BIZMANDU
www.bizmandu.com

सञ्चारमन्त्री तिमिल्सिनाले कर्मचारीलाई भने- जिम्मेवारी पन्छाउन छोडौं, नतिजा चाहिन्छ

२०८३ साउन ६

सञ्चारमन्त्री तिमिल्सिनाले कर्मचारीलाई भने- जिम्मेवारी पन्छाउन छोडौं, नतिजा चाहिन्छ
सञ्चारमन्त्री तिमिल्सिनाले कर्मचारीलाई भने- जिम्मेवारी पन्छाउन छोडौं, नतिजा चाहिन्छ


काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका कर्मचारीलाई नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन्।

Tata
GBIME

उनले व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न कर्मचारीलाई बुधबार निर्देशन दिएका हुन्।

मन्त्री तिमिल्सिनाले मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकै दिनमा टुंग्याउने तथा अन्तरनिकाय समन्वय आवश्यक पर्ने फाइल पाँच दिनभित्र टुंगोमा पुर्‍याउने व्यवस्था तत्काल लागू गर्नसमेत निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

उनले सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटलमैत्री बनाउँदै कानुन निर्माण र बजेट कार्यान्वयनलाई नतिजासँग जोड्नुपर्नेमा जोड दिए।

प्रत्येक कर्मचारीले आफ्नो शाखाबाट दैनिक रूपमा सम्पन्न भएका कामको जिम्मेवारी लिनुपर्ने भन्दै उनले विधि र प्रक्रिया पालना गर्दै कानुनले निर्धारण गरेका उद्देश्यअनुसार परिणाममुखी ढंगले काम गर्न निर्देशन दिए।

चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्णय प्रक्रिया र फाइल व्यवस्थापन प्रणालीमा सुधार आवश्यक रहेको उनको भनाइ छ।

‘फाइल कहाँ पुगेको छ र किन रोकिएको छ भन्ने जानकारी दिने प्रणाली विकास गर्न आवश्यक छ,’ उनले भने।

सञ्चारमन्त्री तिमिल्सिनाले मन्त्रालय र मातहतका निकायमा हुने ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै जिम्मेवारी पन्छाउने प्रवृत्तिको अन्त्य गर्न भनेका छन्।

बैठकमा मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले गत आर्थिक वर्षमा पुँजीगत खर्च अपेक्षाकृत कमजोर रहेको स्वीकार गर्दै चालु आर्थिक वर्ष बजेट कार्यान्वयन प्रभावकारी बनाउन सबै महाशाखा र शाखाले सुरुदेखि नै नतिजामुखी ढंगले काम गर्ने प्रतिवद्धता जनाइन्।