BIZMANDU
www.bizmandu.com

राष्ट्रिय परिचयपत्र नहुँदा एनआरएनको बैंक खाता रोक्न नहुने, परराष्ट्रले विभागलाई लेख्यो पत्र

२०८३ साउन १

राष्ट्रिय परिचयपत्र नहुँदा एनआरएनको बैंक खाता रोक्न नहुने, परराष्ट्रले विभागलाई लेख्यो पत्र
राष्ट्रिय परिचयपत्र नहुँदा एनआरएनको बैंक खाता रोक्न नहुने, परराष्ट्रले विभागलाई लेख्यो पत्र


काठमाडौं। राष्ट्रिय परिचयपत्र नहुँदा गैरआवासीय नेपाली (एनआरएन) नागरिकले बैंक खाता खोल्न र संचालन गर्न समस्या भोगिरहेको भन्दै परराष्ट्र मन्त्रालयले सहजीकरण गर्न आग्रह गरेको छ।

Tata
GBIME

मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई बैंक तथा वित्तीय संस्थामा आवश्यक निर्देशन र परिपत्र जारी गर्न अनुरोध गरेको हो।

मन्त्रालयका अनुसार गैरआवासीय नेपाली संघ र विभिन्न नागरिकबाट राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकै कारण बैंकिङ सेवा लिन कठिनाइ भएको भन्दै पटक-पटक गुनासो आएको छ। बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान (केवाइसी) का लागि राष्ट्रिय परिचयपत्र अनिवार्य माग गरेपछि यस्तो समस्या देखिएको मन्त्रालयले जनाएको छ।

नेपाल सरकारको २०८१ जेठ २४ गतेको मन्त्रिपरिषद् निर्णय र २०८१ असार १० गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएको छ। यही व्यवस्थाको आधारमा बैंकहरूले पनि केवाइसीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न थालेका हुन्।

तर, विभागले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका नेपाली नागरिक तथा गैरआवासीय नेपाली परिचयपत्र (एनआरएन कार्ड) भएका नेपाली मूलका विदेशी नागरिकलाई राष्ट्रिय परिचय नम्बर जारी गर्ने कुनै व्यवस्था वा अभ्यास हालसम्म लागू गरेको छैन। यसका कारण उनीहरू बैंकिङ सेवाबाट वञ्चित हुने अवस्था बनेको मन्त्रालयले उल्लेख गरेको छ।

परराष्ट्र मन्त्रालयले नेपाल राष्ट्र बैंकको एकीकृत परिपत्र २७/२०८२ ले भने ग्राहक पहिचानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक कागजात स्वीकार गर्न सकिने व्यवस्था गरेको स्मरण गराएको छ। परिपत्रको अनुसूची-१ मा नागरिकता, राष्ट्रियता खुल्ने परिचयपत्र, राहदानी तथा प्रवेशाज्ञालाई समेत ग्राहक पहिचानका आधारका रूपमा स्वीकार गर्न सकिने उल्लेख छ।

यही कानुनी व्यवस्थालाई आधार मान्दै मन्त्रालयले गैरआवासीय नेपाली नागरिकता, एनआरएन परिचयपत्र, राहदानी वा प्रवेशाज्ञाजस्ता राष्ट्रियता खुल्ने परिचयपत्रका आधारमा केवाइसी गरी बैंक खाता खोल्न र संचालन गर्न दिनुपर्ने जनाएको छ। यसका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन जारी गरी व्यवहारिक सहजीकरण गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग मन्त्रालयले अनुरोध गरेको छ।