काठमाडौं। सीजी मोटर्सले पोखरामा आयोन, एक्सपेङ र डायन ब्राण्डका विद्युतीय सवारीका लागि नयाँ मल्टि-ब्राण्ड आउटलेट संचालनमा ल्याएको छ।
एउटै छानामुनि ३ अन्तर्राष्ट्रिय ब्राण्डका विद्युतीय सवारी उपलब्ध गराउने उद्देश्यका साथ आउटलेट संचालनमा आएको कम्पनीले जनाएको छ।
गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्री भीम कार्कीले शुक्रबार आयोजित कार्यक्रममा आउटलेटको उद्घाटन गरे। कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइराला लगायत अटोमोबाइल क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।
सीजी मोटर्सले उपत्यकाबाहिर पनि आधुनिक विद्युतीय सवारीको पहुँच विस्तार गर्ने रणनीतिअन्तर्गत पोखरामा नयाँ केन्द्र संचालनमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार नयाँ आउटलेटले ग्राहकलाई सवारी अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राइभ तथा बिक्रीपछिको सेवा एउटै स्थानबाट उपलब्ध गराउनेछ। यसले ग्राहकलाई सहज, व्यवस्थित र गुणस्तरीय सेवा अनुभव दिने विश्वास कम्पनीको छ।
सो क्रममा मन्त्री कार्कीले विद्युतीय सवारीको विस्तार र गुणस्तरीय ग्राहक सेवामा योगदान पुर्याएको भन्दै सीजी मोटर्सलाई धन्यवाद दिए। उनले वातावरणमैत्री यातायात प्रवर्धनमा निजी क्षेत्रको यस्तो लगानी महत्त्वपूर्ण हुने बताए।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कोइरालाले पनि उपत्यकाबाहिर विद्युतीय सवारीको बजार विस्तारमा सीजी मोटर्सले खेलेको भूमिकाको प्रशंसा गरे। उनले यसले गण्डकी प्रदेशमा विद्युतीय सवारीप्रतिको आकर्षण अझ बढाउने विश्वास व्यक्त गरे।
सीजी मोटर्सले देशभर २६० भन्दा बढी चार्जिङ स्टेसनको सञ्जाल निर्माण गरिसकेको जनाएको छ। यही पूर्वाधारका कारण ग्राहकलाई सहज, पहुँचयोग्य र भरपर्दो चार्जिङ सेवा उपलब्ध भइरहेको कम्पनीको दाबी छ।
कार्यक्रमका सीजी मोटर्सका सहायक महाप्रबन्धक कञ्चन सिलवालले कम्पनीलाई नेपालको विश्वसनीय विद्युतीय सवारी प्रदायकमध्ये एक बनाउने आधार व्यापक चार्जिङ नेटवर्क र ग्राहक सेवा भएको बताए। उनले आगामी दिनमा पनि देशका विभिन्न सहरमा शाखा विस्तार गर्दै विद्युतीय सवारीको पहुँच अझ व्यापक बनाइने जानकारी दिए।
कार्यक्रममा नयाँ विद्युतीय सवारी खरिद गर्ने ग्राहकलाई सवारीको साँचो हस्तान्तरण पनि गरिएको थियो। कम्पनीले पोखरा आउटलेटलाई उपत्यकाबाहिर शाखा विस्तार अभियानको सुरुआतका रूपमा लिएको जनाएको छ।