काठमाडौं। नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावलीमा छैटौं संशोधन गरेको छ।
राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावलीमा बुधबार छैटौं संशोधन गरेको हो। संशोधनले निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्दा ब्याजदर बढीमा करिडोरको तल्लो सीमासम्म भएमा सो उपकरणको बाँडफाँट गर्ने अधिकार विभागीय प्रमुखलाई दिइएको छ।
संशोधित विनियमावली अनुसार खुला बजार कारोबारअन्तर्गत निक्षेप संकलन उपकरणमा बोलकबोल गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिई आह्वान गरिएको रकमसम्म क्रमबद्ध गर्दा ब्याजदर करिडोरको तल्लो सीमासम्म पर्ने बोलबोलको बाँडफाँट विभागीय प्रमुखले गर्नेछ।
विभागीयस्तरको निर्णयबाट सञ्चालन हुने नियमित खुला बजार कारोबारमा समितिको निर्णयबाट गरिएको कारोबारको बाँकी रकमबाहेक रिपोमा ४५ अर्ब रुपैयाँ र रिभर्स रिपो तथा निक्षेप संकलन उपकरणसमेत गरी जम्मा ४५ अर्ब रुपैयाँ बक्यौता ननाघ्ने गरी दैनिक अधिकतम १५ अर्ब रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ।
विभागस्तरबाट हुने बोलकबोलमा पूर्ण स्वीकृत, पूर्ण अस्वीकृत वा आंशिक स्वीकृत गर्ने अधिकार विभागीय प्रमुखलाई हुनेछ। विभागीय अख्तियारीअन्तर्गत सम्पन्न भएका खुला बजार कारोबारको जानकारी पनि त्यसपछिको समितिको बैठकमा गराउनुपर्नेछ।
यद्यपि, विभागस्तरबाट आह्वान गरिएको नियमित खुला बजार कारोबारअन्तर्गत निक्षेप संकलन उपकरणमा बोलकबोल ब्याजदर करिडोरको तल्लो सीमाभन्दा बढी भएमा भने त्यस्तो उपकरणको बाँडफाँट गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमै रहने व्यवस्था गरिएको छ।
त्यसैगरी, मौद्रिक नीतिले तोकेबमोजिम ब्याजदर करिडोरको माथिल्लो सीमामा स्थायी तरलता सुविधा, नीतिगत दरमा ओभरनाइट रिपो तथा तल्लो सीमामा स्थायी निक्षेप सुविधा उपलब्ध हुनेछ।
तोकिएको सुरक्षणपत्रको धितोमा ब्याजदर करिडोरको माथिल्लो सीमाको ब्याजदरमा तोकिएको अवधि र सीमासम्म काउण्टर पार्टीले स्थायी तरलता सुविधा उपयोग गर्न सक्नेछन्।
गलत स्वघोषणा तथा विवरण पेस गरी स्थायी निक्षेप सुविधा लिएको पाइएमा कडा कारबाही गर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। कुनै बैंक तथा वित्तीय संस्थाले गलत स्वघोषणा तथा विवरण पेस गरी स्थायी निक्षेप सुविधा लिएको पाइए त्यस्तो अवस्थामा भुक्तानी भएको ब्याज असुल गरिनेछ।
साथै, यसरी लिएको निक्षेप रकममा सुविधा लिएको अवधिभर तोकिएको बैंकदरको दोब्बर ब्याजदर कायम गरी हर्जाना लगाइनेछ।
त्यसैगरी, निक्षेप संकलन उपकरण, राष्ट्र बैंक ऋणपत्र तथा ब्याजदर करिडोरअन्तर्गतको स्थायी निक्षेप सुविधाका लागि तोकिएको योग्यताका अतिरिक्त बैंक तथा वित्तीय संस्थाहरुले बचत तथा मुद्दती निक्षेपमा प्रकाशित गरेको ब्याजदर करिडोरको तल्लो सीमाभन्दा कम भए बोलकबोलमा भाग लिन पाउने छैनन्।
बैंक तथा वित्तीय संस्थाहरुले बचत तथा मुद्दतीको ब्याजदर करिडोरभन्दा कम कायम गरे प्रकाशित ब्याजदर लागू भएको मितिदेखि एक महिनासम्म यस्तो उपकरणमा सहभागी हुन नपाउने संशोधित विनियमावलीमा उल्लेख छ।