काठमाडौं। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीको बुधबार बिहान ७:१० बजेसम्मको विवरणअनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी यातायात संचालन भइरहेको छ।
कोशी प्रदेशमा तीनवटा मुख्य सडक प्रभावित भएका छन्। भोजपुर नगरपालिका-५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी यातायात संचालन भइरहेको छ भने वैकल्पिक मार्गसमेत प्रयोगमा ल्याइएको छ।
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ राजदुवालीमा अविरल वर्षाका कारण पूर्ण रूपमा सडक अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।
उदयपुरको कटारी नगरपालिका-११ हर्देनीस्थित सिद्धिचरण लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको छ। सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ।
बागमती प्रदेशमा सबैभन्दा धेरै सडक प्रभावित भएका छन्। काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक क्षेत्रमा सम्भावित बाढीको जोखिमका कारण बीपी राजमार्गमा सवारी संचालन रोकिएको छ।
मकवानपुरको हेटौंडा-ठिंगन-बागमती-ललितपुर जोड्ने कान्तिलोकपथमा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण सवारी संचालन रोकिएको छ। भिमफेदी गाउँपालिका-८ भर्याङडाँडा क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा बन्द छ। सडक खुलाउन सम्बन्धित निकायले काम गरिरहेको छ।
गण्डकी प्रदेशमा कास्कीको अन्नपूर्ण गाउँपालिका-८ सार्दीखोलास्थित नयाँपुल-घान्द्रुक सडक खण्डमा अविरल वर्षाको असर परेको छ। उक्त सडकमा अहिले एकतर्फी मात्र यातायात संचालन भइरहेको छ।
बागलुङको काठेखोला गाउँपालिका-६ इजारापानीस्थित मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण प्रभावित भएको छ। यस सडकमा समेत एकतर्फी रूपमा सवारी संचालन भइरहेको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेशमा अर्घाखाँचीको पाणिनी गाउँपालिका-२ ढुंग्रेखोलास्थित सालझण्डी-ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका-२ राक्से तथा कालीगण्डकी-४ पुर्तिघाट क्षेत्रमा भने कालीगण्डकी करिडोर एकतर्फी रूपमा संचालन भइरहेको छ।
कर्णाली प्रदेशमा जाजरकोटको नलगाड नगरपालिकाको मालुवा क्षेत्रमा पहिरो खसेपछि जाजरकोट-डोल्पा सडक खण्ड प्रभावित बनेको छ। अहिले उक्त सडकमा एकतर्फी रूपमा मात्र सवारी संचालन भइरहेको छ।
प्रहरीले वर्षायाममा लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। पहिरो र बाढीको जोखिम अझै कायम रहेकाले आवश्यक सतर्कता अपनाउन र सुरक्षा निकायको निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ।