काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ता चप्पल उद्योगको प्रवर्धनका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले शुक्रबार जुत्ता उद्योगीहरुलाई छलफलमा डाकेर स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले तिनै तहको सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालनदेखि स्वदेशी जुत्ता चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताए।
प्रधानमन्त्रीले उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको सीमामा ट्र्याकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने र स्वदेशी उत्पादन प्रयोगमा विशेष जोड दिने बताएको उनको सचिवालयले जनाएको छ।
छलफलमा जुत्ता चप्पल उद्योग संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम र सांसद समेत रहेको उद्यवगी विदुषी राणा सहभागी थिए। उनीहरुले भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
यस्तै कर तथा भ्याटको दायराबाहिर रहेका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डलाई कानुनी दायरामा ल्याउन, गुणस्तरहीन तथा सस्तो जुत्ता चप्पलको आयात नियन्त्रण गर्न र आयातित जुत्ता चप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न पनि ध्यानाकर्षण गराएका थिए।