न्युयोर्क। निर्देशक क्रिस्टोफर नोलनको नयाँ फिल्म ‘द ओडिसी’ले पहिलो सप्ताहान्तमै विश्वव्यापी बक्स अफिसमा प्रभावशाली सुरुआत गरेको छ। होमरको प्राचीन महाकाव्यमा आधारित यो फिल्मले अमेरिकामा मात्र १२ करोड ४५ लाख अमेरिकी डलर बराबरको टिकट बिक्रीबाट आम्दानी गरेको छ भने अन्तर्राष्ट्रिय बजारबाट थप १३ करोड ९६ लाख डलर कमाएको छ। यससँगै यसको विश्वव्यापी प्रारम्भिक आम्दानी २६ करोड ४० लाख डलरभन्दा बढी पुगेको छ।
यो सुरुआत नोलनकै अघिल्लो चर्चित फिल्म ‘ओपेनहाइमर’भन्दा पनि बलियो मानिएको छ। सन् २०१२ मा प्रदर्शन भएको ‘द डार्क नाइट राइजेज’पछि नोलनको करिअरकै उत्कृष्ट प्रारम्भिक बक्स अफिस प्रदर्शन यही बनेको छ।
२५ करोड डलर लागतमा बनेको ‘द ओडिसी’ हालसम्मका सबैभन्दा महँगा आर–रेटेड फिल्ममध्ये एक हो। निर्माण कम्पनी युनिभर्सलले यसको प्रचार–प्रसारमा मात्रै करिब १२ करोड ५० लाख डलर खर्च गरेको बताइएको छ। यति ठूलो लगानीका बाबजुद नोलनप्रतिको दर्शक विश्वासले फिल्मलाई प्रदर्शनअघि नै अत्यधिक चर्चित बनाएको थियो।
फिल्मप्रतिको आकर्षण यति धेरै थियो कि आइम्याक्सले ७० मिलिमिटर संस्करणका शोका टिकट प्रदर्शन हुनुभन्दा एक वर्षअघि नै बिक्री खुला गरेको थियो। माग अत्यधिक भएपछि केही हलले मध्यरात र बिहान ३ बजेसम्मका अतिरिक्त शो थपेका थिए, ती पनि पूर्ण रूपमा भरिएका थिए।
युनिभर्सलका घरेलु वितरण प्रमुख जिम ओरले नोलनले विशाल स्केलको साहसिक कथा निर्माण गरेको र दर्शकले त्यसलाई उत्साहपूर्वक स्वीकार गरेको बताए।
‘द ओडिसी’ नोलनले पूर्ण रूपमा आइम्याक्स क्यामेराबाट छायांकन गरेको पहिलो फिचर फिल्म हो। यसको सफलतामा आइम्याक्स प्रदर्शनले ठूलो भूमिका खेलेको छ। अमेरिकामा मात्रै आइम्याक्सबाट २ करोड ९६ लाख डलर र विश्वभर ५ करोड १८ लाख डलरको टिकट बिक्री भएको छ। यो आइम्याक्सको इतिहासकै सबैभन्दा सफल सप्ताहन्त बनेको कम्पनीले जनाएको छ।
विश्वभर केवल ४१ वटा आइम्याक्स हलमा ७० मिलिमिटर संस्करण प्रदर्शन भइरहे पनि ती हलबाट मात्रै ६३ लाख डलर बराबरको टिकट बिक्री भएको छ। आइम्याक्सले आगामी तीन सातासम्म आफ्ना सबै पर्दा ‘द ओडिसी’लाई उपलब्ध गराउने निर्णय गरेको छ। कम्पनीका प्रमुख कार्यकारी रिच गेलफन्डका अनुसार पाँचौं सातासम्मका केही हलका टिकटसमेत अहिले नै सकिइसकेका छन्।
कोरोना महामारीपछि सिनेमा हलमा दर्शक फर्काउने अभियानमा नोलन अग्रपंक्तिमा रहेका निर्देशक मानिन्छन्। सन् २०२० मा ‘टेनेट’ प्रदर्शन गरेर उनले महामारीबीच ठूलो फिल्म हलमा ल्याएका थिए। त्यसपछि ‘ओपेनहाइमर’ र ग्रेटा गर्विगको ‘बार्बी’ले सन् २०२३ मा विश्वभर अभूतपूर्व सिनेमाघर उत्साह सिर्जना गरेका थिए। ‘ओपेनहाइमर’ले अन्ततः विश्वभर ९७ करोड ५० लाख डलरभन्दा बढी कमाएको थियो।
यस वर्ष हलिउडको ग्रीष्मकालीन बक्स अफिस पनि सन् २०१९ यताकै सबैभन्दा बलियो मानिएको छ। गत वर्षको तुलनामा टिकट बिक्री १०.४ प्रतिशतले बढेको र महामारीपछि पहिलो पटक अमेरिकी बक्स अफिसले १० अर्ब डलर नाघ्ने अपेक्षा गरिएको छ।
व्यापार विश्लेषकहरूका अनुसार ‘द ओडिसी’को दीर्घकालीन प्रदर्शन अब मुख्य चासोको विषय हुनेछ। यद्यपि दोस्रो सप्ताहान्तका अग्रिम टिकट बिक्री पनि उच्च रहेकाले फिल्मले लामो समयसम्म राम्रो व्यापार गर्ने संकेत देखिएको छ। आगामी जुलाई ३१ सम्म यसको प्रत्यक्ष प्रतिस्पर्धी नयाँ फिल्म प्रदर्शन नहुने भएकाले त्यसले पनि फाइदा पुग्ने अपेक्षा गरिएको छ। त्यसपछि भने टम हल्यान्ड र जेन्डायाकै अभिनय रहेको सोनीको ‘स्पाइडरम्यान : ब्रान्ड न्यू डे’ प्रदर्शनमा आउनेछ।
रन्ट्र्याकका बजार विश्लेषक पल डेर्गाराबेडियनले क्रिस्टोफर नोलन र टम क्रुजलाई ठूलो पर्दाको अनुभव जोगाइराख्ने हलिउडका सबैभन्दा प्रभावशाली व्यक्तित्वमध्येका दुई नाम भएको बताए।
‘द ओडिसी’ हेर्ने दर्शकमध्ये ५९ प्रतिशत पुरुष रहेको तथ्यांक सार्वजनिक भएको छ। यद्यपि युनिभर्सलका अनुसार फिल्मले किशोरदेखि वृद्धसम्म सबै उमेर समूहका दर्शकलाई समान रूपमा आकर्षित गरेको छ र यसको प्रदर्शन गर्मीयामपछि शरद ऋतुसम्म पनि बलियो रहने विश्वास गरिएको छ।

फिल्ममा म्याट डेमनले ओडिसियसको मुख्य भूमिका निर्वाह गरेका छन्। टम हल्यान्ड उनका छोरा टेलेमाकसका रूपमा देखिएका छन् भने एनी ह्याथवे पेनेलोप, जेन्डाया एथेना, रोबर्ट प्याटिन्सन एन्टिनोअस र चार्लिज थेरोन क्यालिप्सोको भूमिकामा छन्।
लुपिटा न्योङ्ओलाई हेलेन र इलियट पेजलाई सैनिकको भूमिकामा लिएको विषयलाई लिएर केही रूढीवादी टिप्पणीकारले आलोचना गरेका थिए। एलन मस्कले समेत नोलनको कास्टिङ निर्णयको आलोचना गरेका थिए। तर त्यसको प्रभाव फिल्मको व्यापारमा देखिएन। ‘रोटेन टोमाटोज’मा फिल्मले ९५ प्रतिशत सकारात्मक समीक्षा प्राप्त गरेको छ भने दर्शक मूल्यांकन ‘सिनेमास्कोर’मा ‘ए’ ग्रेड हासिल गरेको छ।
हलिउड फिल्म बजारमा यस सप्ताहान्तमा अन्य फिल्महरू भने निकै पछि परे। डिज्नीको ‘मोआना’ तेस्रो सप्ताहान्तमा १ करोड ९० लाख डलरसहित दोस्रो स्थानमा रह्यो। २५ करोड डलर लागतको यो लाइभ-एक्सन फिल्मले दुई सातामा विश्वभर १७ करोड ८० लाख डलर मात्र कमाएको छ, जुन अपेक्षाभन्दा कमजोर मानिएको छ। युनिभर्सलको ‘मिनियन्स एन्ड मोन्स्टर्स’ र डिज्नीको ‘टय स्टोरी ५’ले करिब १ करोड ५० लाख डलर हाराहारीको आम्दानी गर्दै त्यसपछि स्थान बनाए। (एपी)