काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले १० वर्षे मार्गचित्र ल्याउँदै सेयर कारोबार दैनिक ३० अर्ब पुर्याउने लक्ष्य राखेको छ।
सेबोनका नवनियुक्त अध्यक्ष डा. गोपाल भट्टले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग सल्लाह गरेर तयार पारेको यो मार्गचित्रमा बजार पुँजीकरणका हिसाबले अर्थतन्त्रको आकारको १५० प्रतिशतको सेयर बजार बनाउने योजनामा ५०० कम्पनी सूचीकृत गर्ने लक्ष्य राखिएको छ।
बजारमा अहिले औसतमा दैनिक ८ अर्ब रुपैयाँको सेयर किनबेच हुने गरेको छ। बजारमा २७७ वटा कम्पनी सूचीकृत छन्।
अर्थतन्त्रको आकार अहिले ६६ खर्ब रुपैयाँ छ। जीडीपीको तुलनामा बजार पुँजीकरणका हिसाबले अहिले ७५ प्रतिशतमा छ। यसलाई दोब्बर बनाउन लगानीकर्ताको सहभागितासँगै नियामकीय क्षमता र अर्थतन्त्रका अरु क्षेत्रले व्यापक रुपान्त्रण गर्नुपर्ने हुन्छ।
सेबोनले पहिलो चरणमै धितोपत्र सम्बन्धी ऐनलाई पुनर्लेखन गरी नेपाल धितोपत्र बोर्ड सम्बन्धी ऐन, धितोपत्र बजार व्यवस्थापन र कसूर तथा सजाय सम्बन्धी ऐन र वित्तीय क्षेत्र सम्बन्धी ट्रष्टी ऐनको तर्जुमा गर्ने योजना बनाएको छ।
नयाँ वित्तीय उपकरणलाई कानुनी मान्यता दिने बताएको छ। डिजिटल धितोपत्र तथा टोकनाइज्ड एसेट सम्बन्धी कानुनी व्यवस्था गर्ने,वैकल्पिक इन्भेष्टमेन्ट फण्ड सम्बन्धी कानुन बनाउने, सेक्युरिटी ल्याण्डिङ, बरोइङ, इन्ट्रा डे तथा सर्टसेलिङ सम्बन्धी व्यवस्था गर्ने बजार विकास मार्गचित्रमा उल्लेख छ।
सेबोनले आफ्नो दश वर्षे पुँजी बजार विकास मार्गचित्रलाई तीन चरणमा कार्यान्वयनमा लैजाने योजना बनाएको छ।
पहिलो चरण १ देखि २ वर्षमा आफ्नो ऐन संशोधन, संस्थागत सुदृढीकरण, कर्पोरेट सुशासन,बजार नियमन, नयाँ उपकरणको विविधिकरण,एसएमई एक्सचेन्ज ल्याउने योजना बनाएको छ।
दोस्रो चरणमा ३ देखि ५ वर्षभित्र कर्पोरेट बण्ड मार्केटको सञ्चालन, एक्सचेन्ज ट्रेड फण्ड(इटिएफ) तथा रियलस्टेट इन्भेष्टमेन्ट ट्रस्ट(आरइआइटी)को सुरुवात गरिने मार्गचित्रमा उल्लेख छ।
वैकल्पिक लगानी फण्ड फ्रेमवर्क, विदेशी संस्थागत लगानीकर्ता फ्रेमवर्क, पुँजी बजार रिसर्च सेन्टरको स्थापना, आइबर सेक्युरिटी सेन्टर र डिजिटल मार्केट प्लेर्टफर्मको कार्यान्वयन गर्ने बताएको छ।
सेबोनले तेस्रो चरण ६ देखि १० वर्षमा डेरिभेटिभ मार्केट, कमोडिटी एक्सचेन्ज, रिजनल क्यापिटल मार्केट कनेक्टिभिटी, बल्कचेन सेटलमेन्ट, इन्टरनेसनल क्यापिटल मार्केट इन्टिग्रेसेन र टोकनाइज सेक्युरिटी ल्याएर नेपाललाई दक्षिण एशियाको प्रतिस्पर्धी पुँजी बजारका रूपमा विकास गर्ने योजना अघि सारिएको छ।