BIZMANDU
www.bizmandu.com

बाढीपहिरोका कारण सात जिल्लाका प्रमुख सडक अवरुद्ध, केहीमा राति गाडी चलाउन रोक

२०८३ साउन ७

बाढीपहिरोका कारण सात जिल्लाका प्रमुख सडक अवरुद्ध, केहीमा राति गाडी चलाउन रोक
बाढीपहिरोका कारण सात जिल्लाका प्रमुख सडक अवरुद्ध, केहीमा राति गाडी चलाउन रोक


काठमाडौं। लगातारको वर्षापछिको पहिरो, बाढी र सडकमा हिलोगेग्रान जमेका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।

Tata
GBIME

नेपाल प्रहरीले बिहीबार बिहानको विवरण सार्वजनिक गर्दै ७ जिल्लाका सडक पूर्ण रूपमा अवरुद्ध रहेको तथा केही सडकमा राति सवारी संचालनमा रोक लगाइएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन संचालनमा रोक लगाइएको छ।

त्यसैगरी, कान्ति लोकपथमा वर्षायामको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन संचालनमा अर्को सूचना जारी नभएसम्म रोक लगाइएको छ।

इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलो र भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेकाले सो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरस्थित कालीगण्डकी करिडोरमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामाबगर-रामेछाप सडकखण्डमा सामाकोशी खोलाले सडक कटान गरेकाले उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

मुगुको छायानाथ रारा नगरपालिका-७ पिना खोलास्थित नाग्म-गमगडी सडकखण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। रासस