काठमाडौं। डोल्पाको त्रिपुरा सुन्दरी-१ स्थित त्रिरुपाकोटबाट स्रोत नखुलेको ५५ लाख ९० हजार नेपाली रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्रोत नखुलेको रकम ओसारपसार रोक्न नेपाल प्रहरी र सशस्त्रको टोली संयुक्त अपरेसनमा थियो। ठुलीभेरी-३ दुनैबाट सोही नगरपालिका–७ छ्ल गाउँतर्फ जाँदै गरेको भे १३ प ९२६५ मोटरसाइकललाई शंका लागि जाँच गर्दा स्रोत नखुलेको रकम भेटिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक विनयकुमार सिंहले बताए।
प्रहरीले ठुलिभेरी नगरपालिका–७ बस्ने ३२ वर्षीय विष्णुलाल रोकाया र ४२ वर्षीय भक्तिचन्द्र रोकायाले बोकेको झोलामा पैसाको गड्डी फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएको छ। उनीहरूले रकमको स्रोत खुलाउन सकेका छैनन्।
‘उनीहरू यार्सागुम्बाको कारोबारी भएको देखिन्छ। तर कुनै पनि फर्म वा कम्पनी केही पनि अहिलेसम्म खुलेको छैन,’ निरीक्षक सिंहले भने। प्रहरीले बिहीबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने भएको छ।