काठमाडौं। वास्तविक ब्याजदर १.९३ प्रतिशत विन्दुले ऋणात्मक बनेको छ।
बैंक तथा वित्तीय संस्थाले दिने निक्षेपको औसत ब्याजदरको तुलनामा मुद्रास्फीतिदर (मूल्यवृद्धि) माथि जाँदा वास्तविक ब्याजदर ऋणात्मक बनेको हो। जसले बैंकबाट बचतकर्ताले पैसा निकाल्ने जोखिम बढेको छ।
वास्तविक ब्याजदर ऋणात्मक हुँदा यसले वस्तु तथा सेवा खरिद गर्ने बचतकर्ताको क्रयशक्ति संकुचित हुन्छ। कुनै बचतकर्ताले ५ प्रतिशत ब्याजदर पाउने गरी बैंकमा पैसा राखेको अवस्थामा वस्तु तथा सेवाको मूल्य ३ प्रतिशतले वृद्धि हुँदा उसले २ प्रतिशत वास्तविक ब्याजदर प्राप्त गर्छ।
तर, हाल मूल्यवृद्धि ५.२२ प्रतिशत र ब्याजदर ३.२९ प्रतिशत रहेकाले बचतकर्ताको वास्तविक ब्याजदर १.९३ प्रतिशत विन्दुले ऋणात्मक भएको अवस्था छ। जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले निक्षेपमा औसत ३.२९ प्रतिशत ब्याजदर दिइरहेकामा महँगी ५.२२ प्रतिशत पुगेको छ।
पछिल्लो एक वर्षमा घ्यू तथा तेलको मूल्य १५.१०, फलफूलको १७.४० र ढुवानी भाडा १५.३१ प्रतिशतले बढेको छ।
महँगीको तुलनामा ब्याजदर कम हुनु भनेको बचतको रियल भ्यालु लस हुनु हो। जसको असर दीर्घकालीन फण्डमा पर्छ। मूल्यवृद्धि भन्दा वास्तविक ब्याजदर तल आउनु अर्थतन्त्रका लागि राम्रो मानिंदैन।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले वास्तविक ब्याजदर नेगेटिभ हुनु अर्थतन्त्रका लागि राम्रो नभएको बताए।
‘डेभलपिङ इकोनोमीमा सप्लाई अफ फण्ड नै सेभिङ हो। सेभिङबाट नै लगानीमा लागि फण्ड उपलब्ध हुन्छ,’ उनले भने, ‘हाम्रो जस्तो मुलुकमा स्रोतलाई अपर्चुनिटीका रुपमा लिइने भएकाले वास्तविक ब्याजदर नकारात्मक हुनु राम्रो होइन।’
आर्थिक विविधता भएका देशमा उच्च प्रतिफल दिने उपकरण हुने हुँदा वास्तविक ब्याजदर ऋणात्मक हुँदा फरक पर्दैन। तर हामीकहाँ सर्वसाधारणका लागि लगानीको मुख्य ‘इन्सट्रुमेन्ट’ बैंकमा बचत हो।
तर, वास्तविक ब्याजदर ऋणात्मक हुँदा बचत घट्ने जोखिम हुन्छ।
‘अहिले रेमिटेन्सले डिपोजिट बढेको हो। वास्तविक ब्याजदर नेगेटिभ हुँदा बचतकर्ताले बचत घटाउने र उपभोगमा धेरै पैसा खर्च हुने हुन्छ,’ अर्थशास्त्री श्रेष्ठले भने, ‘त्यसैले सरकारले लगानीको वातावरणका साथै पुँजीगत खर्च बढाउँदै जानुपर्छ।’
गत आर्थिक वर्ष पहिलो पाँच महिनासम्म मुद्रास्फीति दर २ प्रतिशतभन्दा तल थियो। तर फागुनको मध्यमा अमेरिका-इरान युद्ध सुरु भएपछि इन्धन लगायत वस्तुको मूल्य अकासिंदा नेपालमा पनि एकाएक महँगी बढ्न पुग्यो। महँगी बढे पनि बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेकाले ब्याजदर तत्काल बढ्ने अवस्था छैन। अधिकांश बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर स्थिर रहखेका छन्। ६ वटा बैंकले त घटाएका छन्।
बाह्य क्षेत्रमा प्रभावित हुँदा आगामी दिनमा मुद्रास्फीतिमा थप दबाब पर्नेछ। इरानमाथि अमेरिकाले फेरि आक्रमण सुरु गरेका कारण आयातित वस्तु थप महँगिने छन्। भारतसँगको स्थिर विनिमय दरका कारण त्यहाँ हुने मूल्यृवृद्धिको असर नेपालमा समेत पर्छ।
भारतमा मूल्यवृद्धि बढिरहेकाले त्यसको असर विस्तारै नेपालमा देखिंदै जाने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्।
‘भारतमा मूल्यवृद्धि कम हुँदा विस्तारै हामीकहाँ पनि महँगी घट्छ। तर, अहिले भारतमा नै महँगी बढिरहेको छ,’ राष्ट्र बैंकका एक अधिकृतले भने, ‘त्यसकारण बाह्यसँगै आन्तरिक कारण पनि मूल्यवृद्धिमा सुधार भइहाल्ने देखिंदैन।’
सरकारले चालु आर्थिक वर्ष मुद्रास्फीति दर साढे ५ प्रतिशतमा राख्ने लक्ष्य लिएको छ। तर, चालु वर्षको बजेटमार्फत विभिन्न शीर्षकमा बढाएको करले महँगीलाई प्रोत्साहित गर्नेछ।
बचतकर्ता सक्रिय लगानीकर्ता नभएकाले उनीहरुले वास्तविक ब्याजदर ऋणात्मक हुँदा पैसा होल्ड गर्ने प्रवृत्ति बढ्न सक्ने राष्ट्र बैंकको बुझाइ छ। ‘वास्तविक ब्याजदर ऋणात्मक हुँदा बचतकर्ताले पैसा बैंकमा राख्ने भन्दा नगद होल्ड गर्ने सम्भावना हुन्छ,’ राष्ट्र बैंकका ती अधिकृतले भने, ‘सहकारी क्षेत्रमा समस्या देखिएकाले त्यता जाने अवस्था छैन। बचतकर्ताले सुन लगायत केही उपकरणमा लगानी बढाउनुका साथै उपभोगमा गर्ने खर्च बढ्छ।’