अमेरिका र इरानबीचको युद्धमा अमेरिकाले हालसम्म ३७.५ बिलियन डलर खर्च गरेको छ। आजको विनिमय दर अनुसार यो करिब ५७ खर्ब ८० अर्ब नेपाली रुपैयाँ हुन आउँछ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथका अनुसार इरानसँगको युद्धमा अमेरिकाको खर्च हालसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगिसकेको छ। सन् २०२६ को फेब्रअरी २८ मा सुरु भएको युद्ध रोकिने अवस्था हालसम्म देखिएको छैन।
मंगलबार अमेरिकी संसदमा सुनुवाइका क्रममा उनले थप युद्ध बजेट स्वीकृत गर्न माग गरेका हुन्। यद्यपि, विज्ञहरुले भने युद्धको वास्तविक लागत योभन्दा धेरै गुणा बढी हुने बताएका छन्।
अमेरिकी सेनाले इरानका सैन्य क्षेत्रहरुलाई लक्षित गरेर पछिल्लो समय लगातार आक्रमण जारी राखेको छ। इरानले पनि अमेरिकी हमलाको प्रतिवाद गर्दै जवाफी सैन्य कारबाही गरिरहेको छ।
अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरान कूटनीतिक वार्ताप्रति गम्भीर नरहेको आरोप लगाएका छन्। उनले इरानलाई रणनीतिक महत्त्वको होर्मुजमाथि नियन्त्रण गर्न दिइनु अन्तर्राष्ट्रिय सुरक्षाका लागि अत्यन्तै घातक हुने चेतावनी दिएका छन्।
इरानले भने होर्मुजमाथि आफूहरुको नियन्त्रण कुनै पनि हालतमा फिर्ता नहुने बताउँदै आएको छ। उसले पनि अमेरिका वार्ताप्रति सकारात्मक नभएको आरोप लगाउँदै आएको छ। दुवै पक्षबीच पटकपटक वार्ता र युद्धविराम गर्ने विषयमा छलफल भएपनि निष्कर्ष निस्किन सकेको छैन।
यसैबीच, रेड सीमा हुथी विद्रोहीहरुको धम्की र सम्भावित आक्रमणको जोखिमका कारण साउदी अरबको कच्चा तेल बोकेका दुईवटा ठूला ट्यांकरहरु बीचबाटोबाटै फिर्ता भएका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। केही समय खुलेको हर्मुज जलमार्गमा फेरि तनावको अवस्था सिर्जना हुँदा फेरि विश्वव्यापी इन्धन संकटलाई थप गम्भीर मोडमा पुगेको विश्लेषकहरु बताउँछन्।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको परमाणु कार्यक्रमसँग जोडिएको भूमिगत संरचना ‘पिकएक्स माउन्टेन’ क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएका छन्।
इरानले ट्रम्पले आक्रमण गरे त्यसको परिणाम भयावह हुने चेतावनी दिएको छ। ‘पिकएक्स माउन्टेन’मा हुने आक्रमले सम्पूर्ण क्षेत्रलाई नै पूर्णकालीन युद्धमा धकेल्ने तेहरानले भनेको छ।