BIZMANDU
www.bizmandu.com

शिथिल रहेको घरजग्गा व्यवसायमा आशाको संचार, असारमा देखियो उछाल, राजस्व १२ अर्ब

२०८३ साउन १

शिथिल रहेको घरजग्गा व्यवसायमा आशाको संचार, असारमा देखियो उछाल, राजस्व १२ अर्ब
शिथिल रहेको घरजग्गा व्यवसायमा आशाको संचार, असारमा देखियो उछाल, राजस्व १२ अर्ब


काठमाडौं। लामो समयदेखि शिथिल रहेको घरजग्गा कारोबारमा उछाल देखिएको छ। गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना अर्थात असारमा घरजग्गा कारोबारबाट करिब १२ अर्ब रुपैयाँ राजस्व उठेको छ।

Tata
GBIME

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार असारमा ११ अर्ब ८४ करोड ५९ लाख ५५ हजार ५६ रुपैयाँ राजस्व संकलन भएको छ। यो रकम अघिल्ला महिनाहरुको तुलनामा सतप्रतिशत धेरै हो।

देशभरका भूमि प्रशासन कार्यालयले गत जेठमा ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार, वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार र चैतमा ६ अर्ब १६ करोड ५७ लाख ५० हजार राजस्व संकलन गरेका थिए।

अघिल्लो आर्थिक वर्षको असारमा पनि घरजग्गा कारोबारबाट ६ अर्ब ५५ करोड भन्दा राजस्व उठेको थिएन। आर्थिक वर्ष २०८०/८१ को असारमा त जम्मा ४ अर्ब ६१ करोड २५ लाख रुपैयाँ उठेको थियो।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले असारको कारोबारले घरजग्गा व्यवसाय उकालो लाग्ने संकेत गरेको बताए। ‘खस्किएको घरजग्गा कारोबार उकालो लागेको संकेत हो यो,’ अध्यक्ष घिमिरले भने, ‘कारोबार र राजस्व बढ्नु सरकार र हामी व्यवसायी दुवैका लागि खुसीको कुरा हो।’

महिनाघरजग्गा कारोबारबाट उठेको राजस्व
असार११ अर्ब ८४ करोड ५९ लाख ५५ हजार
जेठ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार
वैशाख ६ अर्ब २६ करोड ३८ लाख २९ हजार
चैत ६ अर्ब १६ करोड ५७ लाख
फागुन ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार
माघ५ अर्ब ९९ लाख २४ हजार
पुस५ अर्ब १७ करोड ३२ लाख १४ हजार
मंसिर४ अर्ब ८४ करोड ४१ लाख ५४ हजार
कातिक२ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९
असोज२ अर्ब ७५ करोड ८५ लाख ५७ हजार
भदौ३ अर्ब १४ करोड ७ लाख १६ हजार
साउन३ अर्ब २८ करोड ९१ लाख ३८ हजार
कुल५९ अर्ब ९६ करोड ८८ लाख २ हजार
स्रोत : भूमि व्यवस्थापन तथा अभिलेख विभाग

असारमा कारोबार ह्वात्तै बढे पनि कतिपय व्यवसायी भने उत्साहित देखिएका छैनन्।

साउन १ बाट कित्ताकाट नखुल्ने र लाभकर पनि बढेका कारण साउन, भदौमा हुने किनबेच पनि असारमै भएको हुनसक्ने ती व्यवसायीहरुको बुझाइ छ। ‘साउन र भदौमा हुने कारोबार पनि असारमै तानेको हुनसक्छ। किनभने अब कित्ताकाट कहिले खुल्छ थाहा छैन,’ एक व्यवसायीले भने।

सरकारले वर्गीकरण नगरेका स्थानीय तहकोमात्र कित्ताकाट रोक्ने जनाएको छ।

ती व्यवसायीका अनुसार लाभकर वृद्धि पनि असारमा घरजग्गा कारोबारमा उछाल आउनुको कारण हो। ‘साउनबाट लाभकर बढेको छ। यसले गर्दा व्यवसायीले असारमै कारोबार गरेको हुनसक्छ,’ उनले भने।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २०८३/८४ को बजेटमार्फत घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर साढे दुई प्रतिशत विन्दुले बढाएका छन्। घरजग्गा कारोबारमा यसअघि ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने गरेकामा साउनबाट अब ७.५ प्रतिशत पुगेको छ।

७० हजार ४८० लिखत पारित

आर्थिक वर्षको अन्तिम महिनामा ७० हजार ४८० लिखत पारित भएको छ। पोहोर असारमा जम्मा ४६ लाख १७९ लिखत पारित भएको तथ्यांक छ। आर्थिक वर्ष २०८०/८१ को असारमा भने ५५ हजार ५२४ लिखत पारित भएको थियो।

धेरै कारोबार इनरुवामा

असारमा सुनसरीको इनरुवामा सबैभन्दा धेरै घरजग्गा किनबेच भएको छ। विभागका अनुसार भूमि प्रशासन कार्यालय इनरुवामा झन्डै तीन हजार लिखत पारित भएको छ।

इनरुवामा २९०३ लिखत पारित भएको छ।

काठमाडौंका विभिन्न भूमि प्रशासन कार्यालयमा ४८२२ लिखत पारित भएको छ। मोरङका तीन वटा भूमि प्रशासन कार्यालयबाट ३४३४ लिखत पारित भएको तथ्यांक छ।

दाङका तीन वटा भूमि प्रशासन कार्यालयले ३८९५ लिखत पारित गरेका छन्। बाँके भूमि प्रशासन कार्यालयबाट २९३७ र झापाका दुई भूमि प्रशासन कार्यालयबाट २९२१ लिखत पारित भएको देखिन्छ।