BIZMANDU
www.bizmandu.com

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकलाई दरखास्त माग, १० महिनामै छाडेका थिए काफ्लेले

२०८३ असार ३१

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकलाई दरखास्त माग, १० महिनामै छाडेका थिए काफ्लेले
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकलाई दरखास्त माग, १० महिनामै छाडेका थिए काफ्लेले


काठमाडौं। स्वास्थ्य बीमा बोर्डको नेतृत्व सरकारले खुला प्रतिष्पर्धाबाट गर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बुधबार सूचना जारी गर्दै दरखास्त खुलाएको हो। कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाहरुलाई भुक्तानी बेलामा गर्न नसक्दा सरकार यतिबेला स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको तरिका पुनरावलोकन गर्नुपर्ने अवस्थामा छ।

Tata
GBIME
Nepal Life

चार वर्षका लागि नियुक्त डा. रघुराज काफ्लेले १० महिनामै पदबाट राजीनामा दिएपछि हाल स्वास्थ्य मन्त्रालयले नर्सिङ अधिकृत शकुन्तला प्रजापतिलाई निमित्तको जिम्मेवारी दिएको छ। काफ्लेले गत माघमा राजीनामा दिँदा सरकारबाटै बीमा बोर्डको कार्यक्रमलाई असहयोग भएपछि काम गर्न गाह्रो भएको विषय बाहिरिएको थियो।

मन्त्रालयले अब बोर्डको नेतृत्वमा खुला प्रतिष्पर्धाबाट पदपूर्ति गर्ने भएको हो। स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम बोर्डको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाद्वारा छनोट गरी ऐनको दफा २२ को उपदफा (३) बमोजिम नेपाल सरकारले नियुक्ति गर्ने कानुनी व्यवस्था छ। यसका लागि लोक सेवा आयोगको कार्यवाहक अध्यक्षको संयोजकत्वमा गठित सिफारिस समितिले ‘स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरी दरखास्त प्रक्रिया अघि बढाइएको हो।

आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानुन, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्छ। अनुभवका हकमा सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्यअनुभव प्राप्त गरेको हुनुपर्ने मन्त्रालयको सूचनामा छ।

दरखास्तका साथ बोर्डको अवधारणा पत्र, विद्यमान समस्या, चुनौती र अवसरका साथै आगामी ४ वर्षका लागि तयार पारिएको ५ हजार शब्दको व्यावसायिक तथा आर्थिक कार्ययोजनाको ३/३ प्रति बुझाउनु पर्छ। आवेदन बुझाउन १० दिनको समयावधि छ।