काठमाडौं। हरेक सरकारले हेटौंडा कपडा उद्योग पुनः संचालन गर्ने प्रतिबद्धता दोहोर्याउँछ। योजना बन्छन्, बहस चल्छ, तर तीन दशकभन्दा बढी समयदेखि उद्योगको चिम्नीबाट धुवाँ निस्किएको छैन। पुराना मेसिन र प्रविधि इतिहास बनिसकेका छन्।
यसपटक सरकारले बजेट नै दिएर पुनः संचालनको योजना अघि बढाउन लागेको छ। चल्छ/चल्दैनको बहस छ, सरकार आफैं ढुक्क छैन। यस्तो अवस्थामा आधुनिक टेक्सटाइल उद्योग कस्तो हुनुपर्छ भन्ने प्रश्नको उत्तर खोज्न रौतहटमा स्थापना भएको अथर्व टेक्सटाइल र त्यसका संस्थापक डा. शम्भुकुमार चौधरीलाई हेरे पुग्छ।
उनले स्वदेशी बजारको माग सम्बोधन गर्दै छिमेकी मुलुकमा पनि निर्यातको महत्त्वाकांक्षी लक्षयसहित स्थापना गरेको उद्योग संचालनमा आएको छ। यो उद्योग झट्टै र हठातको योजनाले स्थापना भएको भने होइन।
कोभिड-१९ को महामारीका बेला स्वदेशी गार्मेन्ट उद्योगले कच्चा पदार्थ अभावका कारण उत्पादन रोक्नुपरेको थियो। आयातित सामग्री महिनौँ ढिलो आइपुग्ने र निर्यातसमेत प्रभावित हुने अवस्थालाई देखेका थिए डाक्टर चौधरीले। त्यस्तो अवस्थालाई उनले टेक्सटायल बिजनेसमा अवसरका रूपमा देखे। छाडे चिकित्सा पेसा र फेरे व्यवसायको बाटो।
कोरोना महामारीका बेला पेसागत क्षेत्र फेरेका उनले रौतहटमा आधुनिक टेक्सटाइल उद्योग स्थापना गर्ने निर्णय गरे। तीन वर्षको निर्माण अवधिपछि गत सातादेखि वृन्दावन-६ हर्षाहामा संचालनमा आएको अथर्व टेक्सटाइल अहिले नेपाली गार्मेन्ट उद्योगलाई स्वदेशमै गुणस्तरीय कपडा उपलब्ध गराउने लक्ष्यसहित उत्पादनमा जुटेको छ।
चौधरीका अनुसार नेपालमा पहिलोपटक अत्याधुनिक प्रविधि र रोबोटिक प्रणालीसहित स्थापना गरिएको यो निटिङ टेक्सटाइल उद्योग हो। यसले बेडसिट, पर्दा, सर्ट, ज्याकेट, प्यान्ट, कोट, मेडिकल सामग्रीका कपडा लगायत बजारमा आवश्यक अधिकांश निटेड कपडा उत्पादन गर्छ।
‘हाम्रो उद्देश्य केवल कपडा उत्पादन गर्नु होइन,’ चौधरी भन्छन्, ‘नेपाली गार्मेन्ट उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ देशभित्रै उपलब्ध गराउने, आयातमा निर्भरता घटाउने र अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय कपडा उत्पादन गर्ने हो।’ उद्योगको दैनिक उत्पादन क्षमता २५ टन भए पनि हाल दैनिक करिब १० टन कपडा उत्पादन भइरहेको छ। बजारको मागअनुसार क्रमशः उत्पादन बढाउँदै पूर्ण क्षमतामा संचालन गर्ने तयारी भइरहेको उनले बताए।

चौधरीका अनुसार नेपालमा अहिले पनि कपडा उत्पादनका लागि ठूलो परिमाणमा चीन र भारतबाट कच्चा पदार्थ आयात भइरहेको छ। त्यसले विदेशी मुद्रा बाहिरिने मात्र होइन, आपूर्ति शृंखलामा समस्या आउँदा उद्योग नै प्रभावित हुने अवस्था सिर्जना गर्छ। ‘यदि अहिले भइरहेको कच्चा पदार्थ आयातको २० प्रतिशत मात्रै प्रतिस्थापन गर्न सकियो भने पनि देशलाई ठूलो राहत मिल्छ,’ उनी भन्छन्, ‘विदेशिने पैसा रोकिन्छ, उद्योगीलाई समयमै सामग्री उपलब्ध हुन्छ र उत्पादन लागत पनि घट्छ।’
कोभिड महामारीताका स्वदेशी गार्मेन्ट उद्योगले भोगेको कठिनाइ नै आफूलाई टेक्सटाइल उद्योग स्थापना गर्ने प्रेरणा बनेको चौधरी बताउँछन्। ‘त्यतिबेला उद्योगीहरूले आयात गरेको सामान महिनौँसम्म आइपुग्दैनथ्यो। धेरैले उत्पादन रोक्नुपर्यो,’ उनी सम्झन्छन्, ‘त्यसपछि नेपालमै गुणस्तरीय कपडा उत्पादन गर्न सकियो भने उद्योगीलाई राहत मिल्ने, रोजगारी सिर्जना हुने र आयात घट्ने निष्कर्षमा पुगेँ।’
उनका अनुसार अहिले पनि अन्तर्राष्ट्रिय द्वन्द्व, ढुवानी अवरोध र सीमावर्ती मार्गमा हुने समस्याका कारण आयातित सामग्री नेपाल आइपुग्न तीन महिनाभन्दा बढी लाग्ने अवस्था छ। यसबीच बजारमा फेसन परिवर्तन भइसक्ने भएकाले गार्मेन्ट उद्योगले प्रतिस्पर्धात्मक क्षमता गुमाउने गरेको छ।
‘नेपाली उपभोक्ताको फेसन निकै छिटो परिवर्तन हुन्छ,’ चौधरी भन्छन्, ‘सामान ढिलो आइपुग्दा बजार नै बदलिइसकेको हुन्छ। त्यसैले कपडा नेपालमै उत्पादन हुनु अहिलेको आवश्यकता हो।’ उनका अनुसार नेपालमा ६ सयभन्दा बढी ठूला गार्मेन्ट उद्योग संचालनमा छन्। ती उद्योगको आवश्यकताको सानो हिस्सा मात्रै पूरा गर्न सके पनि टेक्सटाइल उद्योग दिगो रूपमा संचालन गर्न सकिने उनको विश्वास छ।

उद्योग स्थापनाका लागि रौतहट रोज्नुको कारण पनि भावनात्मक र विकाससँग जोडिएको रहेको उनी बताउँछन्। ‘म रौतहटकै भएकाले ठूलो उद्योग आफ्नै जिल्लामा ल्याउने निर्णय पहिले नै गरेको थिएँ,’ उनी भन्छन्, ‘अर्कोतिर विकसित स्थानभन्दा कम विकसित क्षेत्रमा उद्योग स्थापना गर्दा त्यसले स्थानीय अर्थतन्त्रलाई पनि चलायमान बनाउँछ।’
करिब चार बिघा क्षेत्रफलमा रहेको उनको उद्योगमा हालसम्म करिब डेढ अर्ब रुपैयाँ लगानी भइसकेको छ। पूर्ण क्षमतामा संचालन गर्न अझै दुई अर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने चौधरीको भनाइ छ। ‘अहिले न्यून जनशक्ति र सीमित मेसिनबाट उत्पादन सुरु गरेका छौँ,’ उनी भन्छन्, ‘क्षमता विस्तारसँगै थप मेसिन, जनशक्ति र लगानी आवश्यक पर्छ।’
हाल उद्योगमा एक सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइसकेका छन् भने पूर्ण क्षमतामा संचालन भएपछि करिब २५० जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ। अप्रत्यक्ष रोजगारी अझ धेरै सिर्जना हुने उनको विश्वास छ।
‘विदेशमा टेक्सटाइल क्षेत्रमा काम सिकेका नेपाली पनि फर्किएर यही उद्योगमा काम गर्न सक्ने वातावरण बनाउन चाहन्छौँ,’ चौधरी भन्छन्। अथर्व टेक्सटाइलले उत्पादन गर्ने निटेड कपडा हलुका, लचिलो, सहज र कम चाउरी पर्ने विशेषतायुक्त हुने दाबी गरिएको छ। चौधरीका अनुसार भविष्यमा निजामती कर्मचारीको परम्परागत पोसाकलाई पनि आधुनिक निटेड कपडामा रूपान्तरण गर्ने सोच रहेको छ।
‘यो कपडाले गर्मीमा चिसो र जाडोमा न्यानो महसुस गराउँछ,’ उनी भन्छन्, ‘हलुका, लचिलो र टिकाउ भएकाले यसको प्रयोग क्रमशः बढ्दै गएको छ।’

उद्योगमा प्रयोग गरिएको प्रविधि नै यसको प्रमुख विशेषता भएको चौधरी बताउँछन्। उनका अनुसार कोरियाली रोबोटिक ल्याब, टर्कीका अत्याधुनिक टेक्सटाइल मेसिन, जर्मनी र ताइवानका औद्योगिक उपकरण तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तर परीक्षण प्रणाली जडान गरिएको छ।
‘नेपालकै पहिलो डबल–हेडेड रोबोटिक ल्याब हामीसँग छ,’ उनी भन्छन्, ‘यसले जुन रङ पहिलो पटक तयार गर्छ, अर्को पटक पनि बिल्कुल उही गुणस्तर र उही मिश्रण दोहोर्याउँछ।’ उनका अनुसार उद्योगमा प्रयोग हुने सबै रसायन अन्तर्राष्ट्रिय मापदण्डअनुसार वातावरणमैत्री र शरीरमैत्री प्रमाणित भएका छन्। बजारमा पाइने धेरै कपडामा रङ जाने समस्या रहने भए पनि आफूहरूले त्यसलाई हटाएको दाबी गर्छन्।
‘हाम्रो कपडाको रङ जाँदैन,’ उनी भन्छन्, ‘मेसिनबाट अत्यन्तै सटीक रूपमा काटिने भएकाले कपडामा सिङ्केज वा बांगिने समस्या पनि हुँदैन।’ उद्योग संचालन भएको छोटो समयमै स्वदेशी गार्मेन्ट उद्योगबाट राम्रो माग आउन थालेको चौधरी बताउँछन्। ‘अहिले उत्पादनभन्दा माग धेरै छ,’ उनी भन्छन्, ‘नेपालका ठूला गार्मेन्ट उद्योगले १० प्रतिशत मात्रै खरिद गरे पनि हाम्रो उत्पादन सहज रूपमा बिक्री हुन्छ।’
केही गार्मेन्ट उद्योगले चीनबाट कपडा आयात गर्न कठिन भइरहेको जानकारी दिँदै स्वदेशी उत्पादन खरिद गर्न इच्छुक रहेको उनले बताए। विशेष गरी बर्खायाममा तातोपानी र रसुवागढी नाकामा हुने अवरोध तथा बाढीपहिरोका कारण ढुवानी प्रभावित हुँदा स्वदेशी उत्पादनको आवश्यकता झन् बढेको उनको भनाइ छ।

‘दसैंतिहारअघि गार्मेन्ट उद्योगलाई कपडाको अत्यधिक आवश्यकता पर्छ,’ चौधरी भन्छन्, ‘त्यस्तो बेला स्वदेशमै उत्पादन उपलब्ध हुँदा उद्योगीलाई समय र लागत दुवै बचत हुन्छ।’ दीर्घकालीन लक्ष्य भने नेपाललाई कपडा उत्पादन र निर्यातमा स्थापित गराउने रहेको उनी बताउँछन्।
‘हामी नेपालमा ‘इन्डस्ट्री अफ प्राइड’ बनाउन चाहन्छौँ,’ चौधरी भन्छन्, ‘यदि नेपाली गार्मेन्टले विदेशमा प्रतिस्पर्धा गर्ने हो भने उनीहरूले प्रयोग गर्ने कपडा पनि निर्यातयोग्य गुणस्तरको हुनुपर्छ।’ उनका अनुसार उद्योगले निर्यातस्तरको कपडा स्थानीय बजारकै मूल्यमा उपलब्ध गराउने प्रयास गर्नेछ। यसले नेपाली गार्मेन्ट उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउने विश्वास गरिएको छ।
चौधरी भन्छन्, ‘हाम्रो पहिलो उत्पादन नै निर्यात हुने लक्ष्य छ। चिनियाँ व्यवसायीले यहाँबाट कपडा किनेर आफ्नो बजारमा लैजान इच्छा देखाइसकेका छन्।’ उनको सपना केवल आयात प्रतिस्थापनमा सीमित छैन। उनी नेपालबाट चीन र भारतमै कपडा निर्यात हुने दिन देख्न चाहन्छन्।
‘म चीन र भारतमै नेपाली कपडा निर्यात गरेर देखाउन चाहन्छु,’ उनी भन्छन्, ‘यदि चिनियाँ व्यवसायी नेपाल आएर कपडा किन्छन् भने नेपाली उद्योगी किन चीन जानुपर्यो? यहीँ गुणस्तरीय कपडा पाइन्छ भन्ने विश्वास स्थापित गर्नुपर्छ।’ हाल उद्योगका लागि धागो चीन र भारतबाट आयात भइरहेको भए पनि भविष्यमा नेपालमै धागो उद्योग विस्तार भए त्यसबाट कच्चा पदार्थ लिन सकिने उनी बताउँछन्।
‘एउटा उद्योग स्थापना हुँदा त्यससँग सम्बन्धित धेरै उद्योग पनि विकास हुन्छन्,’ उनी भन्छन्, ‘राम्रो कपडा उत्पादन भयो भने राम्रो नेपाली ब्रान्ड पनि बन्न सक्छ।’ चिकित्सकबाट उद्योगी बनेका चौधरी आफ्नो निर्णयलाई व्यक्तिगतभन्दा पनि राष्ट्रिय आवश्यकता ठान्छन्।
‘मैले ट्रेडिङभन्दा उत्पादन रोजेँ,’ उनी भन्छन्, ‘देशलाई नजिकबाट हेरेँ, समस्या बुझें र उद्योग खोल्नुपर्छ भन्ने निष्कर्षमा पुगेँ। नेपालमा पनि विश्वस्तरको उद्योग हुन सक्छ भन्ने देखाउन चाहन्छु।’
हाल उनको उद्योगमा मुख्य अपरेटरबाहेक अधिकांश सहयोगी नेपाली नै छन्। कोरिया र टर्कीका प्राविधिकले उनीहरूलाई तालिम दिइरहेका छन्। आगामी ६ महिनादेखि एक वर्षभित्र सबै जनशक्तिलाई दक्ष बनाउने योजना चौधरीले सुनाए। ‘हाम्रो लक्ष्य विदेशी जनशक्तिमा निर्भर हुनु होइन,’ उनी भन्छन्, ‘नेपाली कामदारलाई दक्ष बनाएर सम्पूर्ण उत्पादन प्रक्रिया नेपालीकै हातबाट संचालन हुने अवस्था बनाउने हो।’