BIZMANDU
www.bizmandu.com

कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य तोड्ने, प्रचण्डसँग गठबन्धन गर्ने प्रयासमा गगन

२०८३ असार ३१

कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य तोड्ने, प्रचण्डसँग गठबन्धन गर्ने प्रयासमा गगन
कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य तोड्ने, प्रचण्डसँग गठबन्धन गर्ने प्रयासमा गगन


काठमाडौं। नेपाली कांग्रेसले सातै प्रदेशको सरकारमा एमालेसँग सत्ता सहकार्य तोड्ने भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा कांग्रेस-एमालेको गठबन्धनको झगडा सतहमा आएसँगै कांग्रेसले सत्ता सहकार्य तोड्ने तयारी गरेको हो।

Tata
GBIME
Nepal Life

सुदूरपश्चिम र कर्णाली प्रदेशको कलह अरु प्रदेशमा पुग्ने देखिएकोले पहिले नै सत्ता सहकार्य तोड्ने तयारी भएको कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले बताए।

‘हामीले एमालेसँगको सहकार्यलाई निरन्तरता दिने प्रयास गरेकै हो। तर सफल हुन सकिएन। अब सातै प्रदेशमा नयाँ सरकार बन्ने परिस्थित देखिएको छ,’ चौधरीले भने।

सातै प्रदेशमा कांग्रेस एक्लैले सरकार बनाउने अवस्था नरहेकोले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग मिलेर सरकार बनाउन प्रयास गर्ने चौधरीले बताए। कांग्रेसले नेकपालाई मनाउन नसके एमाले र नेकपाको सरकार बन्ने सम्भावना हुन्छ।

कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीले बजेट विवादका कारण बुधबार राजीनामा दिएका छन्। सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले राजीनामा दिएका हुन्। यहाँ एमालेका यमलाल कँडेल मुख्यमन्त्री छन्।

यता बजेट विवादकै कारण सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले एमालेबाट सरकारमा सहभागी चार मन्त्रीलाई बर्खास्त गरेका छन्। कांग्रेसका शाहले भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला साउदलाई पदमुक्त गरेका हुन्।

शाहले बजेट विवाद मिलाउन कांग्रेसका शीर्ष नेता भेटेपछि एमाले नेताहरुसँग पनि छलफल गरेका थिए। तर सहमतिमा पुग्ने नदेखिएपछि एमालेका मन्त्रीहरुलाई हटाएको मुख्यमन्त्री शाहको भनाइ छ।

बागमतीमा पार्टी सहमहामन्त्रीसमेत रहेका बहादुरसिंह लामाले मुख्यमन्त्री इन्द्र बानियाँको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्।