BIZMANDU
www.bizmandu.com

मसान्तको अवेर रातिसम्म ऋणीले कुराउँछन् बैंकर, १० मिनेटमा आइपुग्छु भनेको ऋणी आइपुग्छन् १० घण्टापछि

२०८३ साउन १

मसान्तको अवेर रातिसम्म ऋणीले कुराउँछन् बैंकर, १० मिनेटमा आइपुग्छु भनेको ऋणी आइपुग्छन् १० घण्टापछि
मसान्तको अवेर रातिसम्म ऋणीले कुराउँछन् बैंकर, १० मिनेटमा आइपुग्छु भनेको ऋणी आइपुग्छन् १० घण्टापछि


काठमाडौं। आर्थिक वर्षको २०८२/८३ को अन्तिम दिन अर्थात बिहीबार राति अबेरसम्म बैंकहरुमा झलमल्ल बत्ति बलिरहेको थियो। बैंकका केन्द्रीय कार्यालय मात्रै नभएर शाखा कार्यालयका कर्मचारी पनि अबेरसम्म काममै थिए।

Tata
GBIME

बैंकका ब्रान्च म्यानेजर ऋणीको प्रतिक्षा थिए। सानो-सानो असुली हुने आशामा उनीहरु ९/१० बजेसम्म पनि ऋणीलाई पर्खिरहेका थिए। केन्द्रीय कार्यालयका कर्मचारी शाखा शाखाको हिसाब पर्खिरहेका थिए। मसान्तमा सबै शाखाको कारोबार ‘क्लोज’ गरेपछि मात्रै सम्पूर्ण कारोबार मिलान गरिन्छ।

भन्सारको राजस्व बुझ्ने शाखाको कारोबार राति १२ बजेसम्म चल्यो। नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तिलकराज पाण्डेयले राजस्व बुझ्ने शाखाको काम ११ बजेसम्म सकिने आकलन गरेकोमा त्यो भन्दा ढिला भएको बताए।

‘पहिले सबै शाखाको कारोबार क्लोज गर्नुपर्छ। ऋणीहरुले ९/१० बजेसम्म पनि ऋणको साँवा ब्याज भुक्तानी गरिरहेका थिए,’ सीइओ पाण्डेयले भने, ‘सबै शाखालाई आफ्नो शाखाको कारोबार राम्रो होस भन्ने हुन्छ नै। त्यसकारण कतिपय शाखाका साथीहरुले २०/३० लाख रुपैयाँका लागि ढिलोसम्म पर्खिनु भयो। सबै शाखा क्लोज भएपछि मात्रै हिसाबकिताब मिलान गरियो।’

बैंकका कर्मचारी ऋणीलाई राति अबेरसम्म पर्खिएर बसेको यो पहिलो पटक होइन। हरेक वर्ष मसान्तमा बैंकहरुमा उही दृष्य दोहोरिने गरेको छ। ऋणीहरुले साँवा ब्याज अन्तिम समयमा भुक्तानी गर्ने प्रवृत्ति रहेका कारण आर्थिक वर्षको अन्तिम दिन राति अबेरसम्म काम गर्नुलाई आफूहरुले सामान्य मान्न थालेको अर्का एक सीइओले बताए।

‘कतिपय ऋणीले साँवा ब्याज बुझाउन अन्य ठाँउबाट पैसा उठाउँछन्। सरकारको भुक्तानी लिएको हुन्छ। उनीहरुले पैसा हाल्दै हाल्दै आउँछन्,’ उनले भने, ‘ठूलो ठेकेदारले सानो ठेकदारलाई दिन्छ, उसले पेटी ठेकेदारलाई भुक्तानी गर्दै आउँछ। त्यो पैसा सिमेन्ट रड लगायत क्षेत्रमा गएर बल्ल बैंकमा आउँछ। जसले गर्दा ढिलाई हुन्छ।’

ऋणीहरुले मसान्तको अन्तिम समयमा सावाँ ब्याज तिर्ने प्रवृत्ति र सरकारी लगायत इलेक्ट्रोरिङ चेक क्लियरिङ (इसीसी) कारोबार रातिसम्म भए।

एनएमबि बैंकका सीइओ गोविन्द घिमिरेले पनि मसान्तका कारण बिहीबार राति अबेरसम्म कारोबार भएको बताए।

‘हामीकहाँ अझै पनि कर्जाको सावाँ ब्याज बुझाउन मसान्तको अन्तिम समयमा कुर्ने प्रवृत्ति छ,’ उनले भने, ‘अधिकांश लोनको सेडुल नै अन्तिम समयको हुने हुँदा त्यसले पनि मसान्तको अन्तिमतिर बढी चाप हुने गरेको हो। ऋणीले साँवा ब्याज बुझाउन बुझाउन आउँछु भनेपछि हामीले कुर्नैपर्‍यो।’

बैंकहरुले कर्जाको साँवा ब्याज उठाउन तालिका बनाएका हुन्छन्। बिजनेस लोनको साँवा ब्याज उठाउन प्राय: त्रैमासिकको अन्ततिरको तालिका बनाइएको हुन्छ।

व्यक्तिगत ऋण भने बैंक अनुसार फरक फरक समयमा असुल गर्ने सेडुल हुन्छ। कुनै बैंकले १० गते त कुनैले १५ वा कुनैले अंग्रेजी महिनाको १ तारिखमा उठाउने सेडुलिङ गर्ने गरेका छन्।

अधिकांश कर्जाको साँवा ब्याज मसान्तको अन्तिममा उठ्ने गरेको देखिन्छ। कतिपय ऋणीले लागत बढ्न नदिन अन्तिम समयमा भए पनि साँवा ब्याज भुक्तानी गर्ने गरेको सीइओ घिमिरेले बताए।

‘तालिका अनुसार साँवा ब्याज नतिर्दा ऋणीहरुलाई नै लागत बढ्छ। कसैले पनि आफ्नो लागत बढाउन चाहँदैन। त्यसैले ऋणीहरुले हामीलाई फोन गरेरै पनि साँवा ब्याज तिर्नु आउँदैछु भन्ने जानकारी गराएर कुराउने गर्नुभएको छ। जसले गर्दा मसान्तका बेला अबेरसम्म कार्यालयमा बस्नुपरेको हो,’ उनले भने।

मसान्तको अन्तिम समयमा ऋण उठ्दा बैंकिङ प्रणालीमा तरलता ह्वात्तै बढ्छ। पुरानो भुक्तानीका लागि सरकारले काटेको चेकको पैसा पनि बैंकिङ प्रणालीमा आउँछ। यसपालि मसान्तमा मात्रै बैंकिङ प्रणालीमा ३ खर्ब रुपैयाँ भन्दा बढी निक्षेप थपिएको छ।

मसान्तमा तरलतासँगै कर्जा लगानी पनि बढेको छ। दीर्घकालीन परियोजनामा ब्याजदर ‘क्यापिटलाइज’ गर्दा त्यसले कर्जा केही बढाएको अर्का सीइओले सुनाए।

‘मसान्तमा निक्षेपसँगै कर्जा बढ्नुको कारण दीर्घकालीन परियोजनामा ब्याजदर क्यापिटलाइज गर्नु हो। त्यसले कर्जा केही बढाउँछ,’ ती सीइओले भने,’ चालु पुँजी कर्जाको लिमिट खाली छ भने त्यसलाई रिपेमेन्टका लागि ऋणीले प्रयोग गर्छन्।’