काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने धुलिखेलस्थित दुसित थानी रिसोर्टमा एक रात बिताएर आइतबार अपराह्न फर्किएका छन्।
पत्नी निकिता पौडेललाई साथै लिएर शनिबार अपराह्न दुसित थानीमा पुगेका रवि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग लामो भलाकुसारी गरेर फर्किएका हुन्।
उच्च स्रोतका अनुसार रिसोर्टमा प्रधानमन्त्री बालेन्द्र शाह पनि जाने तालिका थियो। रवि, बालेन र स्वर्णिम दुसित थानीमा जाने कार्यक्रम एक साताअघि नै बनेको थियो।
तर, प्रधानमन्त्री बालेनले अस्वस्थ भएपछि अन्तिम समयमा धुलिखेल जाने कार्यक्रम स्थगित गरेको स्रोतले बतायो। पछिल्लो समयमा प्रधानमन्त्री बालेन पेटको समस्याले तनाबमा छन्। पेटको समस्याका कारण उनी सकेसम्म शाकाहारी भोजन गरेर बेलुका चाँडै सुत्ने र बिहान चाँडै उठ्ने गरेका छन्।
‘प्रधानमन्त्रीज्यू पनि दुसित थानी रिसोर्टमा जाने कार्यक्रम थियो। तर उहाँ पेटको समस्याले गर्दा जान सक्नु भएन। शनिबार रात बिताउनका लागि जान नपाएपछि आइतबार भए पनि जाने खोज्नु भएको थियो तर स्वास्थ्य अवस्थाले सक्नुभएन,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बिजमाण्डूसँग भने, ‘उहाँले आइतबार बिहान जान खोज्नु भएको थियो। सभापतिज्यूले बिरामी हुँदाहुँदै नआउनु भन्नुभयो।’
गणेश नेपालीको आत्मदाहपछि बढेको जनआक्रोशलाई लिएर रवि र बालेनबीच सम्बन्ध बिग्रिएको शंका उपशंका भइरहेका बेला तीन नेता एक ठाउँमा बस्न खोजेका थिए।
रवि र बालेनबीच एक साताअघि चार घण्टा वार्ता भएको थियो। बालेन आफ्नो सचिवालयका केही सदस्यलाई लिएर रविको निवासमा पुगेका थिए। त्यसदिन बालेनले अर्थमन्त्री स्वर्णिमप्रति असन्तुष्टि पोखेको भनेर सामाजिक सञ्जालमा अझै ‘भाइरल’ भइरहेको छ।
स्रोतका अनुसार रवि निवासको वार्तामा प्रधानमन्त्री बालेनले अर्थमन्त्री स्वर्णिमका बारेमा कुनै असन्तुष्टि पोखेका थिएनन्। आफूप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको समाचार बाहिरिएपछि अर्थमन्त्री स्वर्णिमले भेरिफाई समेत गरिसकेका छन्।
स्रोतका अनुसार केही समयअघि स्वर्णिमलाई कुनै व्यवसायीले प्रधानमन्त्रीसँगको सम्बन्धका बारेमा सोधेका थिए। स्वर्णिमले कुनै समस्या नरहेको र प्रधानमन्त्रीसँग ‘फ्रिक्वेन्ट्ली’ कुराकानी भइरहेको जिकिर गरेका थिए।
‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग कुनै समस्या छैन। हामीबीच एकदमै राम्रो कुराकानी हुन्छ,’ स्वर्णिमको भनाई उद्धृत गर्दै एक व्यवसायीले बिजमाण्डूसँग भने।
स्रोतका अनुसार मन्त्रिपरिषद्को हरेक बैठकपछि प्रधानमन्त्री बालेनले अर्थमन्त्री स्वर्णिमसँग छुट्टै छलफल गर्ने गरेका छन्। यसबाहेक मन्त्रिपरिषद्बाट गर्ने निर्णयलाई लिएर पनि बालेनले स्वर्णिमसँग बैठकअघि फोनमा कुरा गर्ने गरेका छन्।
‘मन्त्रिपरिषद्को बैठकपछि पनि अक्सर प्रधानमन्त्री र अर्थमन्त्रीबीच १५/२० मिनेट छलफल भइरहेको हुन्छ,’ प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने, ‘सम्बन्ध राम्रो नभएको भए त्यसरी किन छलफल हुन्थ्यो होला र?’
दुसित रिसोर्ट नै किन?
थाइल्याण्डमा बसेर फर्किएका रमेश हमालले रेसिडेन्स भिल्ला निर्माण गरे। त्यही भिल्लालाई भाडामा दिएर उनले रिसोर्ट संचालन गर्ने अवधारणा ल्याए।
हमालसँग निकट रहेका स्वर्णिमले सुरुवाती चरणमै भिल्ला खरिद गरे। विश्व बैंकमा आर्थिक सल्लाहकारको रुपमा काम गर्दा कमाएको रकम स्वर्णिमले सेयर, पोपर्टी लगायतमा लगाए। अमेरिकामा रहँदा म्यानहटनमै स्वर्णिमको पेन्टहाउस थियो।
उनले ‘वान बेड रुम’को दुई नम्बरको भिल्ला किनेका थिए। सुरुवाती चरणमा उनले एक/डेढ करोड रुपैयाँमा त्यो भिल्ला किनेका हुन्। त्यही बेला दुई बेड रुम भएको भिल्ला किन्नेले चार करोड हाराहारी हालेका थिए।
रिसोर्टमा १८ वटा भिल्ला छन्। पाँच वटा एक बेडरुम, १२ वटा दुई बेडरुम र एउटा तीन बेडरुमका भिल्ला छन्। हमालको कम्पनी ओमस्टोन एसिया क्यापिटल नेपालले वर्षभरी संचालन भएको आधारमा खर्च कटाएर भिल्ला संचालकलाई निश्चित रकम दिने गर्छ। त्यस्तै रिसोर्टले भिल्लाका लगानीकर्तालाई ३० दिन ‘नोमिनल चार्ज’मा बस्न दिन्छ।