काठमाडौं। नागरिक अगुवा तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार साँझ काठमाडौंको विशालनगरस्थित आफ्नै निवासमा उनको निधन भएको हो।
क्यान्सरबाट पीडित पाण्डे परिवारको साथमा रहेका बेला बितेका हुन्। पाटन अस्पतालमा लगिए पनि अवस्था गम्भीर भएपछि अन्तिम समय उनलाई घरमै ल्याइएको थियो। उनलाई करिब तीन महिनाअघि प्याङ्क्रियाजको क्यान्सर पुष्टि भएको थियो। गम्भीर उपचार नगराई दुखाइ कम गर्ने औषधि र नियमित हेरचाहका साथ घरमै विश्राम गरिरहेका थिए।
उनको अन्त्येष्टि शनिबार पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ।
२०४६ सालको जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा २०४७–२०४८ सम्म अर्थमन्त्री रहेका पाण्डेले अर्थतन्त्र सुधारका प्रयास गरेका थिए। त्यसअघि उनी नेपाल सरकारको प्रशासनिक सेवामा प्रवेश गरी अर्थसचिवसम्म पुगेका थिए। २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा नागरिक समाजको नेतृत्व गर्दै उनले लोकतन्त्र, सुशासन, मानव अधिकार, भ्रष्टाचार नियन्त्रण र उत्तरदायी शासनका पक्षमा निरन्तर आवाज उठाएका थिए। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्षसमेत रहेका उनले अर्थनीति, लोकतन्त्र र विकासका विषयमा नेपाली तथा अंग्रेजी भाषामा दर्जनौं पुस्तक लेखेका छन्।
उनको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पूर्वअर्थमन्त्री रामेश्वर खनालले नेपालको आर्थिक अध्ययन र नागरिक चेतनाको एउटा उज्यालो बत्ती निभेको बताएका छन्। उनले पाण्डेलाई केवल अर्थशास्त्री नभई सार्वजनिक विवेकको आवाजका रूपमा स्मरण गर्दै सरकारभित्र वा बाहिर जहाँ रहे पनि सत्यको पक्षमा उभिने निर्भीक र सिद्धान्तनिष्ठ व्यक्तित्व रहेको उल्लेख गरेका छन्।
खनालले पाण्डेको निधनले नेपालको बौद्धिक र नागरिक क्षेत्रमा ठूलो रिक्तता सिर्जना गरेको भन्दै उनले देखाएको मूल्य, इमान्दारिता र लोकतान्त्रिक चेतना आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बनेर रहने विश्वास व्यक्त गरेका छन्।