BIZMANDU
www.bizmandu.com

केन्द्रले छाप्यो ‘ब्याकलग’को २७ लाख लाइसेन्स, नयाँ लाइसेन्स अब २४ घण्टाभित्रै छापिने

२०८३ असार ३२

केन्द्रले छाप्यो ‘ब्याकलग’को २७ लाख लाइसेन्स, नयाँ लाइसेन्स अब २४ घण्टाभित्रै छापिने
केन्द्रले छाप्यो ‘ब्याकलग’को २७ लाख लाइसेन्स, नयाँ लाइसेन्स अब २४ घण्टाभित्रै छापिने


काठमाडौं। सुरक्षण मुद्रण केन्द्रले ब्याकलगमा रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइको काम सकेको छ। केन्द्रले यातायात व्यवस्था विभागबाट प्राप्त विवरणका आधारमा २७ लाख स्मार्ट लाइसेन्स छापेको हो।

Tata
GBIME

लाइसेन्स छपाइको ‘ब्याकलग’ पूर्णरूपमा अन्त्य भएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। मन्त्रालयले बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार अब विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै नयाँ लाइसेन्स छपाइ गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

लाइसेन्स छपाइका लागि केन्द्र र विभागबीच गत कात्तिक १२ गते भएको सम्झौता भएको थियो। सम्झौता अनुसार पहिलो चरणमा निर्धारित समयभित्र १२ लाख स्मार्ट लाइसेन्स छापिएको थियो। त्यसपछि गत वैशाख ४ गते थप १५ लाख लाइसेन्स छाप्न सम्झौता गरिएको थियो। दोस्रो चरणको सम्झौता अनुसार लाइसेन्स छाप्ने काम बिहीबार सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

केन्द्रले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा नवीकरण गरेका सेवाग्राहीको विभागबाट दैनिक प्राप्त हुने करिब तीन हजारदेखि पाँच हजार विवरणका आधारमा २४ घण्टाभित्रै स्मार्ट लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गर्दै आएको पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार केन्द्रमार्फत् अब सातै प्रदेश सरकार तथा सम्बन्धित यातायात मन्त्रालयसँग समन्वय गरी सवारी लाइसेन्स छपाइसम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको छ।

केन्द्रले अब लाइसेन्सका अलावा नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, हुलाक टिकट तथा जग्गाधनी प्रमाणपत्रलगायत अन्य सुरक्षण मुद्रण सामग्री पनि छाप्ने तयारी गरिरहेको छ।