काठमाडौं। निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र आयुक्तको सुनुवाइ साउन १२ र १३ गते हुने भएको छ।
समितिका सभापति बोधनारायण श्रेष्ठले मंगलबारको बैठकले प्रस्तावित आयुक्तको १२ गते र प्रमुख आयुक्तको १३ गते सुनुवाइ गर्ने तय गरेको जानकारी दिए।
संवैधानिक परिषद्ले असार १९ गते बसेको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्त नियुक्त गर्न सिफारिस गरेको थियो।
समितिमा कार्कीविरुद्ध एउटा उजुरी परेको छ। समितिले उजुरी सांसदहरुलाई वितरण गरेको छ। यस्तै प्रस्तावित प्रमुख आयुक्त र आयुक्तका कार्ययोजना पनि सांसदहरुलाई वितरण गरिएको छ। प्रस्तावित प्रमुख आयुक्त र आयुक्तले सुनुवाइका दिन कार्ययोजना प्रस्तुत गर्नेछन्।
सभापति श्रेष्ठले यसपटकदेखि सुनुवाइबाट सिफारिस अनुमोदन हुनेहरुले कार्ययोजना अनुसार काम गरे/नगरेको सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको बताए।
समितिले सुनुवाइ गरेर सिफारिस अनुमोदन गरेपछि कार्की, सुब्बा र वाग्लेले नियुक्ति पाउने बाटो खुल्नेछ।