BIZMANDU
www.bizmandu.com

सुशासनका लागि बालेनलाई भोट हालेका उद्यमी सरकारसँग त्रसित, ‘नयाँ लगानी नगर्ने, भएको झिक्ने’

२०८३ असार ३२

सुशासनका लागि बालेनलाई भोट हालेका उद्यमी सरकारसँग त्रसित, ‘नयाँ लगानी नगर्ने, भएको झिक्ने’
सुशासनका लागि बालेनलाई भोट हालेका उद्यमी सरकारसँग त्रसित, ‘नयाँ लगानी नगर्ने, भएको झिक्ने’


काठमाडौं। गत चैत १३ गते उनी पनि उत्साहित हुँदै नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण हेर्न शीतलनिवास पुगेका थिए। बाउबाजेले बोकेको राजनीतिक पहिचान बिर्सिएर उनको परिवारले वालेन्द्र शाह प्रधानमन्त्री बनुन् भनेर यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिएको थियो।

Tata
GBIME

नभन्दै रास्वपाले झण्डै दुई तिहाइ बहुमत ल्यायो। उनको चाहना पूरा भयो- बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भए। त्यसैको सेलिब्रेसन गर्न उनी पनि व्यवसायीको पास बोकेर शीतलनिवास पुगेका थिए।

कांग्रेस-एमाले र माओवादीका तीन शीर्ष नेताले सत्तालाई वर्षौंदेखि पालैपालो साटासाट गरेको देखेर हजारौं नेपाली परिवारजस्तै उनी पनि आजित भएका थिए। हरेक चुनावमा कांग्रेसलाई भोट दिएको उनको परिवारले रास्वपाको नारा जस्तै मत बदल्यो। बालेन्द्र आएपछि सुशासन कायम हुन्छ, अर्थतन्त्र गतिशील हुन्छ र राजनीति पनि अलिक सफा हुन्छ भन्ने उनले ठानेका थिए।

सुरुका दिनहरूमा सरकारको कामले उनी उत्साहित भए। शासकीय सुधार भनेर कार्यक्रम घोषणा भएका थिए। कुनै सरकारले छुन सक्दैन भनिएका ‘वित्तीय अपराधी’ कानुनको कठघरामा उभिएका थिए। सरकारी कार्यालयमा हुने ढिलासुस्ती हराउन थालेको थियो।

यहीबीचमा सरकारले केही आलोकाँचो काम गर्‍यो। आममान्छेको कति लगानी भएको छ भन्ने नबुझी ब्रिजकोर्स बन्द गराइयो। कार्यालयमा बसिरहेको निर्माण व्यवसायीलाई प्रहरी लगाएर उठाइयो। उनी खिस्रिक्क परे। तर, युवाहरूको सरकार भएकाले चाँडो रिजल्ट खोज्दा आलोकाँचो काम भएको हो भनेर उनले मन बुझाइरहेका थिए।

नयाँ सरकारले ल्याउने बजेटले अपार संभावनाको ढोका खोल्छ भन्नेमा उनी विश्वस्त थिए। उनको अपेक्षा जेठ १५ पछि पूर्ण रुपमा ढल्यो। बजेटले उनलाई उत्साहित बनाएन। त्यसअघिबाटै हुन थालेको धरपकडबाट आत्तिन थालेका उनी अहिले पूर्ण रुपमा निराश भएका छन्।

पारिवारिक व्यावसायिक पृष्ठभूमि बाहिरका उनले १० वर्षयता साझेदारीमा १५ अर्ब रुपैयाँभन्दा धेरै कारोबार गर्ने विभिन्न कम्पनी बनाएका छन्। जलविद्युत्, सिमेन्ट, पुँजी बजार, मदिरा उद्योगसम्म लगानी विस्तार गरेका उनले जलविद्युत् क्षेत्रमा थप दुई वटा ठूला परियोजना ल्याउन खोजिरहेका थिए।

‘अब म केही वर्ष केही पनि गर्दिनँ। केही गर्‍यो भने आँखामा परिन्छ। आँखामा परेपछि यहाँ सिध्याइन्छ,’ उनले निराशा पोखे।

सरकारले सुशासनका लागि भनेर स्वेच्छाचारी ढंगले कानुनको दूरुपयोग गरिरहेको देखेपछि उनी निराश भएका हुन्। वित्तीय अपराधमा मुछिएका केही व्यक्तिसँगै अन्यलाई पनि पुरानो रिसरागमा सरकारले उठाइरहेको उनको बुझाइ छ।

कुनै संस्थामा संचालक भएका आधारमा बैंक खातादेखि सम्पत्ति रोक्कासम्म गर्न थालिएपछि उनी लगानी गर्न डराएका हुन्। जुनसुकै व्यवसायीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)देखि अन्य सरकारी एजेन्सीको तरबार झुन्डाइएको छ।

‘विगतमा आफू ठूलो हुँदै गर्दा केही नजानेर गल्ती गरिएको रहेछ भने पनि त्यसैलाई बहाना बनाएर थुनिने अवस्था छ,’ उनले सुनाए, ‘अनि कसरी लगानी गर्ने?’

३ वटा कम्पनीको साधारण सेयर निष्कासन गर्ने तयारीमा रहेका उनी अब बैंक ऋण घटाएर लैजाने रणनीतिमा छन्। यो कथा उनको मात्र होइन, १०/१२ वर्षयता आफूलाई व्यवसायीका रुपमा उभ्याएका थुप्रै युवाहरूको हो।

भेञ्चर क्यापिटलदेखि सेयर ब्रोकर कम्पनीसम्ममा लगानी गरेका अर्का युवाले १०/१२ वर्षमा आधा दर्जन कम्पनी संचालन गरी अनुभव व्यवसायीका रुपमा रुपान्तरण गरिसकेका छन्। उनले साथीभाइसँग मिलेर रिसोर्ट, उत्पादनमूलक उद्योग, औषधि उद्योग खरिद गरेर चलाएका छन्। लामो समय बन्द भएको त्यो उद्योगलाई उनले संचालन मात्र गरेनन्, निरन्तर नाफामा पनि लगेका छन्।

‘बजारमा यस अवधिमा सयौं मान्छेले उद्योगी बन्छु, लगानीकर्ता बन्छु भनेर काम गरे। तर, सफल त १० जना भएका होलान्,’ उनले भने, ‘ती सफल मात्र भएनन्, लामो मिहेनतले अनुभवी पनि भएका छन्।’

‘अब मैले थप काम नगर्ने हो भने मेरो मिहेनत मर्छ। यसले उद्यमी बन्ने एउटा पुस्ताको अन्त्य हुन्छ। जसले देशलाई घाटा लाग्छ’ भन्ने उनी अहिले त्रसित बनेका छन्।

डरको माहोल व्यवसायीलाई उठाएर मात्र बनेको होइन। उनी सरकारकै मान्छेले कानुन मिचेर स्वेच्छाचारी ढंगले काम गरेको देख्दा डराएका हुन्। नियम कानुन एकातिर छ। सरकारका मान्छेसँग आफ्ना कुरा राखौं न भन्दा भेट हुँदैन। सचिवदेखि अख्तियार प्रमुखसम्मलाई थुन्यो भन्ने समाचार आउँछ। मन्त्रीलाई नै थुन्न निर्देशन दिएको कुरा बाहिरिन्छ।

‘यहाँ त सनकका भरमा जसले जे पनि गर्छ भन्ने स्थापित भएको छ,’ उनले भने, ‘पैसै नहुने त डराउनु पर्ने अवस्था छ, मसँग त करोडौं ऋण छ। ऋण भएको मान्छे यस्तो माहोलमा झन् धेरै डराउने रहेछ।’

उनको सर्कलमा रहेका धेरै जना ‘लो प्रोफाइल’मा बस्ने र भएको व्यवसाय धान्ने गरी मात्र काम गर्ने पक्षमा छन्।

‘नेपालमा विरासत (व्यवसाय गरिरहेको पुस्ताभन्दा) बाहिरबाट उद्यमी बल्ल जन्मिन थालेका थिए। अब उनीहरू तर्सिएका छन्,’ उनले भने, ‘उद्यमी बन्छु भन्ने अर्को पुस्ता जन्मिन त धेरै पो समय लाग्छ त।’

अहिले मारवाडी समुदायका धेरै व्यवसायीले आफ्नो लगानी झिक्न थालेका छन्। त्यसको असर सेयर बजारमा देखिएको छ।

‘तस्करी गर्नेले त सधैं गर्छ,’ अर्का एक व्यवसायीले भने, ‘तर, राम्रो काम गरिरहेकाहरू पनि डराएर लगानी झिक्ने अवस्थामा पुग्नु भनेको देशका लागि धेरै नराम्रो कुरा हो।’

उनका अनुसार पहिले स्थापनमा गइसकेका, अन्तिम चरणमा रहेका उद्योग-परियोजना आउँछन्। तर, त्यसलाई विस्तार वा नयाँ लगानी गर्ने गरी चाहिँ कोही पनि आउँदैन।

‘विगतमा नयाँ सरकार आएपछि लगानीकर्तामा अभूतपूर्व उत्साह आउँथ्यो। यसपालि केही पनि देखिएको छैन। जो पनि ठोक्ने पेल्ने मात्र कुरा गर्छ,’ उनले सुनाए, ‘विदेशी नियोगदेखि लगानीकर्तासम्मलाई नटेर्ने अवस्था छ भनेपछि स्थानीय उद्यमीलाई कसले गन्ने?’

धेरै व्यवसायीलाई सरकारभित्रकै सदस्यहरूबीच पनि समन्वय छ भन्ने लाग्दैन। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘हामी पहिले सुन्छौं अनि गल्ती रहेछ भने थुन्छौं’ भनेर केही व्यवसायीसँग फोटो खिचाएका थिए। तर, केही दिनमा त्यो फोटोभित्रका व्यवसायी पक्राउ पर्न थाले।

अर्थमन्त्री आफूले ‘इनिसियसन’ लिएर कुनै कुराको गाँठो फुकाउन सक्ने अवस्थामा नरहेको बुझाइ उद्यमीहरूको छ। उद्योगमन्त्रीलाई त प्रधानमन्त्रीले नै रातारात पक्राउ गर्ने निर्देशन दिएको खबर आयो।

‘सबैभन्दा ठूलो कुरा सुरक्षा हो र लगानी डुब्दैन भन्ने विश्वास हो,’ उनले सुनाए, ‘अहिले त्यही कुरा छैन। सरकारसँगै डर छ। ऋण लिएर व्यवसाय गर्नु छ, यसले ऋण चलायो भनेर थुन्ने अवस्था छ।’

उनका अनुसार देशमा स्थापित उद्यमी डराएका छन्, केही वर्षयता उद्यमी बनेकाहरू आत्तिएका छन्। यस्तो भएपछि नयाँ त को आउला र?