BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री बालेनले उद्योगीलाई भने- ग्रिन गार्मेन्ट भिलेजका लागि जग्गा खोज्नुस्, सरकारले बजेट दिन्छ

२०८३ साउन ५

प्रधानमन्त्री बालेनले उद्योगीलाई भने- ग्रिन गार्मेन्ट भिलेजका लागि जग्गा खोज्नुस्, सरकारले बजेट दिन्छ
प्रधानमन्त्री बालेनले उद्योगीलाई भने- ग्रिन गार्मेन्ट भिलेजका लागि जग्गा खोज्नुस्, सरकारले बजेट दिन्छ


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित तयारी पोसाक उद्योग (टेक्सटाइल)को प्रवर्धनका लागि सरकारले सहजीकरण गर्ने बताएका छन्।

Tata
GBIME

उनले मंगलबार नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँगको छलफलमा गार्मेन्ट उद्योगको विकास र विस्तारका निम्ति सरकारले सबै किसिमको सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

बालेनले संघका पदाधिकारीको माग बमोजिम ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन गर्ने काम तत्काल अघि बढाउन उद्योगमन्त्रीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

काउन्सिल गठनले स्वदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित तयारी पोसाकको निर्यात प्रवर्धन र आयात व्यवस्थापन गर्न सहयोग पुग्ने संघका पदाधिकारीको भनाइ छ।

प्रधानमन्त्री बालेनले निजी क्षेत्रका रुग्ण गार्मेन्ट उद्योग तत्काल सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न पनि निर्देशन दिएका छन्।

उनले ‘टेस्टिङ सर्टिफिकेसन’ नभएकाले अमेरिकामा तयारी पोसाक लगायत वस्तुको निर्यात रोकिएको विषयमा आवश्यक पहल गरी समस्या समाधान गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन्। उनले निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक लगानी (एफडीआई) भित्र्याउनका लागि काम गर्न पनि भनेका छन्।

बालेनले ‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’को उद्देश्य पूरा गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिवद्धता जनाएका छन्।

गार्मेन्ट उद्योगीले ग्रिन गार्मेन्ट भिलेज सम्बन्धी व्यवस्था सरकारको नीति तथा कार्यक्रममा रहे पनि बजेटमा नआएको गुनासो गरेकामा प्रधानमन्त्री बालेनले उपयुक्त ठाउँमा तत्काल जग्गा खोज्न आग्रह गर्दै आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिएका छन्।

तयारी पोसाक उद्योगले खेपिरहेका सबैखाले समस्या समाधान गर्न सरकारले साथ दिने भन्दै उनले उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थलगायत समग्री देशमै उत्पादन गर्नका लागि सक्षम हुन उद्योगीहरुलाई आग्रह गरे।

छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी थिए।