काठमाडौं। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। आज अमेरिकाको एटलान्टास्थित एटलान्टा स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले अवसर सिर्जना गर्न संघर्ष गरे पनि गोल गर्न सकेनन्।
दोस्रो हाफमा इङ्ग्ल्याण्डले खाता खोल्यो। खेलको ५५औं मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि खेल आफ्नो पक्षमा राखेको इंग्ल्यान्ड अन्तिम पाँच मिनेटमा भने दबाब थेग्न असफल भयो।
८५औं मिनेटमा कप्तान मेस्सीको पासमा एन्जो फर्नान्डेजले २५ यार्ड टाढाबाट शानदार प्रहार गर्दै खेल बराबरीमा ल्याए।
इन्जुरी समयको दोस्रो मिनेटमा फेरि मेस्सी नै नायक बने। उनले बक्सभित्र चिप पास मिलाइदिएपछि सुपर सब लाउटारो मार्टिनेजले हेडमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २-१ गोलको रोमाञ्चक जित दिलाए।
योसँगै मेस्सीले प्रतियोगितामा आफ्नो प्रभावशाली यात्रा निरन्तरता दिएका छन्। खेलको अन्तिम समयमा इंग्ल्यान्डले बराबरी गोलका लागि निरन्तर प्रयास गरे पनि अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको अग्रता जोगाए।
जितसँगै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि युरोपियन च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
यता थोमस टुचेलको प्रशिक्षणमा रहेको इंग्ल्यान्ड भने फाइनल पुग्ने सपना अधुरै छाड्दै प्रतियोगिताबाट बाहिरिएको छ। इंग्ल्यान्डले दोस्रो हाफमा अग्रता लिए पनि अन्तिम समयमा दुई गोल खाँदा विश्वकप यात्रा सेमिफाइनलमै टुंगिएको हो।