काठमाडौं। राष्ट्र बैंकले पुँजीकोषको समस्याले व्यवसाय विस्तार गर्न नसकेका बैंक तथा वित्तीय संस्थालाई हकप्रद सेयर (राइट सेयर) जारी गर्न दिने भएको छ।
पुँजीकोषका कारण व्यवसाय विस्तार गर्न नसकेर संचालनमा अप्ठेरो परेका बैंक तथा वित्तीय संस्थाहरुलाई हकप्रद सेयर जारी गर्न दिने भएको हो।
चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट बैंक तथा वित्तीय संस्थाहरुको पुँजी वृद्धिमा सहजीकरणका लागि हकप्रद जारी गर्न दिइरहेको राष्ट्र बैंकले यसलाई आगामी समयमा पनि निरन्तरता दिने प्रष्ट पारेको छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले पुँजीकोष दवाबले संचालन अप्ठेरोमा परेको संस्थाहरुलाई हकप्रद सेयर जारी गर्न दिने व्यवस्थालाई आगामी समयमा पनि निरन्तरता दिइने जानकारी दिए।
‘पुँजीकोष दबाबकै कारणले बैंकको संचालनमा गाह्रो भयो भने त्यस्तो खालको संस्थाहरुमा हामीले हकप्रद जारी गर्न दिइरहेका छौं,’ पौडेलले बिजमाण्डूसँग भने,’चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पनि निरन्तरता दिएका छौं।’
यो वर्ष राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई सेयर जारी गर्न स्वीकृति दिइसकेको छ। बैंकलाई २:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकको प्राथमिक पुँजीकोष ६.४८ प्रतिशत छ।
यसबाहेक झन्डै एक दर्जन बैंक तथा वित्तीय संस्थाहरु पुँजीकोषको दवाबमा छन्। नयाँ लगानीको माग कमजोर रहेको बेलामा पुरानो असुली प्रभावित हुँदा पुँजीकोषको समस्या थप जटिल बनिरहेको छ।
हाल ४ वटा संस्थाले नियामकीय व्यवस्था अनुसार पुँजीकोषको सीमा कायम गर्न सकेका छैनन्। नियामकीय प्रावधान अनुसार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुले प्राथमिक पुँजीकोष साढे ८ प्रतिशत कायम गर्नुपर्छ। राष्ट्रियस्तर बाहेकका विकास बैंक र फाइनान्स कम्पनीले ४ प्रतिशत प्राथमिक पुँजीकोष कायम गर्नुपर्छ।
बैंकिङ प्राणालीमा अधिक तरलताका बावजुद पुँजीकोष दवाबले चाहेर पनि लगानी विस्तार गर्न सक्दैनन्। बढ्दो खराब कर्जाले प्रोभिजिनङ थपिदा नाफा प्रभावित हुनुका साथै पुँजीकोष संकुचित हुन थालेको छ।
कर्जा निक्षेप अनुपात (सीडी रेसियो) अनुसार बैंकिङ प्रणालीमा १४ खर्ब ४४ अर्ब अधिक तरलता थुप्रिएको छ। तैपनि, पुँजी कोष सहजताको आधारमा बैंकहरुले बास्तविक लगानी विस्तारको लागि साढे ४ खर्ब मात्रै स्पेस छ।
सरकारले आगामी वर्षको लागि लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न राष्ट्र बैंकले साढे ६ खर्बले कर्जा विस्तारको प्रक्षेपण गरेको छ।
अधिक तरलता बावजुद पुँजीकोष समस्याले कर्जा विस्तारको लक्ष्य पुरा नहुने अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले पुँजीकोष अप्ठेरोमा परेका संस्थाहरुलाई हकप्रद सेयर जारी गर्न दिन लागेको छ। कर्जाको औषत ब्याजदर साढे ६ प्रतिशत नजिक झरेको बेलामा पुँजीकोष समस्या सम्बोधनले कर्जा लगानीमा समस्या हुने छैन्।
साथै, राष्ट्र बैंकले बैंकहरुको खर्च कटौतीमा लचिलो नीति लिएर लगानी स्पेश बनाउने भनेको छ।
राष्ट्र बैंकले बैंकहरुको अधिक शाखाका कारण लागत बढिरहेको अवस्थामा महानगरपालिकापछि अब उपमहानगरभित्र नजिकैको दूरीमा रहेका शाखा घटाउने दिइ लागत घटाउन दिने भनेको छ। यसले बैंकहरुको खर्च कम हुने र त्यसबापतको पैसाले लगानी बढाउन प्रोत्साहन मिल्नेछ।
खर्च कटौती लचिलो नीतिले बैंकहरुको नाफामा मात्रै नभएर लगानी क्षमता बढाउनुका साथै पुँजीमा अतिरिक्त व्यवस्था गर्न सहयोग पुग्छ।
कर्जाको माग सुस्त हुँदा पुँजीकोष समस्या नदेखिएपनि माग बढ्नासाथ दवाबमा रहेका बैंकहरुसँग तरलता हुँदा पनि थप लगानी बढाउन नसक्ने बैंकरहरु बताउँछन्।
‘औसत खराब कर्जा साढे ५ प्रतिशत छ। असुली प्रभावित हुँदै आएको यसले पनि प्रष्ट गर्छ,’ एक सीइओले भने,’खराब कर्जा बढ्दा प्रोभिजनिङ बढ्दा त्यसले नाफासँगै लगानी क्षमता संकुचित पारेको छ।’
पुँजीकोष सहजीकरण नगरी आगामी वर्षका लागि राष्ट्र बैंकले लिएको ११ प्रतिशत ऋण वृद्धि सम्भव नहुने भएकाले चालु आवको मौद्रिक नीतिले पुँजी वृद्धि सहजीकरणको व्यवस्थालाई निरन्तरता दिँदै खर्च कटौतीलाई प्राथमिकतामा राखेको हो।