काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरिएको नियामकीय प्रबन्धहरुलाई कार्यान्वयन गर्न बुधबार निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले सेयर धितो कर्जामा विशेष ब्यवस्था मिलाएको छ।
धितोपत्र विनिमय बजारमा सूचिकृत संस्थाको सवलताको आधारमा कर्जा प्रवाहको लागि बैंक तथा वित्तीय संस्थाले प्रडक्ट पेपर बनाउँदा ६ वटा सूचकमा ध्यान दिनु पर्ने छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट प्रकाशित पछिल्लो १८० दिनको अन्तिम मूल्यको औषत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको ७० प्रतिशतसम्म ऋण दिन सक्ने विद्यमान व्यवस्थामा सवलताको आधारमा त्योभन्दा बढि पनि ऋण दिन सकिने भएको छ।
यसको १० प्रतिशत बिन्दुभन्दा बढि ऋण दिन सकिने ब्यवस्था गरिएको हो। यसका लागि चुक्ता पुँजीको आकार, धितोपत्र सूचिकरण भएको न्यूनतम अवधि, नाफामा रहेको वा लाभांस वितरण गरेको अवस्था र समयावधि, क्रेडिट रेटिङ, नियामकीय व्यवस्थाको पालना, नियमित साधारणसभा सम्पन्न भए/नभएको हेरर १० प्रतिशत ऋण बढि दिन पाइने व्यवस्था गरिएको हो।
बैंक तथा वित्तीय संस्थाले तयार पारेको प्रडक्ट पेपर भने वेवसाइटमा राख्नु पर्ने हुन्छ।