्व निर्धारित कार्यक्रम अनुसार बेनले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरे। डोभल मोदीका विश्वासपात्र हुन्।

विदेश र सुरक्षा नीतिमा डोभलको भूमिका महत्वपूर्ण रहँदै आएको छ। स्रोतका अनुसार भेटमा बेन-डोभाल ‘वान अन वान’ वार्तामा प्रधानमन्त्री बालेनको भारत भ्रमण अघि बढाउने तय भयो। तर, अचानक भारतमा कक्रोच जनता पार्टीको आन्दोलन चर्किएपछि बालेनको भ्रमण ‘पज’ भएको स्रोतले बतायो।

भारतमा कक्रोचले थालेको आन्दोलन बंगलादेश र नेपालकोजस्तै हुनसक्ने अभिव्यक्ति आएपछि बालेनको भ्रमण अहिलेलाई ‘पज’ भएको हो।

‘भारतसँगको सम्बन्ध सुधार भएको छ। तर भारतमा कक्रोचको आन्दोलन विस्तार हुँदै गएकाले भ्रमण कहिले हुन्छ भन्न सकिने अवस्था छैन,’ स्रोतले भन्यो।

रणनीतिकरुपमै बेन भारतमा

सबैभन्दा नजिकको छिमेकी भारतसँग आर्थिक सामाजिक सम्बन्धका कारण पनि सरकार आफूखुशी हिंड्न सक्ने परिस्थिति छैन।

बालेनलाई काठमाडौं महानगरपालिकाको मेयर हुँदा भारतसँगको सम्बन्धको खासै अर्थ थिएन। तर, देशकै नेतृत्व गरिरहेकाले भारतसँगको सम्बन्धलाई बालेनले महानगरमा मेयर हुँदाजस्तो ‘आइसोलेट’ गरेर हिंड्न सक्ने परिस्थिति छैन। त्यही भएर बालेनले रणनीतिकरुपमै बेनलाई भारत पठाएर राजनीतिक सम्बन्ध सुधारको प्रयास गरेका हुन्।

‘हेर्नुस् सत्ताबाहिर बसेर आफूखुशी जे गरे पनि हुन्छ। तर, जब सत्तामा आइन्छ त्यसपछि छिमेकीसँगको सम्बन्ध राम्रो नबनाए देश चलाउन कठिन नै हुन्छ,’ प्रधानमन्त्री बालेन निकट एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूले सुझबुझका साथ नै भारतसँग सम्बन्ध विस्तार गर्न खोजेको देखिन्छ। आफ्नो देशको हित हुने गरी काम गर्न खोज्नु राम्रै हो।’

सत्ताले देशको परिस्थितिसँगै व्यक्तिलाई पनि परिवर्तन गराउँछ।

‘सत्ताबाहिर रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पनि भारतप्रति आक्रामक टिप्पणी गर्नुभएकै हो। तर, आफू सत्तारुढ दलको सभापति भएपछि भारत भ्रमण गएर राम्रो सम्बन्ध स्थापित गर्नुभयो। प्रधानमन्त्रीज्यूले पनि विदेश सचिव विक्रम मिस्री भेट्न मान्नुभएको थिएन,’ ती नेताले भने, ‘उहाँले राजनीति बुझेरै सम्बन्ध सुधार्न खोज्नुभयो भन्ने देखिन्छ।’

ती नेताले तीन महिना अलप रहेका प्रधानमन्त्री बालेनले पछिल्लो समय सानासाना व्यापारीलाई समेत भेटेर आश्वस्त बनाउन खोज्नुलाई सत्ताकै कारण चरित्रमा आएको परिवर्तनका रुपमा लिएका छन्।

नेपालको पुरानै एजेण्डा

प्रधानमन्त्री बालेनले भारत भ्रमण गर्दा नेपालले उठाउने एजेण्डा भने पुरानै छन्। स्रोतका अनुसार नेपालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि सहयोगको प्रस्ताव गर्न चाहेको छ।

पोखरा विमानस्थल चिनियाँ ऋण लगानीमा बनेकाले त्यसको विषयमा भारतले स्पस्ट हुन खोजेको स्रोतले बतायो। त्यसबाहेक मुन्द्रा र धामरा बन्दरगाह प्रयोगको विषय पनि प्रस्ताव गर्न खोजिएको छ।

तर, यी बन्दरगाह पाकिस्तानसँग नजिक रहेकाले भारतले संशयकै रुपमा हेरेको छ। नेपालले अहिले कोलकाता र विशाखापट्नम बन्दरगाह प्रयोग गर्दै आएको छ।

पञ्चेश्वर बहुउदेश्यीय आयोजना अघि बढाउने प्रस्ताव पनि गर्न खोजिएको छ। पोखरा र भैरहवा विमानस्थल तथा पञ्चेश्वरको एजेण्डा पुरानै हुन्।