काठमाडौं। नेपाली क्रिकेट टोली नामिबियासँग पराजित भएको छ। आईसीसी टी-२० विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमै नेपाल नामिबियासँग पराजित भएको हो।
नेदरल्याण्ड्समा जारी सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई ८ विकेटले हराएको हो। आजको खेलमा नेपालको बलिङ, ब्याटिङ र फिल्डिङ सबै बिर्सनलायक रह्यो। मुख्य ब्याटर खराब सर्ट खेलेर पभेलियन फर्कँदा जिम्मेवार बलरले टिमलाई खेलमा फर्काउन सकेनन्।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४६.५ ओभरमा अलआउट हुँदै १५७ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले ३७.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो। आजको खेलमा ब्याटिङबाट कमजोर देखिएको नेपाल बलिङमा पनि निरीह नै रह्यो। यस्तोमा नामिबियालाई जित निकाल्न धेरै मुस्किल परेन।
नेदरल्यान्ड्सको उट्रेचस्थित काम्पोङ क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४६.५ ओभरमा अलआउट हुँदै १५७ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३१ रन, दीपेन्द्रसिंह ऐरीले ३०, गुल्सन झाले २० तथा करण केसीले १८ रन बनाए। बलिङमा नामिबियाका जेजेस्मिथले ६ विकेट लिँदा ज्याक ब्रासेल र बनार्ड स्क्लचले समान २ विकेट लिए।
स्मिथले ९.५ ओभर बलिङ गर्दा मात्रै २७ रन दिएर कुशल भुर्तेल, इशान पाण्डे, सोमपाल कामी, गुल्सन झा, करण केसी र नन्दन यादवको विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नामिबियालाई लक्ष्यसम्म पुर्याउन जेन फ्राइलिंकले सर्वाधिक अविजित ७८ रन बनाउँदा माइकल भान लिंगेनले ५१ तथा जोन निकोल लफ्टी इटनले अविजित १७ रनको योगदान दिए। बलिङमा नेपालका नन्दन यादव र रोहित पौडेलले समान १ विकेट लिए।
नेपालले अब अर्को खेलमा बिहीबार नेदरल्याण्ड्ससँग खेल्नेछ।