काठमाडौं। विषेश अदालतले पूर्वअर्थमन्त्री रामशरण महतलाई भ्रष्टाचारको अभियोग लगाइएको मुद्दा मुतलवीमा राख्न अस्वीकार गरेको छ।
अदालतका सदस्यहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दा मुलतबीमा राख्न मंगलबार अस्वीकार गरेको हो।
महतकी पत्नी रोशनाले फ्रन्ट टेम्पोरल डिमेन्सिया रोगबाट गम्भीर रुपमा मानसिक तथा शारीरिकरुपमा असक्त भइ स्मरण शक्ति हराएको हुँदा मुद्दा मुलतवीमा राख्न निवेदन दिएकी थिइन्। उनले नेपाल मेडिकल बोर्डको रिपोर्ट समेत पेस गरेकी थिइन्।
अदालतले महत पत्नीका साथ इजलासमा उपस्थित भएका बखत स्वास्थ्य अवस्था समेतलाई दृष्टिगत गरी उपयुक्त आदेश हुनसक्ने भन्दै मुद्दा मुलतबीमा राख्न अस्वीकार गरेको हो।
पोखरा विमानस्थल निर्माणमा भष्टाचार भएको भन्दै अख्तियारले गत मंसिरमा ५६ जनाविरुद्ध मुद्दा दायर गर्दा महतलाई पनि प्रतिवादी बनाएको थियो।
