काठमाडौं। कमजोर व्यवस्थापन र राजनीतिक हस्तक्षेपले नेपाल वायुसेवा निगम (एनएसी) वित्तीयरुपमा संकटमा परेको छ।
आन्तरिकतर्फ उपस्थिति नै नरहेको एनएसीले अन्तर्राष्ट्रियतर्फ पनि बजार हिस्सा १२ प्रतिशतबाट बढाउन नसकेपछि आर्थिक संकटको सामना गर्नुपरेको हो।
एनएसीसँग दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाज रहेकामा अन्तर्राष्ट्रिय उडानमा ८८ प्रतिशत बजार विदेशी वायुसेवा प्रदायक कम्पनीले ओगटेका छन्।
‘अन्तर्राष्ट्रिय उडानका लागि जम्मा ४ वटा जहाज प्रतिस्पर्धाका लागि पर्याप्त होइन,’ एनएसीका एक कर्मचारीले भने, ‘फितलो व्यवस्थापनका कारण भएकै जहाज पनि पूर्णरुपमा उपयोगमा छैनन्। अनि कसरी बजार हिस्सा बढ्छ?’
चालु आर्थिक वर्ष ६ महिनामा एनएसीले अन्तर्राष्ट्रियतर्फ १ हजार ७२० उडानमार्फत ३ लाख ८ हजार ८६७ यात्रुलाई ओहोरदोहोर गराएको छ। यात्रु संख्याका आधारमा एनएसीको बजार हिस्सा १२.१२ प्रतिशत हो।
एनएसीले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली, मुम्बई, दुबई, दोहा, दमाम, क्वालालम्पुर, बैंकक, हङकङ लगायत विभिन्न ११ वटा गन्तव्यमा उडान गर्ने गरेको छ।
सरकार परिवर्तनपिच्छे विभागीयमन्त्रीले एनएसीको व्यापार बढाउन जहाज थप्ने योजना अगाडि सारे पनि प्रगति हुन सकेको छैन। एनएसीले भएकै जहाज पनि राम्रोसँग उपयोग गर्न सकेको छैन।
जहाज मर्मत सम्भारमा खेलाँची र उडान तालिका नियमित नहुनु एनएसीका लागि सामान्य भइसकेको छ। जसले गर्दा ४ वटा जहाज खरिद गर्न लिएको ३४ अर्ब ऋण बढेर ५६ अर्ब रुपैयाँ पुगिसकेको छ।
निगमले दुई वटा न्यारोबडी जहाज(ए-३२०) र दुई वटा वाइडबडी जहाज (ए-३३०) सरकारको जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषसँग ऋण लिएर खरिद गरेको थियो। निगमले कर्मचारी सञ्चय कोषसँग २२ अर्ब र नागरिक लगानी कोषसँग १२ अर्ब रुपैयाँ ऋण लिएको थियो।
‘भएकै जहाज पर्याप्त रुपमा उडान गर्ने हो भने वार्षिक ५ देखि ६ अर्ब ऋण तिर्न मुस्किल हुँदैन,’ एनएसीका अर्का कर्मचारीले भने, ‘तर यसका लागि व्यवस्थापन चुस्त बनाउनै पर्छ। नयाँ सरकारले यो समस्याको सम्बोधन गर्ने आशा गरेका छौं। नयाँ कार्यकारी अध्यक्षले अब ध्यान दिनुहोला भन्ने विश्वास छ।’

यतिखेर अमेरिका-इरान युद्धका कारण हवाइ इन्धनको मूल्य वृद्धि एनएसीका लागि चुनौती बनेको छ। महँगिएको इन्धनका कारण एनएसीले अहिले विभिन्न गन्तव्यको उडान कटौती गरेको छ।
‘इन्धन मूल्य अनुसार भाडा बढाउँदा विदेशी वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्नै सकिंदैन,’ एनएसीका ती कर्मचारीले भने, ‘हामी अहिले मुनाफा आर्जन हुने गन्तव्यमा पनि उडान कटौती गर्न बाध्य भएको अवस्था छ।’
एनएसीले अहिले हङकङ र मुम्बईमा ३/३, दमाममा २ उडान कटौती गरेको छ। ग्वान्जाओ लगायत अन्य गन्तव्यमा पनि उडान संख्या घटाएको स्रोतले बतायो। स्रोतका अनुसार एयर इण्डियाले नयाँ दिल्लीमा दैनिक ३ वटा उडान गरिरहँदा एनएसीले सातामा १० वटा मात्र उडान गरिरहेको छ।
‘क्वालालाम्पुर, बैंकक, दोहा लगायत गन्तव्यमा पनि यात्रुको कमी छैन। तर हामीले बजार लिन सकेका छैनौं,’ स्रोतले भन्यो।
स्रोतका अनुसार बैंककमा सातामा ३ वटा उडान गर्दा जुन महिनामा ९३ प्रतिशत अकुपेन्सी कायम भएकामा एनएसीले अहिले एउटा उडान कटौती गरेको छ।
बजार हिस्सा बढाउन नसकेर ऋण घटाउन नसकेको एनएसीमा सुधारका लागि रणनीति साझेदार भित्र्याउन विभिन्न समितिले सरकारलाई सुझाव दिएका छन्।
एनएसीको संरचनागत सुधार अध्ययन समितिको संयोजकका रुपमा काम गरेका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्रीले वित्तीय संकटबाट संस्थालाई पार लगाउन रणनीतिक साझेदार भित्र्याउनुको विकल्प नरहेको बताए।
‘रेपुटेसन भएका वायुसेवा कम्पनीसँग साझेदारी आवश्यक छ। व्यवस्थापनमा सुधारमा लागि रणनीति साझेदार नभइ हुँदैन,’ उनले भने, ‘यसअघि फ्रेन्च, जर्मन वायुसेवा कम्पनी आएका थियो। तर के कुराले रोक्यो? अब अगाडि बढाउनुपर्छ।’
व्यावसायिक संस्था भएका कारण एनएसीको संचालक समितिमा विश्वविद्यालयका व्यवस्थापन संकायका डिनलाई राख्नुपर्ने पनि क्षत्रीको सुझाव छ।
‘त्यहाँका कर्मचारी सम्भवतः वातावरण नभएर होला संस्थालाई माथि लैजाने कुरामा तयार भएको देखिंदैन। सुविधाका लागि सचेत हुने तर संस्थाको उन्नयनका लागि ध्यानै छैन,’ उनले भने, ‘कर्मचारीलाई काममा खटाउनका लागि व्यवस्थापन सुधार नगरी हुँदैन।’

क्षत्रीले एनएसीको व्यवसाय बढाउन जहाज संख्या बढाउन आवश्यक देखेका छन्।
‘वायुसेवा प्रदायक कम्पनी जहाजको सिट बिक्री गरेर चल्ने हो। सिट नै भएन भने कसरी व्यवसाय हुन्छ?,’ क्षत्रीले प्रश्न गर्दै भने।
तर, चीनसँग खरिद गरेका ६ जहाज पनि एनएसीका लागि अनावश्यक भार बनेका छन्। ती जहाज एनएसीले न उडान गर्न सकेको छ, न बेच्न सकेको छ।
एनएसीमा व्यावसायिकभन्दा विभागीय मन्त्रीले आफ्नो इशारामा चल्नेलाई व्यवस्थापनको जिम्मा दिंदा पनि समस्या निम्तिएको विगतमा पटक-पटक देखिइसकेको छ।
‘मन्त्रीजीहरूले एनएसीको सुधारका लागि चासो नै दिएनन्। त्यसैले उनीहरूले व्यावसायिक व्यक्तिलाई भन्दा आफ्ना विश्वासपात्रलाई नियुक्ति दिए। जसले गर्दा संस्था निरन्तर ओरालो लाग्यो,’ क्षत्रीले भने, ‘आन्तरिक उडानमा एनएसीको उपस्थिति नै छैन भने हुन्छ। बिजनेस ओरियन्टेड ढंगबाट चलाउन नसकेका कारण एनएसी अस्तित्वको लडाइँ लडिरहेको छ।’
एनएसीका पूर्वमहाप्रबन्धक डिमप्रसाद पौडेलले जहाज संख्या नथपेको अवस्थामा संस्थाको आर्थिक अवस्था सुधार हुने देखेका छैनन्।
‘जबसम्म जहाज थोरै हुन्छन्, एफिसियन्सी कम हुन्छ। एउटा जहाज बिग्रिएको अवस्थामा सेडुल मिस हुन्छ,’ उनले भने, ‘डेस्टिनेसन भर्सेस फ्लिट हेर्ने हो भने हामी एकदम कमजोर अवस्थामा छौं। तुलना आफ्नो कम्फर्टमा मात्र गरेर हुँदैन।’
पौडेलले एनएसीलाई कोरिया, अष्ट्रेलिया लगायत गन्तव्यमा उडान गर्न सुझाव दिए।
‘युरोपतर्फको उडान तत्काल सम्भव नभए पनि कोरिया, अष्ट्रेलिया लगायत गन्तव्यमा सम्भव छ। यसका लागि जहाज थपसँगै व्यवस्थापन चुस्त बनाउनुपर्छ,’ उनले भने।
एनएसीलाई कम्पनी मोडलमा लाने सरकारको योजनालाई पौडेलले उपयुक्त ठानेका छन्।
‘कम्पनी मोडलमा जाने वित्तिकै एनएसीमा सुधारको बाटो खुल्छ। सरकारले विदेशी रणनीतिक साझेदार, नेपाली पर्यटन व्यवसायी, एनएसीकै कर्मचारी तथा सर्वसाधरणले समेत लगानी गर्ने बाटो खोल्न आवश्यक छ,’ उनले भने।

एनएसीका पूर्वमहाप्रबन्धक राजु केसीले अहिलेको संरचना अनुसार एनएसीमा कम्तीमा पनि १५ वटा जेट जहाज र २५ वटा उडान गन्तव्य आवश्यक ठानेका छन्। आम्दानीको तुलनामा खर्च धेरै भएका कारण एनएसी वित्तीय संकटमा फसेको उनको बुझाइ छ।
‘अहिले एनएसीसँग भएको जहाजले कुनै पनि हालतमा करिब ६० अर्ब ऋण तिर्न सम्भव देखिँदैन। यसअघिका सरकारले संस्थाको हितभन्दा पनि राजनीतिक फाइदामा मात्र ध्यान दिए। अहिलेको सरकारले अब वाचापत्रमा भने अनुसार काम गर्नुपर्छ,’ उनले भने, ‘जहाज नथपी आर्थिक अवस्था सुधार गर्न सम्भव नै छैन।’
यसबाहेक विदेशी रणनीतिक साझेदार भित्र्याउँदा पनि एनएसीको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने केसीको बुझाइ छ।
‘एनएसीले अहिले ४ वटा जहाजले जेनतेन उडान गरिरहेको छ। एउटा गन्तव्यमा सातामा २/३ वटा उडान गर्ने एनएसी मात्र हो। कमसेकम दैनिक एउटा उडान त गर्नुपर्यो नि,’ उनले भने, ‘एउटा जहाज ग्राउण्डेड हुँदा २५ प्रतिशत आम्दानी गुम्छ। नेटवर्क र फ्रिक्वेन्सी विस्तार गर्न नसके झन् धराशायी हुन्छ।’
एनएसीकै पूर्वनिर्देशक महेश्वर भक्त श्रेष्ठ अहिले कार्यकारी अध्यक्षको जिम्मेवारीमा छन्। २०४९ सालमा अवकाशअघि कर्पोरेट, मार्केटिङ र कमर्सियल विभागको नेतृत्व गरेका श्रेष्ठले एक साताअघि संस्थाकै नेतृत्व पाएका हुन्।
पूर्व पर्यटनमन्त्री बद्री पाण्डेले पनि एनएसीका लागि थप जहाज आवश्यक रहेको बताए।
‘आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग अहिले भएको जहाज पर्याप्त छैन। हामीले सरकारमा रहँदा स्थानीय तह, प्रदेश र संघको सहकार्यमा आन्तरिक उडान विस्तार गर्ने योजना बनाएका थियौं,’ उनले भने, ‘तर, बीचमा अध्ययन अगाडि बढेन।’
पाण्डेले रणनीतिक साझेदार भित्र्याउन पनि आवश्यक ठानेका छन्।
‘एनएसीको क्षमता विस्तारका लागि रणनीतिक साझेदार ल्याउने कुरा भइरहँदा बिक्री गर्न लागेको जस्तो गरिन्छ। तर, रणनीतिक साझेदार नभित्र्याइ हुँदैन,’ उनले भने, ‘अर्को भनेको चिनियाँ जहाजको व्यवस्थापन पनि आवश्यक छ। चिनियाँ जहाज त्यत्तिकै थन्किँदा पार्किङ शुल्क र इन्स्योरेन्स प्रिमियममा अनावश्यक खर्च भइरहेको छ।’