BIZMANDU
www.bizmandu.com

प्रतिनिधि सभामा सरकारले ल्याएन नयाँ विधेयक, बिजनेस नभएपछि बैठक दुई साता स्थगित गरिंदै

२०८३ असार ३१

प्रतिनिधि सभामा सरकारले ल्याएन नयाँ विधेयक, बिजनेस नभएपछि बैठक दुई साता स्थगित गरिंदै
काठमाडौँ, २२ असारः प्रतिनिधिसभा बैठक सिंहदरबारस्थित सङ्घीय संसद भवनमा सोमबार बसेको प्रतिनिधिसभाको बैठक । तस्बिरः रत्न श्रेष्ठ/रासस


काठमाडौं। सरकारले नयाँ विधेयक नल्याएपछि प्रतिनिधि सभाको विधायकी काममा असर पर्ने भएको छ।

Tata
GBIME
Nepal Life

नीतिगत सुधारका लागि द्रुत गतिमा कानुन निर्माण गर्ने वाचा गरेको सरकारले नयाँ विधेयक नल्याएपछि प्रतिनिधि सभा बिजनेसबिहीन बन्न पुगेको हो। जसकारण प्रतिनिधि सभाको बैठक समेत दुई साताका लागि स्थगित हुने देखिएको छ। 

प्रतिनिधि सभामा रहेका राष्ट्रिय सेवा दल, नेपाल विशेष सेवा र नेपाल राष्ट्र बैंक विधेयक समितिमा छलफलका क्रममा छन्। अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबारको बैठकमा प्रस्तुत गर्नेछन्। बजेट सम्बन्धी विधेयक पारित भइ प्रमाणीकरण भइसकेका छन्।

यसबाहेक विधेयक सरकारले संसद्‍मा दर्ता गराएको छैन्। एक वर्षभित्र १६६ वटा कानुन बनाउने तयारीमा रहेको सरकारले विधेयक ल्याउन ढिलाइ गरेको छ। कार्यव्यवस्था परामर्श समितिको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सत्ता र प्रतिपक्षी दलहरुसँग संसद्को बिजनेसबारे छलफल गरेका थिए।

उनले दलहरुलाई बिजनेस नरहेको भन्दै केही समयका लागि संसद्‍ बैठक रोक्नुपर्ने बाध्यता आएको बताएका छन्। ‘अब हामी दुई हप्तापछि मात्रै बैठक बस्न सक्छौं भनेर सभामुखले भन्नुभएको छ,’ समितिको बैठकमा सहभागी एक सदस्यले भने। उनका अनुसार अब अर्को बैठक साउन १४ गते राख्ने तयारी छ।

कार्यव्यवस्था समितिको बैठकमा विपक्षी दलका सांसदहरुले कानुनमन्त्री सोविता गौतममाथि बिजनेस दिन नसकेको आरोप लगाएका थिए। सोविताले भने प्राथमिकीकरण गरेर विधेयकहरु चाँडै संसद‍्‍मा दर्ता गर्ने तयारी रहेको जवाफ दिएकी थिइन्।