काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)भित्र असार २५ गते विश्व हिन्दु आर्थिक मञ्च (डब्लूएचईएफ)सँग गरेको सम्झौतालाई लिएर विवाद चर्किएको छ।
डब्लूएचईएफले एफएनसीसीआईसँगको सहकार्यमा सन् २०२७ मा सम्मेलन गर्ने सम्झौता गरेकामा त्यसलाई लिएर केही पदाधिकारीले नै गम्भीर असहमति जनाएका छन्। स्रोतका अनुसार अध्यक्ष अन्जन श्रेष्ठले छलफल नै नगरी सम्झौता गरेकामा केही पदाधिकारी असहमति व्यक्त गरेका हुन्।
समझदारीपत्रमा एफएनसीसीआईका अध्यक्ष अन्जन र विश्व हिन्दु इकोनोमिक फोरम आयोजक समितिका अध्यक्ष सुरज वैद्यले हस्ताक्षर गरेका थिए।
सम्झौताका विषयमा महासंघका पदाधिकारीबीच छलफल भएको थिएन। सम्झौता हुन लाग्दा र भएपछि महासंघको क्लोज ग्रुप रहेको सामाजिक सञ्जालमा भने असन्तुष्टि चुलिएको थियो। संवेदनशील विषयमा महासंघभित्र छलफल नभएकोमा समेत भित्रभित्रै भुसको आगोजस्तै असन्तोष सल्किएको छ।
यो सम्झौताको ड्राफ्ट पठाएपछि महासंघका केही कार्यकारिणी सदस्यले गम्भीर असहमति जनाएका थिए। सँगै सम्झौता कार्यक्रममा समेत सहभागी भएका थिएनन्। धर्मनिरपेक्ष मुलुकमा कुनै धर्मसँग सम्बन्धित सम्मेलन व्यावसायिक संस्थाले गर्न नहुने जिकिर केही पदाधिकारीले गरेका थिए।
‘हामीजस्तो व्यावसायिक संस्थाले कुनै धार्मिक संस्थाको सम्मेलनमा सहकार्य गर्न उपयुक्त हुँदैन। अहिले हिन्दुको सम्मेलन गरियो। कुनै समयमा बौद्ध र क्रिश्चियनका कुनै व्यावसायिक संस्थाले सम्मेलनका लागि प्रस्ताव गर्लान्। त्यो बेलामा गर्ने कि नगर्ने?,’ महासंघका एक कार्यसमिति सदस्यले बिजमाण्डूसँग भने, ‘यस्तो विषयमा महासंघको लिडरसीपले गम्भीर भएर हेर्नुपर्छ।’
ती सदस्यले धर्मसँग सम्बन्धित विषयमा सचेत हुनुपर्नेमा हतारमा निर्णय गरेका कारण विवाद चुलिएको बताए। ‘उद्योगी व्यवसायीको हितका लागि स्थापित भएको संस्था हो। हामीले व्यावसायिक हकहितभन्दा बाहिर गएर काम गर्नु उचित हुँदैन,’ उनले भने, ‘त्यसमा पनि विवाद ल्याउनसक्ने विषयमा पस्दै नपस्नु राम्रो हुन्छ।’
स्रोतका अनुसार डब्लूएचईएफले महासंघको यसअघिको नेतृत्वसमक्ष समेत सहकार्यका लागि प्रस्ताव गरेको थियो। त्यो प्रस्तावमा महासंघका यसअघिका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्णय गरेनन्। ‘संवेदनशील विषय भएकाले तत्कालीन अध्यक्ष ढकालले कुनै निर्णय गर्नुभएन,’ ढकाल नेतृत्वमा रहेका बेलाका एक कार्यसमिति सदस्यले भने।
‘पूर्वअध्यक्ष र व्यावसायिक मुद्दा भएकाले सहकार्य‘
महासंघ अध्यक्ष अञ्जन पक्षधरका एक पदाधिकारीका अनुसार नवप्रवर्तन, उद्यमशीलता लगायत विषयसँग सम्बन्धित भएकाले सहकार्य गर्न सम्झौता गरिएको हो।
हिन्दु जोडिएको भए पनि लगानीसँग सम्बन्धित भएको र महासंघकै पूर्वअध्यक्ष आयोजक समितिका अध्यक्ष रहेकाले सहकार्यको हात फैलाएको उनको भनाइ छ। विश्व हिन्दु इकोनोमिक फोरम आयोजक समितिका अध्यक्ष वैद्य महासंघका पूर्वअध्यक्ष हुन्।
समझदारीमा नेपाललाई विश्वस्तरीय लगानी, नवप्रवर्तन तथा उद्यमशीलताको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने, सातै प्रदेशका लगानीयोग्य सार्वजनिक-निजी परियोजनाको पहिचान तथा प्रवर्धन गर्ने, वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्ने तथा आर्थिक कूटनीतिलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ।
‘नेपाललाई लगानीको गन्तव्य बनाउने विषयसँग सम्बन्धित सम्मेलनमा व्यावसायिक संस्था जोडिन नहुने भन्ने हुन्छ र?,’ अन्जन निकट ती पदाधिकारीले भने, ‘यति राम्रो विषयलाई पनि विवादमा ल्याउन खोज्नु भनेको निहुँ खोज्नु मात्रै हो।’
सम्झौताका बेलामा अध्यक्ष अन्जनले सहकार्यले नेपाललाई अन्तर्राष्ट्रिय लगानी, व्यापार तथा व्यवसायिक साझेदारीको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने बताएका थिए।
कस्तो संस्था हो डब्लूएचईएफ?
डब्लूएचईएफ सन् २०१० मा स्थापित भएको संस्था हो। दिल्लीमा हेडक्वाटर रहेको यो संस्थाले आफूलाई विश्वभरका हिन्दु उद्यमी, व्यवसायी, लगानीकर्ता, पेशाकर्मी, अर्थशास्त्रीलाई एक आपसमा जोड्ने उद्देश्यले स्थापित गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्था भएको दाबी गर्छ।
संस्थाले पहिलो सम्मेलन सन् २०१२ मा हङकङमा गरेको थियो। त्यसपछि विभिन्न देशमा सम्मेलन गर्दै आएको छ। विश्वभर रहेका हिन्दु समुदायबीच आर्थिक सम्बन्ध र बजार पहुँच विस्तार गर्ने उद्देश्य राखिएकाले संस्थाका विषयमा आलोचना समेत हुने गरेको छ।