BIZMANDU
www.bizmandu.com

आइसीपीमा सर्भर डाउनको क्षतिपूर्ति छैन, उल्टै व्यवसायीमाथि थप शुल्कको बोझ!


आइसीपीमा सर्भर डाउनको क्षतिपूर्ति छैन, उल्टै व्यवसायीमाथि थप शुल्कको बोझ!
आइसीपीमा सर्भर डाउनको क्षतिपूर्ति छैन, उल्टै व्यवसायीमाथि थप शुल्कको बोझ!


विराटनगर। विराटनगरको एकीकृत जाँचविन्दु (आइसीपी) को व्यवस्थापन गरिरहेको ट्रान्स नेपाल टीआरसी लोजीपार्कको सर्भर १० दिनयता दुई पटक डाउन भयो। सर्भर नचल्नुको कारण प्राविधिक थियो।

Tata
GBIME

यसका कारण व्यवसायीले अनाहकमा ट्रान्स नेपाललाई ३ दिनको पार्किङ शुल्क बुझाउनु पर्‍यो। यसमा आयातनिर्यातकर्ताको कुनै दोष थिएन।

ट्रान्स नेपालको सर्बर दिनभरि डाउन भएर ट्रक तथा कन्टेनर आइसीपी परिसरमै थन्किए। यसबापत थप एक वा दुई दिनको पार्किङ शुल्क बापतको जरिबाना व्यवसायीले तिर्नुपरेको हो।

विराटनगरको आइसीपीमा आयातित सामान बोकेर दैनिक ३५ देखि ४५ को संख्यामा कन्टेनर र २ सयभन्दा बढी ट्रक भित्रने गर्दछन्। ट्रान्स नेपालले २० फिटे कन्टेनरको एक दिनको पार्किंङ शुल्क भ्याटसहित ६४४ रुपैयाँ ७८ पैसा, ४० फिटेको भ्याटसहित ९६७ रुपैयाँ २१ पैसा र ट्रकको भ्याटसहित ३२२ रुपैयाँ ४० पैसा लिने गर्दछ।

व्यवसायीका अनुसार यहाँ पार्किङ शुल्कका साथसाथै ढाड खुस्काउने गरी लागत बढाउने अर्को खर्च छ, त्यो हो मालवाहक सवारीको डिटेन्सन शुल्क। मालवाहक ट्रक थप एक दिन बढी आइसीपीमा राख्नुपर्दा भारु २५ सयदेखि ३ हजारको डिटेन्सन चार्ज लाग्छ।

त्यस्तै, २० फिटे कन्टेनरको एक दिनको भारु ५ हजार र ४० फिटेको भारु ८ हजार डिटेन्सन चार्ज लाग्छ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्माका अनुसार आयातित सामान बोकेका साधनहरू सामान्यतया आइसीपीमा आइपुगेको भोलिपल्ट जाँचपास भई एक्जिट हुने गर्दछन्। यसो हुँदा ट्रान्स नेपालले दुई दिनको पार्किङ शुल्क असुल्ने गरेको छ।

‘तर, ट्रान्स नेपालको सर्भर डाउन भएर मालवाहक साधन थप अर्को दिन वा दुई दिन बस्नुपर्ने हुन्छ भने व्यवसायीले ती दिनको पार्किङ शुल्क ट्रान्स नेपाललाई नै किन तिर्नुपर्ने? अनि थप डिटेन्सनको मार किन खप्नुपर्ने? यहाँनिर ट्रान्स नेपालले व्यवसायीमाथि अनावश्यक र अनाहकको भार बोकाइरहेको छ,’ अध्यक्ष शर्माले असन्तुष्टि व्यक्त गरे।

शर्माले ट्रान्स नेपालले विराटनगरको आइसीपीमा पार्किङ शुल्क र तौल शुल्कका नाममा गैरभन्सार अवरोध गर्ने प्रयास गरिरहेको आरोप लगाए।

उनले भने, ‘विराटनगरको आइसीपीमा ट्रान्स नेपालको व्यवहारका कारण व्यवसायीले नाका परिवर्तन गरेर अन्यत्रबाट आयातनिर्यात गर्न थालेका छन्। यसलाई सुधार गर्नु आवश्यक छ।’

बाध्यकारी नभए पनि तौल अनिवार्य

देशभरिका मुख्य भन्सारविन्दुका आइसीपी र आइसीडीका संचालकले भन्सार विभागलाई प्रभावमा पारेर अर्को बाध्यकारी निर्देशन गराएका छन्। यो निर्देशन हो- आइसीपी वा आइसीडीभित्र प्रवेश गर्ने सबै मालवाहक सवारीको तौल लिनुपर्ने।

यसरी तौल गर्दा एक मालवाहक सवारीको भ्याटसहित ३२२ रुपैयाँ ४२ पैसा बुझाउनु पर्छ। विराटनगर आइसीपीमा दैनिक आउने २ सय गाडीले तौल गरेबापत मात्र करिब ६५ हजार रुपैयाँ बुझाउँछन्।

व्यवसायीले यसप्रति पनि आपत्ति जनाएका छन्। व्यवसायीले जुन वस्तु किलोग्राममा आयात गरिन्छ त्यसको तौल लिनु आवश्यक, अनिवार्य र स्वाभाविक हो तर तौलमा आयात नै नहुने र संख्यात्मक मूल्यांकन हुने वस्तुको किन तौल गर्नुपर्ने भन्ने प्रश्न उठाउँदै विरोध जनाएका छन्।

भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रीय सचिव प्रबिन जोशीले ट्रान्स नेपालले संख्यात्मक मूल्यांकन गरिने पंखा, हिटर, शृंगार प्रसाधनका कस्मेटिक सामान, कपडा, गार्मेन्ट, पेट्रोलियम पदार्थ तथा हाइड्रो प्रोजेक्टका सामान, मिल-मेसिनरी, औद्योगिक कच्चापदार्थ लगायतका धेरै वस्तुका सवारीको तौलकाँटा गरेर व्यवसायीलाई अनावश्यक बोझ बोकाइरहेको बताए।

‘हामी के कुरामा स्पष्ट छौँ भने देशभरिका आइसीपी र आइसीडीका प्रभावमा परेर नै भन्सार विभागले तौलकाँटा गर्ने बाध्यकारी निर्देशन गरेको हो। अहिलेको समय आफ्नो लागत कसरी व्यवस्थापन गर्ने भन्नेमा छ तर यही बेला लागत बढ्ने नियम आएका छन्‌,’ सचिव जोशीले भने।

मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल शाहले केही समययता भन्सारविन्दु आइसीपीमा व्यवसायीसित अनावश्यक शुल्क लिने क्रम वृद्धि भएको बताए।

व्यवसायीले शाहले ‘आइसीपीका कारणले सर्भर डाउन हुने अनि त्यसको मार व्यवसायीले खेप्नुपर्ने, यो कुन प्रकारको व्यापार सहजीकरण हो?’ भन्ने प्रश्न गर्दै सर्भर डाउन भएका कारणले भन्सारविन्दुमा गाडी खडा भए भने त्यस अवधिको पार्किङ शुल्क लिनु नहुने आग्रह गरे।

उनले ट्रान्स नेपालको सर्भर डाउन भएका कारण व्यवसायीले मालवाहक सवारीको डिटेन्सन शुल्क तिर्नुका साथै यसको क्षतिपूर्ति ट्रान्स नेपालले दिनुपर्ने जिकिर गरे। शाहले यसका लागि नियामक निकाय नेपाल इन्टरमोडल यातायात विकास समितिले हस्तक्षेप गरेर नियम र निर्देशिका संशोधन गर्नुपर्ने माग गरे।

‘कार्यालयको सर्भर डाउन भएर मालवाहक सवारी खडा हुन बाध्य हुनुपर्ने अनि त्यसको पार्किङ शुल्क तिर्नुपर्ने। थप चर्को डिटेन्सन शुल्क पनि लाग्ने। त्यसैगरी, संख्यात्मक मूल्यांकन र लिटरमा आउने वस्तुको तौल गर्नुपर्ने अनि तौल गरेको शुल्क तिर्नुपर्ने। यस्ता नियमले व्यापार सहजीकरण होइन उल्टो हतोत्साही बनाउँछन्‌,’ वरिष्ठ उपाध्यक्ष शाहले भने।

ट्रान्स नेपाल टीआरएसका व्यवस्थापक लक्ष्मी सुब्बाले कार्यालयको सर्भर डाउन भएर जाँचपास हुन नसकेका दिन आफूले मालवाहक सवारी भारततिरै राख्नु भन्ने खबर दिएर व्यापार सहजीकरण गरिरहेको बताए। व्यवस्थापक सुब्बाले आइसीपी क्षेत्रभित्र प्रवेश गर्नेबित्तिकै यस्ता सवारीको पार्किङ शुल्क लाग्ने भएकाले सर्बर डाउन भएका दिन भारतीय भूमिमै राख्न सुझाव दिएको स्पष्ट पारे।

सुब्बाले भन्सार विभागले हरेक मालवाहक सवारीको अनिवार्य तौल गर्नु भन्ने निर्देशन गरेको हुँदा तौलकाँटा गर्न थालिएको र यसमा ट्रान्स नेपालको कुनै भूमिका नभएको बताए।

‘हामीलाई जे नीतिनियम र निर्देशन आउँछ त्यही अनुसार गर्ने हो। त्यसभन्दा दायाँबायाँ गरेका छैनौँ,’ उनको भनाइ छ।

विराटनगरका व्यवसायीद्वय मुकेश राठी र सुशील जोशी तथा भारतीय कम्पनी टीआरएस लोजीपार्कले संयुक्त रूपमा ट्रान्स नेपाल टीआरएस लोजीपार्कको संचालन गरिरहेका छन्।