BIZMANDU
www.bizmandu.com

फिफा र अमेरिकाको नाफा-नोक्सानको ‘ब्यालेन्स सिट’ : विश्वकप जित्दा देशको अर्थतन्त्र पनि बलियो बन्छ?

२०८३ साउन ७

फिफा र अमेरिकाको नाफा-नोक्सानको ‘ब्यालेन्स सिट’ : विश्वकप जित्दा देशको अर्थतन्त्र पनि बलियो बन्छ?
फिफा र अमेरिकाको नाफा-नोक्सानको ‘ब्यालेन्स सिट’ : विश्वकप जित्दा देशको अर्थतन्त्र पनि बलियो बन्छ?


काठमाडौं। फिफा विश्वकप २०२६ सकिएको छ। यो एउटा खेलकुद मात्र नभएर ठूलो आर्थिक खेल पनि थियो। यसमा कसले फाइदा धेरै निकाल्यो र कसलाई मर्का पर्‍यो? यो चासोको विषय पनि बन्दै आएको छ।

Tata
GBIME

यसमा फुटबलको सर्वोच्च निकाय फिफा, आयोजक अमेरिका, मेक्सिको र क्यानडा तथा च्याम्पियन स्पेनलाई तीन पक्ष बनाएर हेर्न सकिन्छ। यसमा सबैभन्दा बढी फाइदा फिफालाई भएको देखिन्छ।

च्याम्पियन स्पेनले कति कमायो?

फिफा विश्वकप २०२६ को उपाधि जितेसँगै स्पेनले इतिहासमा दोस्रो पटक विश्व च्याम्पियन बन्दै कीर्तिमानी नगद पुरस्कार पनि हात पारेको छ। सोमबार भएको फाइनलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै उपाधि उचालेको स्पेनले फिफाबाट ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब ९० करोड रुपैयाँ) पुरस्कार प्राप्त गरेको हो।

न्यू जर्सीको मेटलाइफ स्टेडियममा अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोल स्पेनलाई १६ वर्षपछि पुनः विश्वविजेता बनाउन पर्याप्त बन्यो। यो जितसँगै एउटा पुरानो प्रश्न फेरि उठेको छ-के विश्वकप जित्दा वास्तवमै देशको अर्थतन्त्र पनि बलियो बन्छ?

फिफाले यस संस्करणमा ४८ टोली सहभागी विस्तारित विश्वकपका लागि कुल ६५ करोड ५० लाख अमेरिकी डलर पुरस्कार रकम छुट्याएको थियो। यसमध्ये च्याम्पियन टोलीले ५ करोड डलर प्राप्त गर्नेछ। यो रकम कतार विश्वकप २०२२ मा अर्जेन्टिनाले पाएको ४ करोड २० लाख डलरभन्दा बढी हो।

पुरस्कार रकम स्पेनिस फुटबल महासंघ (आरएफईएफ)लाई हस्तान्तरण गरिनेछ। महासंघले त्यसपछि खेलाडी, प्रशिक्षक तथा सहयोगी टोलीलाई बोनस वितरण गर्नेछ भने बाँकी रकम आफ्नो संचालन र फुटबल विकास कार्यक्रममा खर्च गर्नेछ। यी सबै भुक्तानीमा कर पनि लाग्नेछ।

स्पेनका कर अधिकारीहरूका अनुसार टोलीका स्पेनमै बसोबास गर्ने १७ खेलाडीबाट करिब ६० लाख युरो कर संकलन हुने अपेक्षा गरिएको छ। तर, विश्वकप जितको आर्थिक प्रभाव पुरस्कार रकमभन्दा धेरै ठूलो हुन सक्ने केही अध्ययनले देखाएका छन्।

एबरडिन विश्वविद्यालयका अर्थशास्त्री मार्को मेलोले सन् २०२४ मा प्रकाशित अध्ययनमा विश्वकप विजेता देशको जीडीपी वृद्धिदर फाइनलपछिका दुई त्रैमासिक अवधिमा औसत ०.४८ प्रतिशतले बढ्ने निष्कर्ष निकालेका छन्। यद्यपि, यो प्रभाव दीर्घकालीन भने हुँदैन।

अध्ययनअनुसार यस्तो वृद्धिको मुख्य कारण उत्सवमा हुने खर्च नभई निर्यातमा आउने वृद्धि हो। विश्वकप उपाधिले सम्बन्धित देशका वस्तु तथा सेवाको विश्वव्यापी प्रचार गर्ने भएकाले निर्यात ५ देखि ६ प्रतिशत विन्दुसम्म तीव्र गतिमा बढ्न सक्ने उल्लेख गरिएको छ।

फ्रिडम२४ आइबेरियाका निर्देशक पेड्रो सान्ता क्रुजका अनुसार यदि यही अनुमान स्पेनको करिब १.६९ ट्रिलियन युरोको अर्थतन्त्रमा लागू गर्ने हो भने विश्वकपको जितले करिब ४ अर्ब युरो बराबरको अस्थायी आर्थिक लाभ दिन सक्छ।

यद्यपि, उनले फिफाको ५ करोड डलर पुरस्कार रकम भने स्पेनको कुल अर्थतन्त्रको हिसाबले अत्यन्तै सानो रहेको उल्लेख गरेका छन्। उनका अनुसार यो रकम स्पेनको करिब १५ मिनेटको आर्थिक उत्पादन बराबर मात्रै हो।

विश्वकपका खेलहरूका क्रममा स्पेनका बार तथा रेस्टुरेन्टहरूमा कारोबार उल्लेखनीय रूपमा बढेको थियो। भुक्तानी सेवा प्लेटफर्म ‘स्क्वायर’को तथ्यांकअनुसार समूह चरणका खेलहरूमा बार तथा रेस्टुरेन्ट कारोबार औसत ३६ प्रतिशत बढेको थियो भने पछिका खेलमा यो वृद्धि ६६ प्रतिशत सम्म पुगेको थियो।

विश्वकप जितपछि विजेता टोलीको स्वागत गर्न म्याड्रिडका सडकमा १० लाखभन्दा बढी समर्थक उपस्थित हुने अपेक्षा गरिएको थियो। यसले होटल, रेस्टुरेन्ट, यातायात र खुद्रा व्यापारमा छोटो अवधिका लागि थप चहलपहल ल्याउने अनुमान गरिएको थियो।

तर, इतिहासले भने अत्यधिक आशावादी हुन नहुने संकेत पनि दिन्छ। स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप जित्दा पनि देश गम्भीर आर्थिक संकटमा थियो। त्यतिबेला बेरोजगारी दर करिब २० प्रतिशत पुगेको थियो र बैंकिङ क्षेत्र उद्धारको अवस्थामा पुगेको थियो। विश्वकपको सफलताले त्यो आर्थिक संकट समाधान गर्न सकेको थिएन।

मेलोको अध्ययनले विश्वकप आयोजना गर्ने देशहरूको हकमा पनि दीर्घकालीन आर्थिक वृद्धिमा उल्लेखनीय प्रभाव नदेखिएको निष्कर्ष निकालेको छ। त्यसैले विश्वकपको उपाधिले देशको प्रतिष्ठा, पर्यटन र निर्यातमा छोटो समयका लागि सकारात्मक प्रभाव पारे पनि दीर्घकालीन आर्थिक समृद्धिको आधार भने बन्न नसक्ने विज्ञहरूको निष्कर्ष छ।

अमेरिकालाई भएन सोचेजति नाफा

अमेरिकी सञ्चारमाध्यमले विश्वकपको आयोजना गर्दा प्राप्त हुने आश्वासन जति अमेरिकालाई फाइदा नपुगेको दाबी गरेका छन्।

विश्वकपअघि फिफाले प्रतियोगितामा करिब १४ बिलियन डलर लगानी लाग्ने र यसमा अमेरिकाले ११.१ बिलियन डलर खर्चिनुपर्ने जनाएको थियो। यसबाट फिफाले ८०.१ बिलियन डलरको विश्वव्यापी आर्थिक गतिविधि हुँदा अमेरिकामा ३०.५ अर्ब अमेरिकी डलर बराबरको आर्थिक गतिविधि सिर्जना गर्ने, करिब एक लाख ८५ हजार पूर्णकालीन रोजगारी थपिने र पर्यटन तथा व्यापारमा उल्लेखनीय वृद्धि हुने दाबी गरेको थियो। तर, हालसम्म सार्वजनिक भएका आर्थिक सूचकहरूले ती अनुमानसँग मेल खाएको देखिँदैन।

जुन महिनाको तथ्यांकअनुसार अमेरिकामा विदेशी पर्यटकको आगमन अघिल्लो वर्षको तुलनामा केवल ०.२ प्रतिशतले बढ्यो। होटलको मूल्य २.८ प्रतिशतले घट्यो भने हवाई भाडा २.८ प्रतिशतले मात्रै माथि गयो। खुद्रा बिक्री पनि अपेक्षाभन्दा निकै कम, ०.२ प्रतिशत मात्र बढ्यो। मनोरञ्जन क्षेत्रको मूल्यवृद्धि समेत सामान्य ०.५ प्रतिशतमा सीमित रह्यो।

रोजगारीका तथ्यांकले पनि उत्साहजनक देखिएनन्। उल्टो घटेको तथ्यांक देखिएको छ। यद्यपि, केही अर्थशास्त्रीहरूले यी तथ्यांकपछि संशोधन हुन सक्ने बताएका छन्।

यद्यपि, विश्वकप आयोजक सहरका साना व्यवसायले लाभ उठाएका थिए। वित्तीय सेवा कम्पनी फिसर्भका अनुसार आयोजक सहरहरूमा साना व्यवसायको बिक्री औसत ४.१ प्रतिशतले बढ्यो, जबकि अन्य ठूला सहरमा यो वृद्धि १.८ प्रतिशत मात्र थियो। विशेषगरी बोस्टनमा साना व्यवसायको बिक्री ७.६ प्रतिशतले बढेको थियो।

विशेषज्ञहरूका अनुसार विश्वकपजस्ता विशाल प्रतियोगिताको वास्तविक आर्थिक प्रभाव मापन गर्न सजिलो छैन। एउटै समयमा भएका अन्य आर्थिक गतिविधि, युद्धका कारण उपभोक्ता खर्चमा परेको असर तथा पूर्वाधारमा पहिले नै गरिएको लगानीजस्ता कारणले विश्वकपको वास्तविक योगदान छुट्याउन कठिन हुने उनीहरूको भनाइ छ।

यद्यपि, आर्थिक हिसाबले विश्वकपले अपेक्षित उपलब्धि हासिल नगरे पनि यसको सामाजिक प्रभावलाई भने सकारात्मक रूपमा हेरिएको छ। प्रतियोगिताले फुटबलप्रतिको आकर्षण बढाएको, परिवार र समुदायलाई एकताबद्ध बनाएको तथा अमेरिकामा फुटबलको लोकप्रियता थप विस्तार गर्ने आधार तयार गरेको विश्लेषकहरूको निष्कर्ष छ। त्यसबाहेक सफ्ट पावरको खेल त छँदैछ।

त्यसो भए नाफा कसले कमायो? जवाफ स्पस्ट छ- फिफाले।

विश्वकपबाट सबैभन्दा धेरै आर्थिक लाभ भने फिफाले नै उठाएको विश्लेषण गरिएको छ। ब्लुमबर्ग इन्टेलिजेन्सका अनुसार टिकट बिक्रीबाट मात्र फिफाले करिब ९ अर्ब डलर आम्दानी गर्न सक्ने अनुमान छ। यसबाहेक अमेरिकी टेलिभिजन प्रसारण अधिकारबाट १.१ अर्ब डलर प्राप्त भएको बताइएको छ। रंगशाला संचालक र खेल सट्टेबाजी कम्पनीहरूले पनि उल्लेखनीय आम्दानी गरेका छन्।