BIZMANDU
www.bizmandu.com

खरानी भएका भाटभटेनी बनाउँदा थलिएका मीनबहादुर, ३७ दिन अस्पतालमा, के भएको थियो?


खरानी भएका भाटभटेनी बनाउँदा थलिएका मीनबहादुर, ३७ दिन अस्पतालमा, के भएको थियो?
खरानी भएका भाटभटेनी बनाउँदा थलिएका मीनबहादुर, ३७ दिन अस्पतालमा, के भएको थियो?


विराटनगर। जेनजी आन्दोलनका क्रममा जलाइएको भाटभटेनीका सुपरस्टोर धमाधम संचालनमा आएका छन्। असार १० गते बौद्धको भाटभटेनी सुपरस्टोर र असार २७ गते विराटनगरको सुपरस्टोर संचालनमा आयो।

Tata
GBIME

दुई सुपरस्टोर संचालनमा आउँदा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ भने देखिएनन्। बौद्धको भाटभटेनी उद्घाटनको पूजापाठमा उनका छोरा कल्याण गुरुङ र श्रीमती मात्रै थिए भने विराटनगरको भाटभटेनी उद्घाटनको दिनमा पूजापाठ गर्दा मीनबहादुरकी श्रीमती सावित्री गुरुङ मात्रै देखिएकी थिइन्।

जेनजी आन्दोलनपछि जलेका भाटभटेनी पुनर्निर्माणपछि बालुवाटारमा रहेको सेन्ट्रल वेयरहाउसदेखि कोटेश्वर र महाराजगंजको सुपरस्टोर उद्घाटनमा सहभागी भएका मीनबहादुर दुई स्टोर उद्घाटनमा किन सहभागी भएनन्?

जेनजी आन्दोलनमा भाटभटेनीका २८ मध्ये १२ संरचना खरानी भए। यसमा अर्बौंका सामग्री भण्डार गरिएको बालुवाटारस्थित वेयरहाउस पनि थियो । बाँकी विभिन्न स्थानका सुपरस्टोर थिए।

यतिविधि सम्पत्ति खरानी हुँदा पनि गुरुङ आत्तिएनन्, डगमगाएनन्।

तत्काल उनले घोषणा गरेका थिए- हामी खरानीबाट छिटै उठ्नेछौँ। वेयरहाउससहित सबै संरचनाको पुनर्निर्माण द्रुत गतिमा गर्नेछौँ। र, भाटभटेनीका कुनै कर्मचारीलाई पनि अवकाश दिनेछैनौँ।

यसपछि मीनबहादुर थामिएनन्। हरेक दिन बिहान ४ बजे उठेपछि उनको उक्त घोषणालाई मूर्त रूप दिन उनको तत्परता र सक्रियता सुरु भइहाल्थ्यो।

यसबीच, उनी आफ्नै सन्तानजस्ता संरचनाका खरानीसित जुधे, धुँवा र धुलोका माझमा काम गरिरहे। धेरैजसो उनी पुनर्निर्माण भइरहेका संरचनास्थलमा काम गरिरहेका श्रमिककै मेसमा खाना खान्थे। भोक, प्यास, जाडो, गर्मी, पानी केहीको मतलब गरेनन्।

जेनजीले जुन जोशले उनका १२ वटा संरचना खरानी बनाएका थिए तिनको पुनर्निर्माणका लागि त्योभन्दा बढी जोश मीनबहादुरले देखाए।

उमेरले ६८ पार गरिसकेको उनको कामप्रतिको जोश, जुनुन र ज्याद्रोपनसँगै स्वास्थ्य समस्या आइरहेका थिए।

धपेडी, खानपिनको अनियमितता, धुवाँधुलो र खरानीले गुरुङ भित्रभित्रै बिरामी परिरहँदा पनि कामलाई निरन्तरता दिइरहेका थिए। तर, ५ साताअगाडि स्वास्थ्य जाँच गराउँदा हेमोग्लोबिन चारमा झरिसकेको रहेछ। न्यूनतम पनि हेमोग्लोबिन १३ हुनुपर्छ।

४७ लाख हुनुपर्ने रातो रक्तकोष (आरबीसी) पनि अत्यन्त कम थियो । उनलाई रक्तअल्पताको डाइग्नोसिसन भयो।

चिकित्सकहरू पनि अच्चम हुँदै भनेका थिए- ‘यस्तो हुँदा पनि काम गरिरहन कसरी सक्नुभयो?’

चिकित्सकले तत्कालै भर्ना भएर उपचार गर्नुपर्ने राय दिए। उनी तत्कालै त्रिभुवन शिक्षण अस्पतालमा भर्ना भए।

गुरुङ ३७ दिनपछि शुक्रबार त्रिवि शिक्षण अस्पताल महाराजगंजबाट डिस्चार्ज भएका छन्।

‘अस्पताल भर्ना हुनुभन्दा एकडेढ महिनादेखि नै म आफूलाई कमजोर अनुभव गरिरहेको थिएँ। कान बज्न थालेका थिए। थकान हुन्थ्यो। कामको प्रेसरले होला भनेर त्यत्ति वास्ता गरिनँ,’ गुरुङले बिजमाण्डूसँग भने।

तर, एकदिन उनले यसलाई रेसिस्ट गर्न सकेनन्।

‘रिँगटा ज्यादै लाग्यो र बस्न उठ्न पनि गाह्रोजस्तो भयो। र, अन्ततः उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुगेँ,’ उनले भने।

मीनबहादुरलाई विदेशमा उपचार गराउन सुझाव दिनेहरू पनि धेरै नै थिए। पैसाले नपुग्दो केही थिएन। तर, उनी विदेश त गएनन् नै अझ सरकारी अस्पतालमै उपचार गराएर फर्किए।

‘यसबीच धेरै साथीभाइ, आफन्त र मेरा कर्मचारी मित्रहरूले देशबाहिर गएर उपचार गराउन सल्लाह दिनुभयो। कतिपयले धेरैपटक दबाबजस्तो पनि गर्नुभयो। म ५/७ करोड खर्च गरेर युरोप, अमेरिका, सिंगापुर, भारत कतै गएर उपचार गराउन सक्थेँ होला। तर, मलाई मेरै देशका डाक्टरसित विश्वास थियो। त्यसैले यहीँ उपचार गर्ने निधो गरेँ,’ गुरुङले सुनाए।

उनको उपचार त्रिवि शिक्षण अस्पतालका हेमाटोलिजिस्ट डा. अञ्जन श्रेष्ठ र कार्डियोलोजिस्ट डा. चन्द्रमणि पौडेलका नेतृत्वमा सुरु भयो। अमेरिकाबाट औषधि मगाइयो तर उपचार टिचिङकै डाक्टरले गरे।

त्यसो त यस अस्पतालसित उनको भावनात्मक सम्बन्ध पनि जोडिएको छ। उनले यस अस्पतालमा आफ्ना स्वर्गीय पिता वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङका नाममा ११ करोडका लागतमा आकस्मिक उपचार कक्ष बनाइदिएका छन्।

‘निरन्तरको उपचारपछि आज हेमोग्लोबिन ७ मा आइपुगेको छ र आरबीसी पनि बढेको छ। डाक्टरले अब कम्तीमा ३ महिना घरमै आराम गरेर बस्नू, भरसक आइसोलेसनमा बसेर कसैलाई नभेट्नू भन्ने सल्लाह दिनुभएको छ। यसरी म आज डिस्चार्ज भएको छु,’ उनले भने।

काम नगरी बस्न नसक्ने मीनबहादुरका लागि ३७ दिन नै धेरै भइसकेको छ। अझ ३ महिना कसरी कटाउने उनलाई चिन्ता छ।