BIZMANDU
www.bizmandu.com

उपत्यकामा ट्राफिक जाम कम गर्न ६ अर्बको परियोजना प्रस्ताव, पहिलो प्राथमिकतामा २३ वटा चोक

२०८३ साउन १

उपत्यकामा ट्राफिक जाम कम गर्न ६ अर्बको परियोजना प्रस्ताव, पहिलो प्राथमिकतामा २३ वटा चोक
default


काठमाडौं। उपत्यकामा बढ्दो ट्राफिक जाम कम गर्न र सवारी व्यवस्थापन प्रभावकारी बनाउन १०७ वटा चोक सुधार गर्न प्रस्ताव गरिएको छ।

Tata
GBIME

काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान अन्तर्गत पहिलो चरणमा प्रमुख २३ वटा चोकलाई प्राथमिकता साथ स्तरोन्नति गर्न प्रस्ताव गरिएको हो। २०३२ सम्म २३ वटा र बाँकी ८४ वटा चोकलाई २०४० सम्म स्तरोन्नति गर्ने योजना अगाडि सारिएको छ।

प्राथमिकतामा परेका चोकमा कलंकी, टेकु, थापाथली, सुन्धारा, सिंहदरबार, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, चाबहिल, विमानस्थल, कोटेश्वर, जडीबुटी, ग्वार्को, गट्ठाघर, लोकन्थली, कौशलटार, सानोठिमी, ठिमी, सातदोबाटो, बल्खु, लैनचौर, डिल्लीबजार र केशरमहल छन्।

मास्टर प्लानअनुसार ती चोकमा समन्वित ट्राफिक सिग्नल प्रणाली जडान गरिनेछ। यस्तै पैदल यात्रुको हिंडाइको गति अनुसार पैदल सिग्नल पनि राखिनेछ। स्पष्ट रोड मार्किङ, राइट टर्न लेन र आवश्यक स्थानमा राइट टर्न पकेट पनि निर्माण गर्ने योजना छ।

ठूला चोकमा आकाशे पुल, बस स्टप व्यवस्थापन, पैदल यात्रुका लागि सुरक्षित रिफ्युज आइल्यान्ड, मिडियन तथा कर्ब र्‍याम्प निर्माण, सडक बत्ती जडान तथा ट्राफिक अनुगमनका लागि रोडसाइड सेन्सर र केन्द्रीय नियन्त्रण प्रणाली स्थापना गर्न प्रस्ताव गरिएको छ।

यस परियोजनाका लागि करिब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। ट्राफिक सिग्नल जडान गर्न २२ करोड, २३ चोक सुधार गर्न डेढ अर्ब, केन्द्रीय नियन्त्रण प्रणाली तथा सेन्सरलाई ५ करोड लाग्ने अनुमान गरिएको छ।

यसैगरी २०४० सम्म थप ट्राफिक सिग्नल बनाउन ८० करोड र बाँकी ८४ चोक सुधार २ अर्ब ७० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

यसबाहेक उपत्यकामा थप ४ ठूला पुल बनाउन प्रस्ताव गरिएको छ। ग्वार्को, धोबीखोला, कर्मनाशा र विष्णुमतिमा पुल निर्माणको प्रस्ताव गरिएको हो।