काठमाडौं। बजारमा बर्ड फ्लुको संक्रमण फैलिएको मौका छोप्दै व्यापारीले खसीको मूल्य ह्वातै बढाएका छन्।
खसीको मूल्य बढेको कारण देखाएर व्यापारीहरुले काठमाडौं उपत्यकामा मासुको भाउ किलोमै ४०० रुपैयाँसम्म बढाएका छन्।उपत्यकामा खसीको मासु मूल्य प्रति केजी १६५० रुपैयाँसम्म पुगेको छ।
उपत्यकामा सामान्यतया दसैंका बेला खसीको भाउ बढ्ने गरेकामा अहिले बर्ड फ्लु राम्रो मौका बनेको छ।
सामान्य समयमा जिउँदो खसी प्रति केजी ६०० रुपैयाँका दरले पाइने गरेकामा अहिले किलोमै २५० रुपैयाँसम्म बढाइएको छ। दसैंका बेला समेत प्रति किलो भाउ ७०० रुपैयाँ भन्दा बढी नरहेकामा अहिले ८५० रुपैयाँ पुर्याइएको छ।
कोल्ड स्टोर व्यवसायीहरुका अनुसार कुखुरामा बर्ड फ्लुका कारण खसीको मासुको माग बढेका कारण पनि भाउ अकासिएको हो। बी एण्ड बी फ्रेस हाउसका संचालक देव गिरीले उपभोक्ताहरु अहिले कुखुराबाट खसीमा सिफ्ट भएका कारण मासु महँगिएको बताए।
‘अहिले भारतबाट खसीबोका आएको छैन। स्वदेशी उत्पादनले बजारको माग धान्न गाह्रो भइरहेको छ। तर खसीको मासुको माग भने बढिरहेको छ। त्यसैले भाउ बढेको हो,’ गिरीले भने।
मूल्य अकासिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा गुनासो आउन थालेको छ। उपभोक्ताको गुनासोपछि चौपाया बिक्री केन्द्रदेखि कोल्ड स्टोरसम्म अनुगमन गरेको विभागका प्रवक्ता अनिल किरातीले बताए।
उनका अनुसार कलंकी खसीबजार, टुकुचा लगायत विभिन्न ठाउँमा रहेको चौपाया बिक्री केन्द्रमा अनुगमन गर्दा किसानबाट नै भाउ बढेर आएको पाइएको छ।
‘अहिले किसानबाट नै खसीको भाउ बढेर आएको छ। त्यसैले तयारी मासुको मूल्य बढेको हो,’ उनले भने।
व्यवसायीका अनुसार कुखुराको मासुको भाउ भने प्रति केजी ३०० रुपैयाँमा झरेको छ। मूल्य घटे पनि उपभोक्ताले खपत घटाएका छन्। सदर चिडियाखानामा बर्ड फ्लु भेटिएपछि बजारमा कुखुराको मासुको खपत ३५ प्रतिशतभन्दा बढी घटेको छ।