काठमाडौं। अर्को १२ दिनको ब्याजलाई आम्दानी देखाउन बाँकी नै रहे पनि बाणिज्य बैंकहरुले गत आर्थिक वर्षको हिसाब-किताब लगभग टुंगो लगाइसकेका छन्। जसअनुसार अधिकांश बैंकको आम्दानीमा सुधार देखिएको छ।
‘नयाँ ऋण खासै नगए पनि पुराना ऋणको रिकभरी सन्तोषजनक भयो,’ बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बिजमाण्डूसँग भने, ‘त्यसैले गत आर्थिक वर्षको नाफामा पनि सुधार नै छ।’
उनका अनुसार, सबैभन्दा बढी ऋण समस्या रहेको मधेश प्रदेशमा ऋणको रिकभरी अपेक्षा गरेभन्दा राम्रो हुँदा समग्र नाफामा सुधार भएको हो।
नाफामा राम्रो सुधार गरेका बैंकहरुले यसपालि फरक रणनीति लिने भएका छन्। बैंकहरुले जति आम्दानी भएको छ, त्यो पुरै नदेखाउने रणनीति लिने भएका हुन्। चालु आर्थिक वर्ष पनि अर्थतन्त्र दबाबमै रहने र त्यसले बैंकको ऋण लगानी र उठ्तीमा समस्या हुने बैंकरको आंकलन छ।
‘अर्थतन्त्र खासै राम्रो हुने संकेत छैन। अहिले धेरै नाफा देखाउँदा सबैको आँखा पनि पर्छ,’ एक बैंकरले भने, ‘अर्को वर्षलाई अलिकति साँच्नु पर्छ भन्ने छ।’
उनका अनुसार, अहिले वा अर्को वर्ष देखाउँदा लगानीकर्ताको पैसा नै हो, यसपालि राम्रो देखाएर अर्को वर्ष नराम्रो हुनुभन्दा त्यसलाई सन्तुलन कायम गरेर जाँदा राम्रो होला भन्ने लागेको छ।
राष्ट्र बैंकले मसान्तको अघिल्लो दिन बैंक तथा वित्तीय संस्थाहरुलाई साउन १५ गतेसम्म पाकेको ब्याजलाई गत आर्थिक वर्षको वासलातमा देखाउन पाउने व्यवस्था गरिदिएको छ।
यो सुविधा पाइन्छ भन्नेमा बैंकरहरु आशावादी थिएनन्। सुविधा पाएपछि १२ दिनको ब्याजलाई आम्दानी देखाउने र पहिले उठिसकेको ऋणको केही अंश भने अर्को वर्षलाई साँच्ने बैंकरहरुको रणनीति छ।
‘नयाँ व्यवसाय गर्छु, भएको व्यवसाय विस्तार गर्छु भनेर कोही आएकै छैन। अबको वर्ष केही सुधार होला कि भनेर ऋणीहरु उत्साही पनि छैनन्,’ ती बैंकरले भने, ‘उनीहरुको प्रतिकृया लिएर हामीले पनि आफ्नो बजेट बनाउने हो। हामी मन फुकाएर बजेट बनाउने अवस्थामा छैनौं।’
उनका अनुसार, यो वर्ष पनि बैंकहरुका लागि ऋण उठाउने वर्षकै रुपमा रहने छ। कोभिडपछि विभिन्न बहाना र शीर्षकमा गएका ऋण अझै समस्यामा नै छन्। ‘नयाँ ऋण जाने अवस्था नरहेपछि पुरानै ऋण उठाएर वासलातलाई स्थिरता दिनु पर्ने हुन्छ,’ अर्का एक बैंकरले भने, ‘राष्ट्र बैंक आफैं पनि ऋण जानेमा विश्वस्त छैन।’
सामान्यता सरकारले राखेको आर्थिक वृद्धिको ३ गुणासम्म ऋण बिस्तारको प्रक्षेपण गरिन्छ। राष्ट्र बैंकले केही वर्षदेखि दुई गुणा पनि प्रक्षेपण गर्न छाडेको छ। यसपटक सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ। राष्ट्र बैंकले ऋण विस्तारको प्रक्षेपण ११ प्रतिशत मात्र गरेको छ। पोहोर १२ प्रतिशतको प्रक्षेपण गर्दा जम्मा ६ प्रतिशत मात्र ऋण गएको थियो।
‘यस वर्ष नयाँ ऋण ६ खर्ब ५२ अर्ब जान्छ भन्ने प्रक्षेपण छ,’ ती बैंकरले सुनाए, ‘पुरानो ऋण चुक्ता चानचुन ४ खर्ब हाराहारी भएमा त्यो खाडलसमेत पुरेर ११ प्रतिशतको लक्ष्यमा जाने हो भने साढे १० खर्ब ऋण दिनु पर्छ। जुन सम्भव देखिँदैन।’
त्यसैले बैंकहरुले आगामी वर्षलाई समेत हेरेर यसपालि भएजति नाफा देखाउन नचाहेका हुन्। ‘मलाई लाग्छ सबै बैंकको सञ्चालक समितिलाई यस बारेमा रिपोर्टिङ भइसकेको छ,’ ती बैंकरले सुनाए, ‘त्यसैले ठूलो अपेक्षा कसैको पनि छैन होला।’