BIZMANDU
www.bizmandu.com

यामलको चुनौतीका लागि एम्बाप्पेको फ्रान्स तयार, कसको पल्ला भारी?   

२०८३ असार ३०

यामलको चुनौतीका लागि एम्बाप्पेको फ्रान्स तयार, कसको पल्ला भारी?   
यामलको चुनौतीका लागि एम्बाप्पेको फ्रान्स तयार, कसको पल्ला भारी?   


काठमाडौं। फिफा विश्वकपको फाइनल कसले खेल्ला? आज राति हुने खेलले एउटा जवाफ त पक्कै दिनेछ। विश्वकप सुरु हुनुअघिबाटै च्याम्पियन बन्लान् भनेर आकलन गरिएका दुई टोलीमध्ये एक टोलीले फाइनलमा स्थान पक्का गर्दा आज अर्को टोली बाहिरिनेछन्।

Tata
GBIME
Nepal Life

फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा आज दुई युरोपेली महाशक्ति फ्रान्स र स्पेन आमनेसामने हुँदैछन्। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका दुवै टोली उपाधि भीडन्तमा स्थान बनाउन डलासस्थित एटी एन्ड टी स्टेडियममा प्रतिस्पर्धा गर्न लागेका हुन्।

फ्रान्स यस विश्वकपमा प्रभावशाली टोलीमध्ये एक बनेको छ। डिडिए डेसच्याम्प्सको टोलीले प्रतियोगितामा लगातार छ खेल जितेको छ भने क्वाटरफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै अन्तिम चारमा पुगेको थियो। टोलीका कप्तान तथा स्टार फरवार्ड किलियन एमबाप्पे उत्कृष्ट लयमा छन् र गोल्डेन बुटको दौडमा पनि अगाडि छन्।

यता स्पेनले पनि प्रभावशाली यात्रा तय गरेको छ। समूह चरणमा केही संघर्ष गरे पनि नकआउट चरणमा अस्ट्रिया, पोर्चुगल र बेल्जियमलाई हराउँदै सेमिफाइनल पुगेको स्पेनले प्रतियोगिताभर केवल एक गोल मात्र बेहोरेको छ। युवा स्टार लामिन यामाल, मिकेल मेरिनो र निको विलियम्सले आक्रमणमा प्रभाव जमाइरहेका छन् भने कप्तान रोड्रीले मिडफिल्डमा टोलीको खेल नियन्त्रण गरिरहेका छन्।

यस खेलको प्रमुख प्रतिस्पर्धा फ्रान्सको तीव्र काउन्टर अट्याक र स्पेनको बल पोसेसन शैलीबिच हुने अपेक्षा गरिएको छ।

फ्रान्सका प्रशिक्षक डेसच्याम्प्सले स्पेनको बल नियन्त्रण गर्ने शैलीलाई चुनौती दिन आफ्ना खेलाडीले मिडफिल्डमै आक्रामक दबाब सिर्जना गर्नुपर्ने बताएका छन्। उनका अनुसार स्पेनलाई लामो समय बल राख्न दिए फ्रान्सलाई समस्या हुन सक्छ, त्यसैले बल कब्जाका लागि नै संघर्ष गर्ने रणनीति अपनाइनेछ।

फ्रान्स र स्पेन पछिल्ला वर्षहरूमा लगातार ठूला प्रतियोगितामा आमनेसामने हुँदै आएका छन्। स्पेनले युरो २०२४ र नेसन्स लिग २०२५ मा फ्रान्सलाई हराएको थियो। तर डेसच्याम्प्सले ती नतिजाले अहिलेको खेलमा कुनै विशेष अर्थ नराख्ने बताएका छन्। दुवै टोलीको संरचना र खेलाडीको अवस्था अहिले फरक रहेको उनको तर्क छ।

आजको विजेताले जुलाई १९ मा हुने विश्वकप फाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

यमल कि एम्बाप्पे?

यो खेल केवल फाइनल प्रवेशको लडाइँ मात्र नभएर १९ वर्षे लामिन यामाल र फ्रान्सका कप्तान किलियन एम्बाप्पेबीचको स्तर मापनको बहस पनि हुनेछ।

सन् २०१८ को विश्व विजेता फ्रान्स लगातार तेस्रो विश्वकप फाइनल पुग्ने लक्ष्यमा छ। उता, सन् २०१० को विश्व विजेता स्पेनले युरोपियन च्याम्पियनसँगै विश्वकप जित्दै एकै समयमा दुवै उपाधि हात पार्ने इतिहास रच्ने अभियानमा छ।

रोक्नै नसकिने एम्बाप्पे

विश्व फुटबलमा अहिले सबैभन्दा प्रभावशाली खेलाडीका रूपमा एम्बाप्पेलाई हेरिन्छ। उनले गत सिजन रियल मड्रिडका लागि ४४ खेलमा ४२ गोल गर्दै ला लिगा र च्याम्पियन्स लिग दुवैका सर्वाधिक गोलकर्ता बनेका थिए।

विश्वकपमा पनि उनको प्रदर्शन उस्तै प्रभावशाली छ। उनले ६ खेलमा ८ गोल गर्दै लियोनेल मेस्सीसँग संयुक्त रूपमा गोल्डेन बुट दौडको शीर्ष स्थानमा छन्। ११ गोलमा प्रत्यक्ष योगदान दिएका एम्बाप्पे प्रतियोगिताका सबैभन्दा प्रभावशाली खेलाडी बनेका छन्।

उनको विश्वकप गोल संख्या १९ पुगेको छ। मेस्सी बाहेक विश्वकप इतिहासमा यति धेरै गोल गर्ने अर्को खेलाडी छैन। उनले मिरोस्लाभ क्लोजेको १६ गोलको पुरानो कीर्तिमान पनि पार गरिसकेका छन्।

यसै वर्ष एम्बाप्पेले ओलिभियर जिरुडलाई पछि पार्दै फ्रान्सका सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान पनि बनाए। अहिले उनको नाममा १०४ खेलबाट ६४ गोल छ।

‘उनी कहाँ पुग्न चाहन्छन् भन्ने कुरा स्पष्ट छ। सानै उमेरदेखि उनी नेतृत्व गर्न सक्ने खेलाडी थिए,’ जिरुडले भनेका छन्।

फ्रान्सेली फुटबल विश्लेषक जुलियन लोरेन्सको करिअर समाप्त हुँदासम्म एम्बाप्पे जिनेदिन जिदान र मिशेल प्लाटिनीलाई पनि उछिन्दै फ्रान्सकै महान् खेलाडी बन्नेमा विश्वस्त छन्।

यामाल : निर्णायक क्षणको प्रतीक्षा

यता स्पेनका १९ वर्षीय लामिन यामालले युरो २०२४ मा गरेको प्रभावशाली प्रदर्शन दोहोर्‍याउने अपेक्षा गरिएको थियो। तर अप्रिलमा लागेको ह्यामस्ट्रिङ चोटका कारण उनको विश्वकप तयारी प्रभावित भयो।

अहिलेसम्म पाँच खेलमा उनले केवल एक गोल गरेका छन्। यद्यपि प्रशिक्षक लुइस डे ला फुएन्ते भने उनलाई लिएर चिन्तित छैनन्।

‘उनी शान्त रहून् भन्ने मेरो चाहना हो। ठूलो दिन अझै आउन बाँकी छ। यो विश्वकपमा निर्णायक खेलमा निर्णायक बन्ने समय यही हो,’ डे ला फुएन्तेले भने।

स्पेनका अर्को प्रमुख फरवार्ड निको विलियम्स पनि पूर्ण फिट नरहेकाले स्पेनले यस पटक विङमार्फत आक्रमण गर्ने शैलीभन्दा बल नियन्त्रणमा आधारित खेल अपनाएको छ। त्यसले यामाललाई खुला स्थान कम उपलब्ध गराएको विश्लेषण गरिएको छ।

यद्यपि बेल्जियमविरुद्धको क्वार्टरफाइनलमा उनले आफ्नो प्रभाव देखाएका थिए।

बार्सिलोनाबाट यामाललाई पहिलो टोलीमा डेब्यु गराएका जाभीले पनि उनको भविष्यलाई असाधारण मानेका छन्।

‘हामी कहिलेकाहीँ उनको उमेर बिर्सन्छौं। कठिन अवस्थामा टोलीले बल यामाललाई नै दिन्छ। उनी १९ वर्षमै खेलको दिशा बदल्न सक्ने नेता हुन्। आगामी १५-२० वर्ष फुटबल यामालकै हुन सक्छ,’ जाभीले लेखेका छन्।

तथ्याङ्कमा एम्बाप्पे अगाडि

यस विश्वकपमा गोल गर्ने मामिलामा एम्बाप्पे यामलभन्दा निकै अगाडि छन्।

एम्बाप्पे : ३० प्रहारबाट ८ गोल र ३ असिस्ट।

यामाल : २३ प्रहारबाट १ गोल तर कुनै असिस्ट छैन।

अर्कोतर्फ ड्रिब्लिङ र रक्षात्मक योगदानमा भने यामाल प्रभावशाली देखिएका छन्। उनले एम्बाप्पेको तुलनामा दोब्बर सफल ड्रिब्लिङ गरेका छन् भने ट्याकल र माथिल्लो क्षेत्रमा बल खोस्ने काममा पनि फ्रान्सेली कप्तानभन्दा धेरै सक्रिय रहेका छन्।

डलासमा हुने यो सेमिफाइनल उनीहरूको प्रतिस्पर्धाकै सबैभन्दा ठूलो अध्याय बन्नेछ। किनभने विजेताले जुलाई १९ मा न्यूजर्सीमा हुने विश्वकप फाइनल खेल्ने मात्र होइन, उपाधिको सबैभन्दा बलियो दाबेदारका रूपमा पनि मैदान उत्रनेछ।