BIZMANDU
www.bizmandu.com

पूर्वअर्थमन्त्री विष्णु पौडेल विशेष अदालतको आदेशमा साधारण तारेखमा रिहा

२०८३ साउन १

पूर्वअर्थमन्त्री विष्णु पौडेल विशेष अदालतको आदेशमा साधारण तारेखमा रिहा
पूर्वअर्थमन्त्री विष्णु पौडेल विशेष अदालतको आदेशमा साधारण तारेखमा रिहा


काठमाडौं। पूर्वअर्थमन्त्री विष्णु पौडेल विशेष अदालतको आदेशमा साधारण तारेखमा रिहा भएका छन्।

Tata
GBIME

विशेष अदालतले शुक्रबार थुनछेक बहसपछि पौडेललाई साधारण तारेखमा छोड्न आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलविरुद्ध विहीबार २० करोड ९० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो।

विभागको पत्रका आधारमा पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। बिचौलिया दीपक भट्टसँगको कनेक्सनको आधारमा पौडेल अनुसन्धानमा तानिएका थिए।

अदालतले भट्टसँग पौडेलले लाभ लिएको खुल्न नसकेको भन्दै रिहा गर्न आदेश दिएको हो। ‘विष्णुप्रसाद पौडेलको सम्बन्ध, संलग्नता रहेको कुरा तत्काल प्राप्त प्रमाणहरूबाट खुल्न नसकेको, आरोपदाबीको कसुरमा यी प्रतिवादीले इन्कार रही बयान गरेको, यी प्रतिवादीको नाममा सहप्रतिवादी दिपक भट्टको वित्तिय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने समेत खुल्न नसकेको समेत अवस्था हुँदा उल्लिखित प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीको हकमा विशेष अदालत ऐन, २०५९ को दफा ७ को (ग)को अवस्था विद्यमान रहेको देखियो,’ आदेशमा भनिएको छ।

आदेश लगत्तै पौडेल अदालतबाट निस्किएका थिए।