BIZMANDU
www.bizmandu.com

सुत्र प्रणालीमा समस्या आउँदा राजस्व संकलन अवरुद्ध, घरजग्गा कारोबारसमेत प्रभावित

२०८३ साउन ५

सुत्र प्रणालीमा समस्या आउँदा राजस्व संकलन अवरुद्ध, घरजग्गा कारोबारसमेत प्रभावित
सुत्र प्रणालीमा समस्या आउँदा राजस्व संकलन अवरुद्ध, घरजग्गा कारोबारसमेत प्रभावित


काठमाडौं। देशभरका स्थानीय तहमा कर तिर्ने प्रणाली अवरुद्ध भएको छ। जसले गर्दा घरजग्गा कारोबारसमेत रोकिएको छ।

Tata
GBIME

कर तिर्न नपाउँदा ललितपुरको गोदावरीका एक स्थानीयले आफ्नो जग्गा बिक्री गर्न पाएका छैनन्। ‘समस्या परेर जग्गा बिक्री लागेको। कर तिर्न नपाउँदा कारोबार रोकियो,’ ती करदाताले भने। लगनखेलस्थित मालपोत कार्यालयमा साउन लागेयता यस्ता सेवाग्राहीको काम रोकिएको लेखपढी व्यवसायीहरु बताउँछन्।

कर तिर्ने प्रणाली सुत्रमा समस्या आउँदा राजस्व संकलन ठप्प रहेको गोदावरी नगरपालिका-६ का वडाध्यक्ष विष्णु महर्जनले बताए। ‘अहिले कर तिर्ने सिस्टममै समस्या आइरहेको छ। यो सेट गर्न दुई चार दिन लाग्छ भन्ने छ,’ वडाध्यक्ष महर्जनले भने।

ललितपुर महानगरपालिकाले सम्पत्ति कर, घरबहाल कर, व्यवसाय कर, विज्ञापन कर, भूमिकर संकलन साउन ५ गतेसम्म बन्द रहने बताएको छ। ‘सिस्टम अपडेटका लागि आर्थिक वर्ष सुरु भएलगत्तै कर संकलन बन्द गरिएको हो। अब भोलि सुरु हुन्छ,’ ललितपुर महानगरका राजस्व शाखा प्रमुख सहजित राईले भने।

काठमाडौं महानगरमा दुई दिनसम्म नचलेको र अहिले राजस्व संकलन सुरु भइसकेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए। ‘हाम्रोमा दुई दिन चलेन। हिजोबाट चलिरहेको छ,’ प्रवक्ता मानन्धरले भने।

स्थानीय तहमा राजस्वदेखि बजेटका लागि २०७६ वैशाख १७ बाट स्थानीय तह संचित कोष व्यवस्थापन प्रणाली(सुत्र) लागू भएको हो। यसअघि राजस्व र लेखा एकै सफ्टवेयरबाट चलाउँदा समस्या देखिन थालेपछि अपडेटका लागि केही दिन बन्द भएको सुत्रका कन्सल्टेन्ट अनुपम उपाध्यायले बताए।

उनका अनुसार अब राजस्व र लेखाका लागि फरकफरक यूआरएल तयार भएकाले केही दिनपछि सिस्टम ठीकठाक हुन्छ। ‘सिस्टम अपडेटका लागि हो बन्द भएको। नयाँ आर्थिक वर्ष सुरु भएसँगै राजस्व र लेखालाई बेग्लाबेग्ला राखेर सिस्टम रेडी भएको छ,’ उपाध्यायले भने।

धेरैजसो पालिकाले नयाँ सूचनासमेत थाहा नपाएको, अपडेटबारे सिक्न केही दिन लाग्न सक्ने लगायत कारण राजस्व संकलन रोकिएको हुनसक्ने उनले बताए।