काठमाडौं। बजारमा म्याद सकिएका खाद्यवस्तु छ्यापछ्याप्ती रहेको सरकारी अनुगमनबाट देखिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा क्रममा रेष्टुरेन्टदेखि कोल्डस्टोरसम्म म्याद गुज्रेका वस्तु पाइएको हो।
लैनचौरस्थित गाउँबेसी थकाली रेष्टुरेन्टमा उपभोग्य मिति समाप्त भएको वस्तु भेटिएको छ। भण्डारण कक्षमै पाँच थान रोज वाटर र एक थान केवरा वाटरको म्याद गुज्रेको पाइएकाले नष्ट गरेको विभागले जनाएको छ।
त्यस्तै, ठमेलस्थित भागवती कोल्ड स्टोरमा पनि मिति गुज्रेको ६ थान रोज वाटर र एक थान सिरप भेटिएको छ।
ललितपुरको इरानी चियामा लेबल नभएको खाद्य वस्तु र फ्रुट सिरप भेटिएको विभागले जनाएको छ। गुनासोका आधारमा गरिएको अनुगमनका क्रममा विभागले म्हैपीस्थित कृष्णा अर्पण सप्लिमेन्ट एण्ड ब्युटी स्टोरबाट सेरेलेकको नमुना संकलन गरेको छ।
विभागले कैफियत भेटिएका फर्महरुलाई कमजोरी सुधार गर्न निर्देशन दिएको छ।