काठमाडौं। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवको सरुवा गरेको छ।
अख्तियारमा कार्यरत १८ जना प्रहरीहरूको सरुवा गरेसँगै सचिवको पनि सरुवा गरेको हो। सचिव नारायणप्रसाद शर्मा दुवाडीको सरुवा गरिएको स्रोतले जानकारी दिएको छ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट उनको सरुवा गरेको हो।
अख्तियारको नयाँ सचिवमा प्रधानमन्त्री कार्यालयका सचिव डिल्लीराम शर्मालाई लगिएको छ। सचिव शर्मा गत जेठको तेस्रो सातामात्र स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा तानिएका थिए।
सचिव दुवाडीको बुधबार बिदाइ र बिहीबार नयाँ सचिवको स्वागत गर्ने कार्यक्रम छ। दुवाडी १७ महिनादेखि अख्तियारमा कार्यरत थिए।