BIZMANDU
www.bizmandu.com

सरकारी खर्चमा भएन प्रगति, चालुतर्फ ८८.५१ प्रतिशत बजेट सकिंदा पुँजीगततर्फ आधाभन्दा कम

२०८३ असार ३२

सरकारी खर्चमा भएन प्रगति, चालुतर्फ ८८.५१ प्रतिशत बजेट सकिंदा पुँजीगततर्फ आधाभन्दा कम
सरकारी खर्चमा भएन प्रगति, चालुतर्फ ८८.५१ प्रतिशत बजेट सकिंदा पुँजीगततर्फ आधाभन्दा कम


काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ मा कुल ८०.६२ प्रतिशत खर्च भएको छ। चालु आवका लागि सरकारले पोहोर १९ खर्ब ६४ अर्बको बजेट ल्याएकामा आवको अन्तिम दिनसम्म १५ खर्ब ८३ अर्ब ४२ करोडमात्रै खर्च भएको हो।

Tata
GBIME

सरकारको आम्दानी र खर्चको हिसाबकिताब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालुतर्फ ८८.५१ प्रतिशत खर्च भएको छ।

चालुतर्फ ११ खर्ब ८१ अर्ब बजेट छुट्याइएकामा १० खर्ब ४५ अर्ब खर्च भएको छ। गत वर्ष चालुतर्फ ९५ प्रतिशत बजेट खर्च भएको थियो।

चालु आवमा विकास खर्च पनि घटेको छ। गत वर्ष विनियोजित रकममध्ये ६३ प्रतिशत खर्च भएकामा यो वर्ष ४६.७९ प्रतिशतमा सीमित छ।

चालु आवमा पुँजीगत शीर्षकमा १ खर्ब ९० अर्ब खर्च भएको छ, जबकि ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो।

ऋण भुक्तानीमा भने गत वर्षभन्दा सुधार भएको छ। वित्तीय व्यवस्थातर्फ गत आवमा ८७ प्रतिशत खर्च भएकामा यो वर्षको खर्च ९२.५६ प्रतिशत पुगेको छ।

चालु आवमा सरकारले वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७५ अर्ब बजेट विनियोजन गरेकामा आवको अन्तिम दिनसम्म आइपुग्दा ३ खर्ब ४७ अर्ब ३३ करोड खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

राजस्व लक्ष्यको ८२.७२ प्रतिशत संकलन भएको छ। राति १२ बजेसम्म संकलन हुने रकम थपिंदा यो प्रतिशत बढ्ने कार्यालयले जनाएको छ। गत आवमा लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन भएको थियो।

२०८१/८२ मा सरकारले कुल ८१.८७ प्रतिशत बजेट खर्च गरेको थियो।