BIZMANDU
www.bizmandu.com

सेयर बजारमा १० कित्ते नीतिले विकृति ल्यायो, पुनरवलोकन गर्न आवश्यक छ : अर्थ मन्त्रालय

२०८३ असार ३१

सेयर बजारमा १० कित्ते नीतिले विकृति ल्यायो, पुनरवलोकन गर्न आवश्यक छ : अर्थ मन्त्रालय
सेयर बजारमा १० कित्ते नीतिले विकृति ल्यायो, पुनरवलोकन गर्न आवश्यक छ : अर्थ मन्त्रालय


काठमाडौं। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले सेयर बजारमा लागू गरिएको ‘१० कित्ते नीति’ले बजारमा विकृति ल्याएको भन्दै यसको पुनरवलोकन गर्नुपर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

प्रतिनिधि सभाको अर्थ समितिको बुधबारको बैठकमा मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख आचार्यले धितोपत्र बजारको अहिलेको प्रमुख समस्या वित्तीय साक्षरताको अभाव भएको बताए।

‘१० कित्ते नीतिले सबैभन्दा ठूलो जोखिम ल्यायो। यो नीति पुनरवलोकन गर्नुपर्छ जस्तो लाग्छ,’ उनले भने।

१० कित्तामा आवेदन दिने व्यवस्था लागू भएपछि लगानीभन्दा ‘चिठ्ठा पर्ने मानसिकता’ विकास भएको उनको भनाइ छ। ‘१० कित्तामा लगानी चिठ्ठा परेको जस्तो भयो। त्यस्ता लगानीकर्तालाई म्युचुअल फन्डमा लगानी गर्न प्रेरित गर्नुपर्थ्यो,’ उनले भने।

आचार्यका अनुसार आइपीओमा आवेदन दिने अधिकांश लगानीकर्ताले कम्पनीको विवरणपत्र नै पढ्दैनन्। लाभांश र कम्पनीको आधारभूत अवस्थाभन्दा सेयर मूल्य बढ्ने अपेक्षामा लगानी गर्ने प्रवृत्ति हावी भएको उनले बताए।

‘बजारमा कम्पनीको लाभांशका आधारमा लगानी गर्नेभन्दा मूल्य बढ्नेतिर ध्यान गयो। मूल्य घट्न थालेपछि आन्दोलन गर्ने प्रवृत्ति देखिएको छ।’

मुलुक अहिले सम्पत्ति शुद्धीकरणसम्बन्धी निगरानी सूची (ग्रे-लिस्ट)मा रहेको स्मरण गराउँदै उनले वित्तीय अपराध नियन्त्रणमा सरकारले प्रगति गरिरहेको बताए।

उनका अनुसार फाइनान्सिएल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई दिएको १५ बुँदे कार्ययोजनामध्ये ४ वटा पूरा भइसकेका छ। बाँकी कार्यान्वयन भइरहेको छ।