BIZMANDU
www.bizmandu.com

मनसुनी प्रणाली बलियो बन्दा धेरै स्थानमा वर्षाको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान

२०८३ असार ३२

मनसुनी प्रणाली बलियो बन्दा धेरै स्थानमा वर्षाको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान
मनसुनी प्रणाली बलियो बन्दा धेरै स्थानमा वर्षाको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान


काठमाडौं। देशभर मनसुनी वायु सक्रिय रहेकाले आज दिनभर बदलीसँगै धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही क्षेत्रमा मेघगर्जन, चट्याङ र भारी वर्षाको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

Tata
GBIME

महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ।

कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। त्यस्तै, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईका एक/दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।

बिहीबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा राति पनि वर्षा हुने सम्भावना छ। मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका पहाडी र तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाल, पहाड र तराईका एक/दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। लगातार वर्षा हुने क्षेत्रमा नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा केही उत्तरतर्फ तराई नजिक छ भने पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मनसुनी गतिविधि अझ सक्रिय बनेको मौसमविद्ले बताएका छन्।